बागलुङ । बागलुङको काठेखोलाकाका सीमान्तकृत महिला तथा युवालाई घरबास (होम-स्टे)मार्फत रोजगारसँग जोड्न थालिएको छ । गाउँपालिकाको वडा नम्बर ३, ५, ७ र ८ का करिब १०० जना महिला तथा युवालाई रोजगारसँग जोड्न थालिएको हो । गाउँपालिकाको साझादेरीमा रोजगार संचालित कार्यक्रमले स्थानीय उत्साहित भएका छन् । रोजगार सिर्जना गर्नका लागि युएनडिपी नेपालले आर्थिक सहयोग गरेको छ भने नेपाल गाजा डेभलपमेन्ट फाउण्डेशन बागलुङको व्यवस्थापन गरेको छ ।
बसाइँसराइले उजाडिन थालेको गाउँमा घरबास संचालनमा आउन थालेका छन् । वडा नम्बर ३ को धम्जा देउराली, ५ को बिहुँ, ७ को बौर र ८ को लेखानी गाउँ पर्यटकीय हिसाबले निकै संभावना बोके हुँदा यहाँका समुदायलाई घरबास संचालनका लागि प्रेरित गरि रोजगार सिर्जना गर्न थालेको काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले बताउनुभयो । काठेखोलाका धेरै गाउँ बसाइँसराइले सुनसान बन्दै गएको भन्दै घरबास संचालनपछि धेरैलाई गाउँ फर्काउन सकिने अपेक्षा लिएको उहाँ बताउनुहुन्छ ।
अध्यक्ष थापाले भन्नुभयो - “गाउँपालिकाले बसाइँसराइ रोक्नका लागि रोजगार सिर्जना गर्ने योजना बनाएको थियो, हाम्रो योजनालाई गैर सरकारी संस्थाहरुले पनि सहयोग गर्नु भयो, सोही अनुसार यस वर्ष चार वटा वडामा घरबास स्थापना गरि संचालन गर्ने काम सुरु भएको छ, गाउँमै बसेर केही गर्न चाहाने युवा र महिलालाई यसले ठूलो मद्दत गरेको छ, अन्य वडाहरुमा पनि सुरु गर्ने योजना छ ।”
हाल काठेखोला गाउँपालिका-३ को धम्जा स्थित देराली सामुदायिक घरबास, वडा नम्बर ५ को बिहुँ स्थित शिवधुरी सामुदायिक घरबास, ७ को बौरमा बौर सामुदायिक घरबास र ८ को लेखानीमा खानी गाउँ सामुदायिक एग्रो घरबास संचालन गरेको नेपाल गाजा डेभलपमेन्ट फाउण्डेशनकी कार्यक्रम प्रबन्धक ममिता पुनले जानकारी दिनुभयो । घरबास संचालकलाई पाक कला, घरबास व्यवस्थापन, स्थानीय उत्पादनको प्रशोधन र प्याकेजिङ तालिम दिएको उहाँको भनाइ छ ।
“घरबास संचालनका लागि हामीहरुले संचालकहरुलाई तालिम दिएका छौँ, गाउँमै जैविक उत्पादनका लागि प्लास्टिक टनेल, प्याकेजिङ मेसिन, तरकारीको बिउ र ड्राइमेसिन उपलब्ध गराएका छौँ,” पुनले भन्नुभयो - “सहयोग पाएपछि धेरै दाजुभाई दिदीबहिनीहरु उत्साहित भएर लाग्नु भएको छ, उहाँहरुलाई आयआर्जनसँग जोड्नका लागि निरन्तर सहयोग गर्दै जाने छौँ ।”
बौर सामुदायिक होमस्टेका अध्यक्ष होमबहादुर पुनले गाउँपालिका र संघसंस्थाबाट पाएको सहयोगले आफूलाई उत्पादनमा लाग्न प्रेरणा मिलेको बताउनुभयो । संस्थाले दिएको तालिमले समुदायलाई एकताबद्ध भएर व्यवसायिक बन्न सिकाएको उहाँको भनाइ छ । हालै स्थापना गरेको घरबासलाई अब प्रचारप्रसार गर्ने र पाहुना भित्राउन तर्फ लाग्ने पुनले बताउनुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts