आज कुकुर तिहार : बागलुङमा बढ्यो भोटे कुकुरको माग

डम्मर बुढा मगर बागलुङ, संवाददाता
डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 7 mins

बागलुङ । पश्चिम बागलुङको व्यापारीक केन्द्र बुर्तिबाङ बजारदेखि माथितिर लागियो भने अधिकांश घरमा कुकुर भेटिन्छन् । ति कुकुर साना आँखा, लामा-लामा रौँ र मोटाघाटा देखिन्छन् । स्थानीयले घर हेरालुका रुपमा प्रयोग गर्ने कुकुर पछिल्लो समय पर्यटकको रोजाइमा पर्न थालेका छन् । केही वर्ष पहिलेसम्म बागलुङमा आउने पर्यटकले यहाँ उत्पादन हुने भाँगो, आलु, भटमास, बुट्टेनली र चोयाबाट बनेका सामग्रीहरु कोसेलीका रुपमा लैजाने गर्थे भने अहिले भोके कुकुर लैजान थालेका छन् । खास गरि ढोरपाटनमा आउने पर्यटकले माउ र बच्चा कुकुर किनेर लैजाने गरेका छन् । आगन्तुकले घरमा पालेको कुकुर किनेर लैजान थालेपछि स्थानीयको आम्दानीमा पनि बढ्न थालेको छ ।

निसीखोला, ढोरपाटन र तमानखोलाको माथिल्लो क्षेत्रबाट हरेक वर्ष सयौँ माउ तथा बच्चा कुकुर विक्री हुने गरेको छ । विशेषगरी बुटवल, पोखरा, काठमाडाैं, बागलुङ, धरानलगायत मुख्य शहरमा यहाँबाट कुकुर लैजाने गरेका पाइन्छ । ढोरपाटन क्षेत्रमा पाइने कुकुर अन्य ठाउँको भन्दा बलियो र टाठो हुने हुँदा धेरैले मन पराउने गरेको ढोरपाटन नगरपालिका-९ पाखाथरका ज्ञानबहादुर विकले बताउनुभयो । कुकुरले एकै पटकमा पाँच वटाभन्दा बढी बच्चा जन्माउने र दुई÷तीन महिना नहुँदै किनेर लैजाने गरेको विकको भनाइ छ । ढोरपाटन क्षेत्रबाट हरेक महिना कुकुर विक्री भई राखेको उहाँ बताउनुहुन्छ ।

पछिल्लो समय भोके कुकुरको माग निकै बढेको विकले बताउनुभयो । एउटै माउ भोटे कुकुरको मूल्य ५५ देखि ६० हजार रुपैयाँसम्म पर्ने गरेको भन्दै बच्चा कुकुरनै १० हजारसम्म विक्री हुने गरेको उहाँको भनाइ छ । यस वर्ष आफूले चार वटा कुकुरका बच्चा बेचेको विकले बताउनुभयो । बजारका कुकुरले घर हेरालु गर्न नसक्ने भन्दै भोटे कुकुरले जीव, तन्तु र घर गोठको सुरक्षा दिने गरेको उहाँ बताउनुहुन्छ ।

“पहिले गाउँमा कुकुर फालाफाल हुन्थे, एउटै घरमा चार/पाँच वटासम्म कुकुर पाल्ने गर्थे तर अहिले गाउँ घरमा कुकुर पाल्ने चलन कम भएको छ, बजारमा बढी भएको छ, पाँच वर्ष अगाडिसम्म कुकुर विक्री हुन्छ भन्दा अचम्म लाग्छ, अहिले घरबाटै कुकुर विक्री हुन्छन्” विकले भन्नुभयो - “गाउँका केही मान्छेले एउटै कुकुरको मुल्य ६० हजारसम्म पारे, यहाँका कुकुर बजारका जस्ता हुँदैन्, लेकमा बसेका, लेकाली हावापानीमा हुर्केको हुँदा बलिया र घरको सुरक्षा गर्न सक्ने हुन्छन्, टोकारे (टोक्ने) खालका हुँदैनन्, बजार क्षेत्रबाट आउने धेरै जसोले स्याउ, आलुभन्दा कुकुर किनेर लग्छन् ।”

ADVERTISEMENT

निसी, ढोरपाटन र तमान क्षेत्रका धेरै जसो स्थानीय पहुपालनमा आवद्ध छन् । उनीहरु लेक बेसी गरेर पशुचौपाया पाल्ने गर्छन् । गोठ सार्दा कुकुर पनि सँगै लैजाने गर्छन् । गोठको छेउमै बाध्ने कुकुरले पशुचौयापालाई वन्यतन्तुको आकर्षमण हुनबाट बचाउने स्थानीय विरबहादुर रसाइलीले बताउनुभयो । उहाँले कुकुर पाल्ने प्रचलन पाकापुर्खादेखि चल्दै आएको बताउनुहुन्छ । कुकुर ज्ञानी र घर गोठको रक्षक भएको हुँदा आफूले पचास वर्षदेखि पाल्दै आएको सुनाउनुभयो । पचास वर्षको अवधीमा करिब १० वटा कुकुर पालेको उहाँ सुनाउनुहुन्छ ।

पछिल्लो समय घुम्न आउने पर्यटकले गोठमै आएर कुकुर किन्ने गरेको सिर्पालीको भनाइ छ । पहिले-पहिले कुकुर पाल्न रहर हुनेले निःशुल्कनै लैजाने गरे पनि अहिले विक्री हुन थालेको उहाँ बताउनुहुन्छ । सिर्पालीले अघिल्लो वर्ष सात वटा र यस वर्ष तीन वटा कुकुर बेचेको बताउनुभयो । भोटे कुकुर अन्य जातभन्दा ठुलो, साहसिलो हुने र घरपालुवा जनावरसँग गोठमा बस्ने हुँदा धेरैले मन पराउने गरेको उहाँको भनाइ छ ।

विक भन्नुहुन्छ - “बजारमा पाइने, बेलाउती जात भन्छन्, अरु केके जातका थुप्रै कुकुर हुँदा रैछन्, तर ति कुकुरभन्दा भोटे कुकुरको आयु पनि धेरै हुन्छ, जहाँ पनि बस्न सक्ने गुण भएको हुन्छ, अहिले त बजारबाट आएका मान्छेहरु मेरो गोठमै आएर कुकुर लग्छन्, कोहीले त अर्को पटक भ्यायो भने मलाई भनेर पहिलेनै माग गर्छन्, अहिले त कुकुर पुर्‍याउनै गाह्रो पर्छ ।”

खासमा एकान्त घर, धेरै पशुचौपाया, फार्म जस्ता स्थानमा भोटे कुकुर राख्ने गरिए पनि पछिल्लो समय सौखिनका लागि भन्दै शहर बजारमा समेत लैजाने गरिएको छ । निसीखोलाको भल्कोट, सिप, पातीहाल्ने, ढोरपाटनको पाखाथर, छेन्तुङ, बोबाङ र अधिकारीचौर क्षेत्रमा बढी कुकुर पाल्ने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?