
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले सार्वजनिक गरेका एक सय दिनको उपलब्धिप्रति राजनीतिक वृत्तमा पक्ष र विपक्षमा तर्कवितर्क जारी छ । गत असार १७ गते संसद्का प्रमुख दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सात बुँदे सहमतिको आधारमा असार ३० गते संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । सरकार गठन भएको एक सय दिन पुगेको अवसरमा प्रधानमन्त्री ओलीले सरकारले गरेका काम उपलब्धि बुधबार सार्वजनिक गर्नुभएको छ । प्रधानमन्त्री ओलीले सय दिनको अवधिमा सरकारले लक्ष्यको ७० प्रतिशत काम गरेको तर प्राकृतिक विपत्तको कारण ३० प्रतिशत काम हुन नसकेको दाबी गर्नुभएको छ । तर, प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रसहितका विपक्षी दलहरूले सुशासन, भ्रष्टाचार नियन्त्रण, सार्वजनिक सेवा प्रवाह र जनजीविकाको सवालमा सरकार पूर्ण असफल भएको टिप्पणी गरेको छ ।
जनअपेक्षाअनुसार काम गर्नुको सट्टा सरकार उल्टो दिशामा हिँडेको जिकिर गर्दै विपक्षी दलहरूले सरकारविरुद्ध सडक आन्दोलनको घोषणासमेत गरिसकेका छन् । यता, सत्तापक्षका कतिपय नेताहरूले समेत सरकारले अपेक्षाकृत काम गर्न नसकेको भन्दै असन्तुष्टि जनाइरहेका छन् । सरकारमा सहभागी र समर्थन गरेका अधिकांश नेताहरू सरकारका काम कारबाहीप्रति अन्तुष्ट नै देखिएका छन् ।
बुधबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको सत्ता साझेदार दलहरूको बैठकले प्रधानमन्त्री ओली नेतृत्वको सरकारको सय दिन सन्तोषजनक रहेको निष्कर्ष निकालेको थियो । सेयर बजारमा आएको सुधारका साथै अरू सूचकलाई देखाएर सत्तापक्षले मुलुकको अर्थतन्त्र लयमा आउन थालेको जिकिर गरेको छ । बाढीपहिरो लगायतका जनसरोकारका सवालमा पनि सरकारले काम गरिरहेको सत्तापक्षको दाबी छ । सुशासनमा पनि केही काम भएको सत्तापक्षको भनाइ छ । त्यही क्रममा सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र अन्य व्यक्ति पक्राउ गरेर अनुसन्धान अगाडि बढ्नु सुशासनको लागि अर्को कदम भएको प्रधानमन्त्री ओलीको जिकिर छ । ओली नेतृत्वको सरकारलाई सबैभन्दा बढी ढाडस सत्ता साझेदार दलको प्रमुख घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दिनुभएको छ । सुरुको सय दिन सरकारको ‘हनिमुन पिरियड’ भएको भन्दै उहाँले विपक्षीहरूले विरोध गरेर अनावश्यक भ्रम सिर्जना गर्न खोजेको टिप्पणीसमेत गर्नुभएको छ ।
असन्तुष्टि जनाउनुपर्ने कुनै कारण छैन : सभापति देउवा
सत्ता साझेदार दलको प्रमुख घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको एक सय दिनको कामप्रति आफ्नो दल सन्तुष्ट रहेको बताउनुभएको छ । एमाले अध्यक्ष ओली नेतृत्वको सरकारले सय दिनमा गरेको कामबाट असन्तुष्टि जनाउनुपर्ने कुनै कारण नरहेको सभापति देउवाको भनाइ छ । पूर्व-प्रधानमन्त्रीसमेत रहनुभएका देउवाले ‘हनिमुन डेज’मा सरकारले राम्रो काम गरेको दाबी गर्दै भन्नुभयो, ‘अब मलाई त राम्रो लाग्छ, धेरै कुराले गर्दा राम्रो छ । सय दिनलाई मैले त राम्रो मानेको छु । सय दिनलाई हनिमुन डेज भन्छन् नि । राम्रो काम गरेको छ । राम्रो काम गरिरहेको छ, के भएको छ त ? गति पनि लिएको छ ।’
विपद् व्यवस्थापन र राहत, उद्धारमा सरकारले कामै गरेन भनेर भ्रम फैल्याइएको जिकिर गर्दै देउवाले भन्नुभयो, ‘बाढी पहिरोमा सरकारले राम्रो उद्धार र खोजी गरेको छ । मान्छे पठाउनुभएको हो, गरेको हो । हेलिकप्टरबाट पनि उद्धार गरेको हो । ठीक छ, त्यस्तो केही छैन, सबैको राम्रो छ सय दिनको काम ।’ एमाले अध्यक्ष ओली नेतृत्वको सरकारसँग कांग्रेस असन्तुष्ट नरहेको स्पष्ट पार्दै सभापति देउवाले भन्नुभयो, ‘दुई वर्ष उहाँले चलाउने भनेको हो, डेढ वर्ष मलाई भनेको हो । कहाँ कांग्रेस असन्तुष्ट छ ? कसले भन्यो असन्तुष्ट भनेर । कहाँ असन्तुष्ट हुनु, कुरै छैन नि त्यो त । सानातिना समस्या एउटै पार्टीभित्र त हुन्छ भने त्यो अर्को पार्टी हो । त्यस्तो केही छैन ।’
प्रधानमन्त्री ओलीलाई ढाडस
सत्तारूढ दलका प्रमुख घटक नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूबीच पछिल्ला दिनहरूमा मनमुटाव सुरु भएको टिप्पणी भइरहँदा कांग्रेस सभापति देउवाले भने प्रधानमन्त्री ओलीलाई राम्रो सहयोग गरिरहनु भएको बुझिएको छ । सभापति देउवाले अहिलेको सत्ता समीकरण २०८४ सम्मै जाने भन्दै ढुक्क भएर काम गर्न प्रधानमन्त्री ओलीलाई आश्वस्त गराउनुभएको हो । सरकारको एक सय दिन पुगेको अवसरमा प्रधानमन्त्री ओलीले डाकेको सत्तारूढ दलको बैठकमा देउवाले समीकरण आगामी निर्वाचनसम्मै जाने आश्वस्त पार्नुभएको जानकारी दिँदै बैठकमा सहभागी नागरिक उन्मुक्ति पार्टी (नाउपा) का अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले भन्नुभयो, ‘कांग्रेस सभापति शेरबहादुर देउवाले यो सत्ता समीकरण २०८४ सम्मै जान्छ । ढुक्क भएर काम गर्नुस् भनेर प्रधानमन्त्रीलाई भन्नुभयो । अब डेढ वर्ष हाराहारी ओलीजी र त्यसपछि कांग्रेसले सरकारको नेतृत्व गर्छ ।’ बैठकमा प्रधानमन्त्री ओलीले पनि सत्तारूढ दलहरूको बैठकमा सरकारको एक सय दिने हनिमुन अवधिमा राम्रो काम भएको दाबी गर्नुभएको थियो । सत्तापक्षले सुशासनकै कदमका रूपमा रवि लामिछाने समातिएको पनि दाबी गरेको छ ।
आफूलाई भाग्यशाली ठानेको छु : परराष्ट्रमन्त्री डा. राणा
परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयमा स्रोत साधनको निकै कमी रहेको बताउनुभएको छ । यद्यपि, प्रधानमन्त्रीसँग कार्य सम्पादन सम्झौता गर्दा सय दिनका लागि तोकिएको सबै काम गर्न सकेको उहाँको दाबी छ । परराष्ट्रमन्त्री राणाले मन्त्रालयमा आउँँदा कामको ‘ओभर लोड’ देखेको सुनाउनुभयो । त्यसका बाबजुद कर्मचारीले निकै मिहिनेत गरेको भन्दै उहाँले भन्नुभयो, ‘परराष्ट्र नीति, इकोनोमिक्स डिप्लोमेसी र डायस्पोरालाई दिनुपर्ने सर्भिसेसका लागि नेपालको परराष्ट्र मन्त्रालयलाई चाहिने स्रोतसाधन चाहिँ कमी रहेछ । मलाई एकदमै कमजोर महसुस भयो । अर्कोचाहिँ विदेशमा बस्ने नेपाली दाजुभाइ दिदी बहिनीहरूलाई जति सेवा दिनुपर्ने थियो, त्यो दिन सक्ने जनशक्ति र अनलाइन टेक्नोलोजीहरू अभाव रहेछ । धेरै कुराको कमी भएको पाएँ । दुई पार्टीको प्रतिनिधित्व गरेर काम गर्ने मौका पाएको छु । मैले आफूलाई भाग्यशाली परराष्ट्रमन्त्री ठानेको छु ।’
सरकारले सय दिनमै जनअपेक्षा अनुसारको काम गरेको छ : ज्ञवाली
सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले वर्तमान सरकारले १७ वर्षसम्म हुन नसकेको शान्ति प्रक्रियाको महत्वपूर्णकाम एक सय दिनमै जनअपेक्षाअनुसार पूरा गरेको बताउनुभएको छ । नेकपा एमाले झापा जिल्ला कमिटीले बिर्तामोडमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले वर्तमान सरकारले एक सय दिनमै सकारात्मक काम गरेर जनताको मन जितेको दाबी गर्नुभएको हो । वर्तमान सरकार गणतन्त्र जोगाउनका लागि बनेको भन्दै उहाँले व्यवस्थाकै विरुद्ध गतिविधि बढेपछि एमाले र कांग्रेस मिलेर सरकार बनाएको धारणा राख्नुभयो । रवि लामिछाने पक्राउको विरोधमा रास्वपाले गरिरहेको विरोध प्रदर्शनलाई लक्षित गर्दै उपमहासचिव ज्ञवालीले सडकबाट फैसला गर्न खोज्नु बेठीक भएको बताउनुभयो । उहाँले कार्यकर्तालाई पार्टी र सरकार बारेमा धारणा बनाउँदा बुझेर मात्र बनाउन पनि निर्देशन दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच