काठमाडौं । सरकारले जनक शिक्षा सामग्री केन्द्रलाई हुलाक टिकटसँगै जग्गाधनी दर्ता प्रमाण पुर्जा र भिसा स्टिकर छपाइका लागि स्वीकृति दिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सूचना तथा सञ्चार प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले शुक्रबार जानकारी दिनुभयो । यसअघि ४ फागुन ०८० देखि जनक शिक्षा सामग्री केन्द्रले हुलाक सेवा विभागको समन्वयमा हुलाक टिकट छाप्न सुरु गरेको थियो । ०१६ सालसम्म नेपालमै हुलाक टिकट छापिए पनि त्यसयता बन्द भएको थियो । मन्त्रिपरिषद्ले स्लोभानियासमेत ११ स्थानका अवैतनिक वाणिज्यदूत र महावाणिज्यदूतहरूको पदावधि एक अवधि अर्थात् चार वर्षका लागि थप गर्ने निर्णय गरेको छ ।
बैठकले पाँचथरको फालेलुङ गाउँपालिका-५ मा भएको बम विस्फोटमा परी मृत्यु भएका दिप्सन साँवा र प्रिन्सा साँवाको एकाघरको परिवारलाई प्रतिपरिवार बिलबमोजिम पाँच लाख रुपैयाँसम्म आर्थिक सहायता उपलब्ध गराउने निर्णय पनि गरेको छ । प्रवक्ता गुरुङका अनुसार बबई सिँचाइ आयोजनाका लागि बर्दियाको गुलरिया नगरपालिकामा करिब ६५ हेक्टर जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको छ । यसैगरी, कृषि मन्त्रीको मेक्सिको र भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको फिलिपिन्स भ्रमण स्वीकृत भएको छ ।
यसैगरी, जनक शिक्षा सामग्री केन्द्रलाई हुलाक टिकट, जग्गाधनी दर्ता प्रमाण पुर्जा र भिसा स्टिकर छपाइ गर्न स्वीकृत दिने, नेपाल फार्मेसी परिषद्को सदस्य पदमा डा. सभ्यता गौतम र विष्णु प्रदान कँडेललाई मनोनयन गर्ने सचिवमा रघुराम विष्टलाई बढुवा गर्ने लगायतका निर्णय भएको प्रवक्ता गुरुङले जानकारी दिनुभयो ।
सिडिओहरूको सरुवा
गृह मन्त्रालयले २७ जना कर्मचारीहरूको पदस्थापन तथा सरुवा गर्ने निर्णय गरेको छ । गृहले बुधबार र बिहीबार २७ जना कर्मचारीको पदस्थापन तथा सरुवा गर्ने निर्णय गरेको हो । उक्त निर्णयको सूची शुक्रबार मन्त्रालयको वेबसाइटमा राखिएको छ । गृहले १९ वटा जिल्ला प्रशासन कार्यालय र एउटा इलाका प्रशासन कार्यालय प्रमुख हेरफेर गरेको छ । जिल्ला प्रशासन कार्यालय ललितपुर र भक्तपुरका प्रमुख पनि फेरिएका छन् । ललितपुरमा रमेश ढकाल आउनुभएको छ भने ललितपुरका सिडिओ रहेका तुलसीबहादुर श्रेष्ठको गृहमा सरुवा भएको छ ।
त्यस्तै, भक्तपुरमा रहनुभएकी रोशनीकुमारी श्रेष्ठलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाइएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल भएका हुनुभएको छ । उहाँ यसअघि डोटीमा हुनुहुन्थ्यो । त्यसैगरी, गृहमा रहनुभएका बासुदेव घिमिरे रूपन्देहीका प्रमुख जिल्ला अधिकारी हुनुभएको छ । रूपन्देहीमा रहनुभएका गणेश अर्याललाई पर्सा पठाइएको छ ।






