
चितवन । मुलुकको तेस्रो पर्यटकीय नगरी सौराहाको पर्यटन विकासको लागि निर्माण गरिएको सौराहा सभाहल स्थानीय सरकारलाई हस्तान्तरण गरिएको छ ।
नेपाल सरकारले ४३ करोड ४० लाखको लगानीमा निर्माण गरेको सुविधा सम्पन्न सभाहल सोमबार एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरी रत्ननगर नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।
नेपाल सरकारका उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले सभाहल उद्घाटन गरी रत्ननगर नगरपालिकाका मेयर प्रल्हाद सापकोटालाई हस्तान्तरण गर्नुभएको हो ।
उपप्रधानमन्त्रीले नगरपालिकालाई सभाहलको साँचो हस्तान्तरण गर्दा नगरपालिकाका मेयर सापकोटासहित उपमेयर यादवप्रसाद पाठक, संस्थापक मेयर नारायण वन, प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल, विज्ञ सल्लहाकार रामहरि न्यौपाने तथा वडाध्यक्षहरु समेत उपस्थित रहनुभएको थियो । सभहल सञ्चालन र व्यवस्थापनको जिम्मेवारी सहित सभाहल स्थानीय सरकारलाई हस्तान्तरण गरिएको हो । सरकारले पर्यटकीय नगरी सौराहालाई लक्षित गरी अन्तर्राष्ट्रिय स्तरका सभा सम्मेलन सहित राष्ट्रिय स्तरका सभा सम्मेलन, भेला, गोष्ठी तथा विभिन्न कार्यक्रम सञ्चालनको लागि सभाहल निर्माण गरेको शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जनले जानकारी दिनुभयो ।
सघन शहरी तथा भवन निर्माण आयोजना चितवनले २०६७ साल कार्तिकमा सुरु गरेर २०८० साल मंसिरमा निर्माण सम्पन्न गरेको थियो । रत्ननगर नगरपालिका वडा नं ७ स्थित एक विघा १६ कठ्ठामा बनेको सो सभाहल २ हजार १३० बर्गमिटर रहेको छ । अत्याधुनिक भवन रहेको सो सभाहलमा एक हजार मान्छे अट्ने ठुलो सभाहल र १५० क्षमताको तीन वटा सानाहल रहेको विभागका महानिर्देशक महर्जनले जानकारी दिनुभयो । वाताबरण अनुकुल र अपाङ्गमैत्री सो सभालमा प्रयाप्त पाकिङ सुविधा रहेको छ । कार्यक्रमका प्रमुख अतिथि उपप्रधानमन्त्री सिंहले चितवनको पर्यटन विकासको लागि सौराहामा आधुनिक सभाहल निर्माण गरी स्थानीय सरकारलाई हस्तान्तरण गरिएको बताउनुभयो ।
सौराहा सभाहल सञ्चालन र व्यवस्थापनको काम स्थानीय सरकारको रहेको भन्दै उहाँले पर्यटन व्यवसायीहरुसंग सहकार्य गरी प्रभावकारी ढंगले सभाहल सञ्चालन गर्न आग्रह गर्नुभयो । सभाहल सौराहाको पर्यटन विकास गर्ने उपयुक्त माध्यम हो उहाँले भन्नुभयो स्थानीय सरकार र निजी क्षेत्र मिलेर यसको सञ्चालन गर्नुपर्छ । देशभर निर्माण गरिएका सभाहलको व्यवस्थित सञ्चालनको लागि कार्यविधि बनाएर मन्त्रिपरिषद्को बैठकमा पेश गर्ने तयारी गरहेको उहाँले जानकारी दिए । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले सौराहाको पर्यटनलाई थप उचाईमा लैजान आफु अर्थमन्त्रीहुँदा सौराहा सभाहल निर्माणको लागि बजेट विनियोजन गरी कार्य प्रारम्भ गरेको बताउनुभयो । सौराहामा सभाहल निर्माण गर्ने मेरो सपना हो उहाँले भन्नुभयो उतिबेला मैले सुरु गरेको काम र सपनाले सार्थकता पाएको छ । संविधान सभा सदस्य समेत रहेका पाण्डेले सौराहा सभाहल सञ्चालनको लागि व्यवसायीहरुले पनि तदारुकता देखाउनु पर्नेमा जोड दिनुभयो ।
शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले सभाहल बनेको ठाउँकै स्थानीय सरकारलाई सञ्चालन र व्यवस्थापनको जिम्मेवारी प्रदान गर्ने सरकारको नीति अनुरुप सौराहामा निर्माण गरेको सभाहल रत्ननगर नगरपालिकालाई हस्तान्तरण गरिएको बताउनुभयो । सरकारले देशका प्रमुख शहरहरुमा ३० वटा ठुला सभाहल निर्माण गरेको जानकारी दिँदै सञ्चालनमा चुनौती देखापरेको बताउनुभयो । सौराहामा निर्माण भएको सभाहल पर्यटन विकासंग जोडिएको भन्दै यसको उपयोग गर्नुपर्नेमा जोड दिनुभयो । रत्ननगर नगरपालिकाका मेयर सापकोटाले सभाहल सञ्चालनको लागि केन्द्र सरकारले बजेट व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
सभाहल सञ्चालनमा बजेट खर्च गर्दा विकासप्रतिको लक्ष्य हासिल गर्न मुश्किल हुने भन्दै उहाँले केही समयका लागि केन्द्र सरकारले सञ्चालन खर्च व्यहोर्नुपर्नेमा जोड दिनुभयो । सभाहल उद्घाटन कार्यक्रममा बागमती प्रदेशका वन तथा बाताबरण मन्त्री कृष्ण सिलवाल, प्रदेश सभा सदस्य उत्तम जोशी, कृष्णप्रसाद खनाल, जिल्ला समन्वय समितिका अध्यक्ष नारायण प्रसाद अधिकारी, भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, रत्ननगर नगरपालिका वडा नं ७ का वडाध्यक्ष सजन महतो सहित अन्य वडाध्यक्षहरुको समेत उपस्थिति रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच