काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले मुलुकको विकास र समृद्धिका लागि अनुशासित नागरिक बन्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।
अखिल नेपाल महिला सङ्घ काठमाडौँले आज यहाँ आयोजना गरेको ‘नारी सङ्कल्प’ विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले सामाजिक अराजकता विकास र समृद्धिको बाधक रहेको बताउनुभयो ।
समाजमा सांस्कृतिक मूल्य र मान्यताको विघटन तीव्र गतिमा भइरहेकाप्रति चिन्ता व्यक्त गर्नुहुँदै महासचिव पोखरेलले भन्नुभयो, “जातीय अतिवादले हाम्रो मौलिक संस्कृतिमाथि प्रहार गरिरहेको छ । हिजो मिलेर संस्कृति निर्माण गरेको समुदाय आज संस्कृतिलाई भागबण्डा लगाउने सङ्कीर्ण मान्यताको शिकार भएका छन् । जसले हाम्रो मौलिक धरातललाई कमजोर बनाइरहेको छ ।”
उहाँले धार्मिक अतिवादका नाममा हाम्रो सनातन संस्कृतिलाई कमजोर बनाउने काम भइरहेकाले नेपालको मौलिक संस्कृतिलाई संरक्षण र जर्गेना गर्नुुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
महासचिव पोखरेलले मुलुकलाई स्थायित्वको दिशातिर लैजान र अर्थतन्त्र बिग्रदा हतोत्साहित र निराश भएका उद्योगी व्यवसायीलाई उत्साहित बनाई समग्र अवस्था सुधार्न संसदका दुई ठूला पार्टी मिलेर सरकार बनाइएको धारणा राख्नुभयो । “लोकतन्त्रमा दुई वटा ठूला पार्टी मिलेर सरकार बनाउने कुरा सामान्यता अस्वाभाविक मानिन्छ तर मुलुकमा जुन खालको परिस्थिति उत्पन्न भएको छ”, उहाँले अगाडि भन्नुभयो,“त्यो परिस्थितिलाई सामना गर्न र मुलुकलाई स्थायित्व प्रदान गर्नका लागि संवैधानिक कानुनी र संरचनागत सुधारको नेतृत्वका लागि दुई पार्टी मिलेर जानुपर्दछ भन्ने मान्यताका आधारमा हामी अगाडि बढ्ने प्रयत्न गरिरहेका छौँ ।”
महासचिव पोखरेलले पार्टीलाई निर्णायक शक्ति बनाउनका लागि महिलाको भूमिका थप सशक्त बनाउन आवश्यकता रहेको धारणा राख्नुभयो । महिलाको सहभागिता राजनीतिमा ३३ प्रतिशतभन्दा माथि जान नसकेकाले सुधारका लागि पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
सङ्घका अध्यक्ष टुका हमाललगायतले आफ्नो धारणा राख्नुभएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts