‘जहाँको कर त्यहीको विकास’

हिमालय टाइम्स कालिकोट, संवाददाता

चितवन । अमेरिकाको डेमोक्रेटिक पार्टीबाट नेपाली मूलका टीका पौडेल अहिले टेक्सासस्थित युलेस सिटीका उपप्रमुख (मेयर प्रोटिन) सेवारत हुनुहुन्छ । यसअघि सोही सिटीमा सदस्यमा निर्वाचित हुनुभएका उहाँ यस पटक निर्विरोध मेयर प्रोटिन चयन हुनुभएको हो । उहाँका अनुसार सिटीमा प्रमुखसहित सात जना हुने गर्दछन् । अन्य छ जना रिपब्लिकन पार्टीबाट निर्वाचित हुनुभएको हो भने उपप्रमुख पौडेल डेमोक्रेटिक पार्टीबाट निर्विरोध निर्वाचित हुनुभएको हो ।

अमेरिकामा नेपाली मूलका निकै थोरै जनप्रतिनिधि छन् । तीमध्येका पौडेल आफ्नो सिटीमा रु तीन खर्ब नेपाली बराबरको आगामी वर्षका लागि बजेट अनुमोदन गरेर नेपाल आइपुग्नुभएको छ । चितवनको रत्नरनगमा पुर्ख्याैली घर रहेको पौडेल यहाँको अवस्था र त्यहाँको अवस्थालाई तुलना गर्दैगर्दा कर सङ्कलनलाई यहाँ प्राथमिकता दिन नसकिएको बताउनुहुन्छ ।

उहाँले नेतृत्व गर्नुभएको सिटीको मुख्य आम्दानी सम्पत्ति कर भएको जानकारी दिनुहुन्छ । त्यसो त अमेरिकामा जुन ठाउँबाट कर उठ्यो त्यही खर्च गर्ने गरिन्छ । यसका अतिरिक्त स्टेटमा पनि पठाउने गरिन्छ ।

नेपालमा प्राध्यापन पेसा छाडेर २० वर्षअघि अमेरिका पुग्नुभएका पौडेल जहाँको कर त्यहाँको विकास गर्नुपर्ने सुझाव दिनुहुन्छ । विद्यालय र राजमार्ग माथिल्लो सरकारले हेर्छ भने अरु सबै सिटीले व्यवस्था गर्नुपर्ने हुन्छ । आफ्नो सिटीमा छ सयभन्दा बढी कर्मचारी रहेको जनाउँदै मेयर प्रोटिन पौडेलले भन्नुभयो, “हामीले अमेरिकामा विकास गर्नका लागि सम्पत्ति कर नै धेरै सङ्कलन गर्ने हो ।” सम्पत्ति कर ४६ प्रतिशत सिटीले राख्छ भने ५४ प्रतिशत स्टेट र सङ्घमा जान्छ । उहाँले भन्नुभयो, “हामीलाई चाहिने बजेट राखेपछि मात्रै बाँकी बजेट अन्यत्र पठाउँछौं ।” थप बजेट चाहिएमा माथिल्लो सरकारबाट माग गर्ने गरेको उहाँको भनाइ छ ।

ADVERTISEMENT

नेपालमा पर्याप्त कर सङ्कलन हुन नसक्दा विकास हुन नसकेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “यहाँ कर सङ्कलनमा ध्यान जानुपर्छ, उठेको कर सदुपयोग गर्नुपर्छ ”, उहाँले भन्नुभयो, “नेपालमा जहाँ कर उठ्यो विकासमा त्यहाँ प्राथमिकता दिएको पाइँदैन, जसका कारण कर उठाउन प्रेरित गर्न सकिएको छैन ।”

अमेरिकामा भ्रष्टाचार कम हुने गरेको उहाँको दाबी छ । मेयर प्रोटिनले भन्नुभयो, “त्यहाँ भ्रष्टाचार गर्‍यो भने भ्रष्टाचार गर्नेको राजनीति समाप्त भयो, जीवन नै सकियो ।” त्यसो त सबै व्यवस्था राज्यले गर्ने हुँदा केका लागि भ्रष्टाचार गर्ने ? उहाँले प्रश्न गर्नुभयो । उहाँका अनुसार आम नागरिकलाई अत्यावश्यक पर्ने शिक्षा, स्वास्थ्यको जिम्मेवारी राज्यले गर्ने गर्दछ । नेपालमा जति सम्पत्ति कमाए पनि एउटा रोग लाग्दा सकिने उदाहरण दिँदै उहाँले अमेरिकामा त्यो सबै जिम्मेवारी राज्यले लिने हुँदा धेरै पैसा नागरिकलाई आवश्यक छैन ।

गुणस्तरीय जीवनका लागि सरकारको जिम्मेवारी हुँदा त्यहाँका जनप्रतिनिधि र कर्मचारी भ्रष्टाचार तर्फ ध्यान नै नजाने मेयर प्रोटिन पौडेलले बताउनुभयो । आफ्नो सिटीमा ५७ देशका नागरिक बसोबास गर्ने जनाउँदै उहाँले विकासका कारण ती सबैको चित्त बुझाउन सकिएको प्रतिक्रिया दिनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज