विपद्पछिको पुनर्निर्माण जनधनको क्षति नहुनेगरी गर्नुपर्छ : अध्यक्ष सिंह

न्युज एजेन्सी नेपाल
न्युज एजेन्सी नेपाल
Read Time = 6 mins

काठमाडाैं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले जलवायु परिवर्तनको असरलाई दृष्टिगत गर्दै भौतिक संरचनाहरु बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै अध्यक्ष सिंहले जलवायु परिवर्तनको असरस्वरुप विभिन्न प्राकृतिक प्रकोपको सिकार हुनुपरेको भन्दै क्षति न्युनिकरणका लागि संरचना बनाउँदा जलवायु परिवर्तनलाई दृष्टिगत गर्नुपर्ने बताउनुभएको हो । उहाँले भविष्यमा निम्तिनसक्ने जोखिमलाई समेत ध्यान दिँदै दिगो संरचना बनाउनुपर्ने बताउनु भयो । विद्यमान संरचनाहरु कुनै पूर्वतयारी बिना बनाइएका कारण जोखिम खेपिरहेको भन्दै उहाँले आगामी दिनमा क्षति नहुनेगरी पुनर्निमाण गर्नुपर्ने बताउनु भयो । उहाँले विपद् पूर्वतयारीको बजेटलाई सही रुपले प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो - ‘हामीले जलवायु परिवर्तनलाई पनि दृष्टिगत गरेर हाम्रो संरचनाहरु बनाउनुपर्‍यो । दिगो संरचनाहरु बनाउनुपर्‍यो । १०/१५ वर्षलाई हेरेर होइन कि भविष्यमा आउने जोखिमलाई पनि हेरेर संरचनाहरु बनाउनुपर्‍यो । अहिलेको संरचना कुनैपनि पूर्वतयारी बिना बनाएको भएर नै अझ बढी जोखिम खेपिरहेका छौँ । प्राकृतिक प्रकोपपछि भौतिक पूर्वाधारमा भएको क्षतिलाई पुनर्निमाण गर्दाखेरी तुरुन्तै सञ्चालनयोग्य बनाउने त आफ्नो ठाउँमा छ । तर दिगो रुपमा भौतिक पूर्वाधारहरुले आगामी दिनमा जनधनको क्षति नहोस् भनेर त्यसको अध्ययन गरेर हाम्रो क्षमता अनुसारमा मात्र सिमित भएर संरचनाहरु तयार गर्नुपर्छ । थप भौतिक क्षति, मानविय क्षति नहुने गरी बनाउनुपर्छ । प्राकृतिक विपद् हरेक वर्ष आउँछ तर भिन्न किसिमले आउँछ । हरेक हिसाबले चुस्त दुरुस्त रुपमा बस्ने हो । चुस्त, दुरुस्त रुपमा बस्न पूर्वतयारीको आवश्यकता पर्छ । पूर्वतयारीका लागि विनियोजित बजेटको सही सदुपयोग गर्ने र त्यो वर्ष विपद् झेल्नु परेन भने त्यो बजेटलाई आगामी दिनमा अझ सुदृढ हिसावले पूर्वतयारी गर्नुपर्छ । सरकार जिम्मेवार हुनुपर्छ । नागरिकले पनि आफ्नो तर्फबाट गर्नुपर्ने जिम्मेवारीहरु गर्नुपर्छ । तीनै तहको सरकारले आफ्नो तयारी पूरा गर्ने ।’

उहाँले नदी किनारामा बनेका सडकबाट प्रत्येक वर्ष जोखिम बेहोरिरहेको भन्दै यसको वैकल्पिक मार्गको बारेमा सोच्नुपर्ने बताउनु भयो । आगामी दिनमा संरचना बनाउँदा भौगोलिक बनावटलाई अध्ययन गरेर मात्रै गर्नुपर्ने बताउनु भयो । उहाँले यसका लागि अनुसन्धानमा पनि राज्यले लगानी गर्नुपर्ने बताउनु भयो ।

ADVERTISEMENT

उहाँले भन्नुभयो - ‘नदी किनारामा बनेका सडकबाट हामीले प्रत्येक वर्ष जोखिम बेहोरिरहेका छौँ । त्यहाँ नबनाउँदा बढी लाभ हुन्छ की ? अब बन्ने संरचना भौगोलिक बनौटलाई अध्ययन गरेर गर्नुपर्छ होला । अनुसन्धानमा पनि लगानी गर्नुपर्‍यो र सोही अनुरुप संरचना बनाउनुपर्‍यो । भुगोल सुहाउँदो बनाउनुपर्‍यो । वातावरणमैत्री प्रविधिलाई भित्राएर हामीले काम गर्नुपर्छ । दिगो विकासमा लक्ष्य लिएको पाउँदैनौँ । राष्ट्रिय योजना आयोग लगायत अरु योजना कार्यान्वयन गर्ने निकाय भन्दापनि राजनीतिक नेतृत्वले आफूले चाहेको विकासको मोडल मात्र हामी सफल भइरहेका छौँ । उहाँहरुले विज्ञ राखेर विज्ञको राय अनुसार पूर्वाधारको विकास गर्ने, पुँजीगत खर्च कहाँनेर जोड दिने भन्दापनि अझ बढी आफु विज्ञ भएर विकास निर्माणको नाममा पुँजीको दुरुपयोग भएको देखिन्छ । पूर्वाधारको अध्ययन बिना लहडमा, बाहुबलको हिसावले योजनाहरु राखिराखेका छौँ त्यो नै दुर्भाग्यपूर्ण छ ।’

अध्यक्ष सिंहले भौतिक पूर्वाधार निर्माणको नयाँ योजना अहिले ल्याउनु नहुने बताउनु भयो । उहाँले भइरहेका योजनाहरुलाई जोगाउन र दिगो बनाउन सरकार केन्द्रित हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो - ‘भौतिक पूर्वाधारको नयाँ संरचनालाई अहिले बन्द गर्नुपर्छ । अति आवश्यक बाहेका पूर्वाधारका योजना अहिले ल्याउनु आवश्यक छैन । भइरहेका योजनाहरुलाई कसरी दिगो बनाउने, भइरहेका संरचनालाई कसरी जोगाउने भन्नेमै ध्यान दिनुपर्छ । म सरकारलाई अनुरोध गर्न चाहन्छु । भइरहेको संरचना जोगाउनलाई स्रोतको प्रयोग गर्नुस् । भइरहेको सडकलाई टिकाउ बनाउनुस् ।’

सिंहले वातावरणमैत्री प्रविधि भित्राएर काम गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *