काठमाडौं । सहकारी क्षेत्रका समस्याहरूको समाधान र नीतिगत सुधारका लागि राष्ट्रिय सहकारी महासंघले कात्तिक ११ र १२ गते ललितपुरमा सहकारी सवालसम्बन्धी नीति संवाद कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रमको मुख्य उद्देश्य सहकारी क्षेत्रको हालको नीतिगत र कानुनी अवस्थाको समीक्षा गर्दै सहकारीलाई देशको अर्थतन्त्रको महत्वपूर्ण खम्बा बनाउन आवश्यक सुधार पहिचान गर्नु रहेको महासंघले जनाएको छ । नेपाल राष्ट्र बैंकको कर्जा सूचना केन्द्र र विद्यमान निक्षेप तथा कर्जा सुरक्षण कोषमा सहकारीलाई समावेश गर्ने तथा सहकारीको नियमन र सुपरीवेक्षण निकाय (एसटिआई) गठनसम्बन्धी विषयमा भएको सहमति अघि बढाउन संवाद अपरिहार्य रहेको महासंघको भनाइ छ ।
महासंघका अनुसार वर्तमान समयमा बचतकर्ता सदस्यको आन्दोलन, ठगी घटनामा उच्चपदस्थ व्यक्तिको संलग्नता, ऋण असुलीको समस्या र बचत रकमको दुरूपयोगका घटना बाहिर आएका छन् । उल्लेखित विषयमात्र उजागर हुँदा सहकारी अभियानले सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा पुर्याएको योगदानको उपेक्षा भएको छ ।
कार्यक्रमको मुख्य उद्देश्य सहकारी क्षेत्रको हालको नीतिगत र कानुनी अवस्थाको समीक्षा गर्दै सहकारीलाई देशको अर्थतन्त्रको महत्वपूर्ण खम्बा बनाउन आवश्यक सुधार पहिचान गर्नु रहेको आयोजकले जनाएको छ ।
कार्यक्रममा संघ, प्रदेश र स्थानीय तहका प्रतिनिधि, सहकारी अभियन्ता, नियामक निकाय, नेपाल राष्ट्र बैंकका प्रतिनिधि, राजनीतिक दलका नेता र सातै प्रदेशका सहकारीकर्मीको सहभागिता रहनेछ । छलफलका प्रमुख विषयमा सहकारी ऐन र नियमावली संशोधन, स्वनियमन र सुशासनमा सुधार, सहकारीको तहगत संरचना, कोप भिजन २०३०, सहकारीमा वित्तीय र व्यवस्थापकीय सवाल र सम्बोधन रहेका छन् ।
हालै सार्वजनिक भएको सहकारी संस्था बचत रकम दुरूपयोगसम्बन्धी संसदीय विशेष छानबिन प्रतिवेदनमा सहकारी क्षेत्रको नियमनलाई थप प्रभावकारी बनाउन निर्देशन दिइएको छ, जसलाई नीति संवादमा गहन छलफल गरिनेछ । उक्त संवादले सहकारीको दिगोपना र पारदर्शिताका लागि ठोस नीतिगत उपाय पहिचान गर्नेछ भन्ने आयोजकको अपेक्षा रहेको छ ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सम्बोधन गर्नुहुनेछ । विशेष सम्बोधन सहकारी बचत दुरूपयोगसम्बन्धी संसदीय छानबिन समितिका सभापति सूर्य थापाका साथै प्रमुख वक्ता पूर्वअर्थसचिव रामेश्वर खनाल रहनुहुने महासंघ अध्यक्ष ओमदेवी मल्लले बताउनुभएको छ ।






