
म्याग्दी । छ्याङ्गै खुलेको आकाश । उत्तरतिर चाँदी जस्तै टल्किरहेका हिमश्रृङ्खला । खेतबारीमा झुलीरहेका धान र कोदो । प्रकृतिमा फिजिएको शारदीय शोभा । यतिबेला म्याग्दीको मालिका गाउँपालिका वडा नं २ मा पर्ने रुम गाउँ चौपट्टै सुन्दर देखिएको छ ।
प्राकृतिक रुपले नै सुन्दर यस गाउँमा अहिले निकै चहलपहल छ । विगत सात दिनदेखि संचालन भएको र मंगलबार समापन भएको बडादसैं मेलामा छिमेकी गाउँका मानिसहरुदेखि लिएर गाउँ छोडेर नेपालका विभिन्न ठाउँमा गएका व्यक्तिहरु समेत आएका थिए ।
रुम गाउँमा विगत पाँच वर्षयता बसाइँसराइ गरेर अन्यत्र जानेहरुको संख्या बढ्दै गएपछि गाउँको महत्वलाई बुझाउन र अपनत्व भाव जगाउन स्थानीय युवाहरुको सक्रियतामा राष्ट्रिय कलाकारहरुलाई बोलाइ हरेक वर्ष वडादसैंको अवसरमा मेला आयोजना गरिदै आएको छ । यस वर्ष पनि स्थानीय लालीगुराँस युवा क्लवले बढ्दो बसाइँसराइलाई रोक्न र गाउँ छोडेर अन्यत्र गएकाहरुलाई गाउँमा नै बोलाइ गाउँप्रतिको अपनत्व जागृत गराउन मेला आयोजना गरेको हो ।
“गाउँ छोडेर बसाइँसराइ गर्नेहरुको संख्या बढ्न थालेपछि सुन्दर गाउँ उजाड बन्दै गएको छ” स्थानीय युवा योगेन्द्र हर्मेलले भन्नुभयो “गाउँमा रहेका हामी युवा साथीहरुले सल्लाहा गरी विगत तीन वर्षदेखि दसैंको लगत्तै बडादसैं मेला आयोजना गरेर गाउँ बाहिर रहेका रुमेलीहरुलाई गाउँमा बोलाउँछौं । गाउँको सम्भावना र महत्व बुझाउँछौं । राष्ट्रिय र स्थानीय कलाकारहरु मार्फत मनोरञ्जन गराउँछौँ । विभिन्न किसिमका खेलकुदको आयोजना गर्छौँ, गाउँ छोडेर जान लागेकाहरुलाई सकभर गाउँमै रोक्ने वातावरण बनाउँछौं ।”
मालिका गाउँपालिको केन्द्र दरबाङदेखि दक्षिण भागमा पर्ने रुम गाउँ जैविक, प्राकृतिक र खानीजन्य उत्पादनले सम्पन्न गाउँ हो । कुल २०.७४ वर्ग कि.मी मा फैलियको यस गाउँमा जम्मा तीनहजार,छ सय २६जनसंख्या रहेको छ । जसमध्य एकहजार,आठसय ४१ महिला र एकहजार,सातसय ८५ पुरुष रहेका छन् । यो वडा बागलुङ्ग जिल्ला संग जोडिएको छ । रुममा धान,मकै, कोदो, गहुँ जौँ, फापर आदि बाली हुने गर्दछ । चैत्र महिनामा रुममा रहेको दुरलेक डाँडाको दृृश्य निकै नै रमणिय हुन्छ ।
विगत पाँच वर्षमा रुम गाउँबाट ४८ घर परिवार बसाइँसराइ गरेर अन्यत्र गइसकेका मालिका गाउँपालिका वडा नं २ रुमका वडा सदस्य समेत रहनुभएका भक्तबहादुर पुनले बताउनुभयो ।
“पछिल्लो समय गाउँ छोडेर काठमाण्डौं,पोखरा,चितवन,बेनी,दरबाङ लगाएतका ठाउँमा बसाइँ सराइ गर्नेहरु बढेका छन् । बढ्दो बसाइँसराइलाई रोक्न र गाउँ छोडेर अन्यत्र गएकाहरुलाई केही समय गाउँमा नै फर्काएर गाउँप्रति अपनत्व विस्तार गर्न यस्ता मेला पर्वहरु सहयोगी भएका छन् ।”
लालीगुराँस युवा क्लवका अध्यक्ष सागर पटेलले मेला आयोजना गर्नुको मुख्य उद्धेश्य गाउँमा बढ्दै गएको बसाइँसराइ रोक्न नै रहेको बताउनुभयो ।
“गाउँमा ६० वर्षदेखि ९९ वर्षसम्मका बृद्धबृद्धाहरुको संख्या एकसय ३५ रहेको छ । अधिकांश महिला र विद्यालय उमेरका बालबालिकाहरु छन् । युवाहरुको संख्या अत्यन्तै न्यून रहेको छ । यस्तो अवस्थामा मेलापर्वहरु आयोजना गरेर केही समय भएपनि गाउँको रौनक बढाउने काम गरेका हौं” उहाँले भन्नुभयो ।
२०७८ सालमा गरिएको जनगणना अनुसार जिल्लामा जम्मा परिवार संख्या २८ हजार ८ सय ३० रहेकोमा कुल जनसंख्या १ लाख ७ हजार ३३ रहेको छ । २०६८ सालको जनगणनाअनुसार जिल्लाको कुल परिवार संख्या २७ हजार ७ सय ६२ रहेकोमा त्यतिबेला कुल जनसंख्या १ लाख १३ हजार ६ सय ४१ रहेको थियो । ०७८ सालको जनगणनाअनुसार परिवार संख्या बढेको भए पनि जनसंख्या भने घटेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच