काठमाडौं । रूपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता भन्ने नाराका साथ एनआरएन ग्लोबल कन्क्लेभ २०२४ हुने भएको छ । गैरआवासीय नेपाली दिवसका अवसरमा सम्मेलन तथा एनआरएनए वार्षिक साधारणसभा यही कात्तिक ११ र १२ गते काठमाडौंमा हुने भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रममा मन्त्री, उच्च पदस्थ पदाधिकारीसहित स्वदेश तथा विदेशबाट विज्ञहरूको सहभागिता रहने आयोजकले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
कार्यक्रममा सात प्लेनरी सत्र रहनेछन् । कार्यक्रममा स्वदेश तथा विदेशका पाँच सयभन्दा बढी व्यक्तित्वको सहभागिता रहने आयोजकको अपेक्षा रहेको छ । कार्यक्रमको पहिलो दिन २७ अक्टोबरमा नेपालमा आर्थिक रूपान्तरणका लागि पूर्वाधार निर्माण, गैरआवासीय नेपाली नागरिकता, मताधिकार र गोर्खा, नेपाली मूलका विदेशी नागरिक (पिएनओ), जलवायु परिवर्तनले महिला तथा बालबालिकामा पार्ने प्रभाव, समृद्ध नेपालका लागि विज्ञान, ज्ञान र प्रविधि हस्तान्तरणसम्बन्धी विषयमा घनीभूत छलफल हुने एनआरएनएले जनाएको छ । त्यस्तै दोस्रो दिन २८ अक्टोबर २०२४ मा राष्ट्र निर्माणका लागि प्रवासी युवाको सशक्तीकरण, सुरक्षित, व्यवस्थित र सम्मानजनक वैदेशिक रोजगारीको सुनिश्चितता एवं सामाजिक सुरक्षा र नेपाल पर्यटन प्रवद्र्धन : नीति निर्माण, अपेक्षा चुनौती र एनआरएनएको भूमिकालगायतका सत्रहरू समावेश गरिएका छन् ।
स्थानीय र प्रदेश सरकारसँग सहकार्य गर्ने उद्देश्यले स्थानीय तहका प्रमुख तथा प्रदेशस्तरका मन्त्रीको सहभागिता हुने कार्यक्रमले विश्वभर रहेका गैरआवासीय नेपालीहरू, नेपाल सरकारका उच्च पदस्थ अधिकारी, नीति निर्माण तहका विज्ञ, सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि तथा बौद्धिक समुदायलाई एकै स्थानमा ल्याई गहन छलफलको मञ्च उपलब्ध गराउने आयोजकको अपेक्षा रहेको छ । सोही अवसरमा एनआरएन डेभलपमेन्ट फण्ड (१० अर्बको फण्ड) को सञ्चालनका लागि भइरहेको अन्तिम तयारीलगायत सरोकारवालासँग छलफल हुनेछ । जसले गैरआवासीय नेपालीद्वारा नेपालको आर्थिक र सामाजिक विकासमा योगदान पु¥याउने दीर्घकालीन परियोजनालाई सहयोग पु¥याउने आशा रहेको एनआरएनएले जनाएको छ ।’
ग्लोबल कन्क्लेभ गैरआवासीय नेपालीलाई नेपालसँग जोड्ने मार्ग पनि ठानेको एनआरएनएले नेपालको आर्थिक विकासका सम्भावना र चुनौतीबारेमा छलफल हुने जनाएको छ । एनआरएनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘एनआरएनएको उद्देश्य विदेशी लगानी आकर्षित गर्ने र नेपाललाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउने पनि हो । समग्रमा यस ग्लोबल कन्क्लेभले नेपाल सरकार, गैरआवासीय नेपाली समुदाय र अन्य सरोकारवालाबीच सहकार्यको वातावरण सिर्जना गरिने अपेक्षा गरिएको छ ।’
सोही क्रममा कात्तिक १२ गते एनआरएनएको विधानअनुसार नियमित वार्षिक साधारणसभा आयोजना हुनेछ । एनआरएनएका ६० भन्दा बढी देशका प्रतिनिधिले प्रत्यक्ष र भर्चुअल माध्यमद्वारा सहभागिता जनाउनेछन् । साथै आर्थिक तथा वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । साधारणसभामा सहभागी हुन गैरआवासीय नेपाली संघका अधिकांश पदाधिकारी तथा साधारणसभा प्रतिनिधि काठमाडौं आइसक्नुभएको एनआरएनए महासचिव गौरीराज जोशीले जानकारी दिनुभएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts