सामा-चकेवा : दाजुभाइ र दिदीबहिनीबीचको प्रेम र भातृत्वको उत्सव

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 10 mins

धनुषा । सामा-चकेवा मैथिली संस्कृतिको महत्वपूर्ण पर्वका रुपमा रहेको छ । यसलाई दाजुभाइ र दिदीबहिनीबीचको गाढा प्रेम, समर्पण र एकताको प्रतीक मानिन्छ । यो पर्व मिथिलाञ्चल क्षेत्रका महिलाले छठपछिको पाँचौंँ दिन अर्थात् खडना (पञ्चमी) को रातदेखि कात्तिक पूर्णिमाको रातसम्म मनाउँछन् । यो पर्वको धार्मिक महत्वसहित यसमा मिथिला संस्कृति, परम्परा र समाजको भावना झल्किन्छ ।

मिथिलाञ्चल क्षेत्रसहित जनकपुरमा बोलीचालीमा ‘सामा’ को अर्थ रमाइलो भन्ने हुन्छ । दश दिनसम्म मिथिलाञ्चलका दिदीबहिनीले आफ्ना दाजुभाइको सौर्य वृद्धि र दीर्घायुको कामना गर्दै सामा खेल्छन् । दाजुभाइ र दिदीबहिनीबीचको प्रेम दर्शाउने यो पर्व करिब पाँच हजार वर्ष पहिले द्वापरयुगदेखि सुरु भएको मिथिला संस्कृतिका जानकार डा राजेन्द्र विमलले बताउनुभयो ।

सामा-चकेवाको कथा

“सामा-चकेवा पर्वसँग जोडिएको पुरानो कथा महाभारत युगको हो । भगवान् श्रीकृष्णकी छोरी सामा अति रूपवती र धर्मपरायण थिइन् । उहाँको भाइ चकेवाले सामासँग अत्यन्त माया गर्थे । सामा आफ्नो परिवारसँग सुखद जीवन बिताइरहेकी थिइन् । चुगला नामको एक षड्यन्त्रकारीले सामाविरुद्ध श्रीकृष्णलाई गलत आरोप लगाई कृष्णको ध्यान आफूतिर तान्न खोज्यो । सामामाथि गलत आचरणको आरोपपछि सामालाई चरा हुने कठोर श्राप दिइयो । यो घटनाले चकेवालाई दुःखी बनायाे र उनले बहिनी सामालाई मुक्त गराउन समर्पण, प्रार्थना र अथक प्रयासले श्रीकृष्णको मन पगाल्यो र सामालाई श्रापमुक्त गरी पुनः मानव स्वरुप दिए । यसरी सामा श्रापमुक्त हुनुको कारण भाइको प्रेम थियो”, मधेस प्रदेशका नीति आयोगका पूर्वउपाध्यक्ष एवं संस्कृत विद् भोगेन्द्र झाले भन्नुभयो ।

सामा-चकेवा पर्वको विधि र परम्परा

यो पर्वमा मिथिलाका युवतीले सामा-चकेवा बनाउने परम्परा छ । माटोको सामा, चकेवा, वृन्दावन, चुगलालगायतका मूर्ति बनाई ती मूर्तिलाई सिङ्गारेर, वस्त्रआभूषणले सजाइन्छ र प्रत्येक दिन गीतको माध्यमबाट पूजा गरिन्छ ।

यस पर्वको सुरुमा युवती माटोको मूर्तिलाई दिनदिनै नयाँ कपडा र गहनाले सजाउँछन् । साँझमा सामा–चकेवासम्बन्धी गीत गाउँदै बाहिर तोकिएको ठाउँमा गोलाकार बसेर सामा खेल खेल्ने परम्परा रहेका संस्कृत विद् झाले बताउनुभयो । उहाँका अनुसार चकेवाको सजीवतालाई भाइको प्रेमका रुपमा लिइन्छ । सामा खेलमा चुगला पात्रलाई आलोचना गरिन्छ र अन्त्यमा यसको विसर्जन गरिन्छ । यसले दुष्टको अन्त्य र भाइबहिनीबीचको प्रेम विजय भएको प्रतीक मानिने उहाँले उल्लेख गर्नुभयो ।

कार्तिक पूर्णिमाका दिन सामा-चकेवाको विसर्जन गरिने भएकाले यस दिनलाई सामा-चकेवा पर्वको अन्तिम दिन मानिन्छ । यो दिन सम्पूर्ण गाउँका युवती नयाँ वस्त्र लगाई सजिएर सामा र चकेवाको विसर्जनमा जान्छन् । यस अवसरमा सामा र चकेवाको कथा र गीत गाएर भाइबहिनीको प्रेमलाई गाढा बनाउने जनविश्वास रहेको संस्कृत विद् झाले बताउनुभयो ।

पर्वको सामाजिक महत्व

ADVERTISEMENT

सामा-चकेवा पर्व मिथिला संस्कृतिमा महत्वपूर्ण पर्वका रुपमा मनाउने गरिन्छ । यसले दाजुभाइ र दिदीबहिनीबीचको अटुट सम्बन्धलाई उजागर गर्नुका साथै समाजमा भाइको भूमिका र मायालाई दर्शाउन गर्दछ । युवतीहरुले समूहमा जम्मा भएर सामूहिक गान-भजन गर्ने भएकाले यस पर्वले सामूहिक एकता र मेलमिलापको पनि सन्देश दिने जानकारहरु बताउँछन् ।

मधेस प्रदेशका नीति आयोगका पूर्वउपाध्यक्षसमेत रहनुभएका संस्कृत विद् झाले भन्नुभयो, “सामा-चकेवा पर्वले समाजमा भाइबहिनीबीचको गाढा प्रेमको कथा सुनाउने मात्र नभई यसले समाजमा नैतिकता, धर्म, र आदर्शको शिक्षा दिन्छ । कार्तिक मासे यौ भैया सामा लेलक अवतार, सयौँ बरख जियाैँ यौ भैया सामा लेलक अवतार’ (हे दाजुभाइ हो, कात्तिक महिनामा सामा (खेलकी प्रमुख स्त्री पात्र) ले फेरि अवतार लिएको छ । तिमी सयौँ वर्ष बाँच्छाैँ, सामा (बहिनीको भाव) ले फेरि अवतार लिइसकेकी छ ।”

दाजुभाइको दीर्घायूको कामना मात्र नभएर मिथिलानी सामा गीतमा आफ्ना दाजुभाइ बहादुर, परोपकारी र दिदीबहिनीप्रति अपार स्नेह भएका भाव पनि गीतबाट व्यक्त गरिने झाले बताउनुभयो ।

यस्ता गीत सुनिरहँदा आफ्ना दिदीबहिनी हुने खुसीले दङ्ग हुन्छन् भने दिदीबहिनी नहुनेलाई मेरा चाँही किन दिदीबहिनी भएनन् भन्ने भाव पैदा हुने धनुषाको लक्ष्मीनिया गाउँपालिका-३ का सुधा देवीले बताउनुभयो । ‘चलु बहिना सामा खेल भैयाके आँगन हे..जुग जुग जियथिन भैया अपन हे...!’ (हिँड दिदीबहिनी हो (सामा खेल्न तयार भएकी एक महिलाले अर्की महिलालाई भन्दैछिन्) सामा खेल्न दाजुको आँगनमा जाऊँ, हाम्रो कामनाले दाजुभाइ युगयुगसम्म बाँच्नेछन् ।) मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग रहेको सामा पर्वले ‘छोरी’ नचाहिने भन्नेलाई पनि ‘छोरी’को रहर जगाउने गरेको उहाँको भनाइ छ ।

“चोकचोकमा अरुका दिदीबहिनीले सामाका गीत गाएर आफ्ना दाजुभाइको सौर्य बखान गरेको सुन्दछु”, दिदीबहिनी नभएका जनकपुरधाम उपमहानगरपालिका-९ का गुलाब यादवले भन्नुभयो, “आफ्ना दिदीबहिनी नभएको अभाव यस्ता पर्वमा खट्किन्छ ।” यही दिदीबहिनी नभएको न्यास्रोले आफ्नालाई पिरोल्ने गरेको भन्दै उहाँले दुई छोरा भइसक्दा पनि छोरीको कामना गरिरहेको उहाँको भनाइ छ ।

पर्वमा मिथिलानीले सतभैया (सप्तर्षि), चुगला (कुरा लगाउने, कुरौटे, झगडा लगाउने), वृन्दावन, सामा र चकेवाका माटाका आकृति अगाडि राखेर गीत गाउँदै प्रत्येक दिन चुगलाको दाह्रीमा आगोले झोस्दै त्यो दिनको खेल सम्पन्न गर्दछन् । पर्वको अन्तिम दिन (कार्तिक पूर्णिमा) मा दाजुभाइका हातबाट सामाका आकृति फुटाउन लगाएर जोतिएको खेत वा निर्जन वनमा गाडेर पर्व समापन गरिन्छ । यस अवसरमा दाजुभाइले गच्छेअनुसार दिदीबहिनीलाई वस्त्र र नगद दक्षिणा दिने चलन छ ।

दाजुभाइ दिदीबहिनीप्रति यस्तो प्रेम दर्शाउने यो पर्व करिब पाँच हजार वर्ष पहिले द्वापरयुगदेखि सुरु भएको मिथिला संस्कृतिका पण्डित  शिवदत मिश्रले बताउनुभयो । यो पर्वमा दाजुको गुनलाई सम्झँदै सामाले गाएकी गीतको यादमा दाजुभाइप्रति कृतज्ञता जनाउन सामा-चकेवा पर्व मनाउने परम्परा बसेको उहाँले जानकारी दिनुभयो ।

मिथिलामा दाजुभाइ र दिदीबहिनीबीच प्रेम दर्शाउने भैयादुज, राखी र सामा-चकेवा पर्व रहेका पण्डित मिश्रले उल्लेख गर्नुभयो । भैयादुज कार्तिक शुक्ल द्वितीयाका दिन दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी विजय तिलक र माला लगाएर मनाउँछन् । त्यस्तै साउन पूर्णिमामा दाजुभाइका हातमा सप्तरङ्गी डोरा (राखी) बाँधेर दिदीबहिनीले सौर्यवृद्धिको कामना गर्दछन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *