काठमाडौं । कास्की प्रहरीले सहकारी ठगी र संगठित अपराधको अनुसन्धानका लागि प्रहरी हिरासतमा रहनु भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धान अगाडि बढाउने भएको छ ।
समाचार श्रोतका अनुसार गोरखा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक हुँदा सहकारीको रकम अपचलन गरेको अभियोग रविमाथि रहेको र त्यससँगै राजनीतिमा प्रवेश गर्नु अघिदेखि हालसम्म जोडेको सम्पत्ति र लामिछानेको परिवारको चल–अचल सम्पत्ति सम्बन्धमा छानबिन हुने भएको हो ।
सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ लाई संशोधन गरी प्रहरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान र अभियोजन गर्न पाउने अधिकार प्रत्यायोजन भइसकेको अवस्थामा लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धान गर्न प्रहरीलाई बाटो खुलेको छ ।
गोरखा मिडियाका तत्कालीन अध्यक्ष जीबी राईको निर्देशन र सञ्चालक छविलाल जोशी बञ्जाडेको मध्यस्थता देखिएकाले प्रहरीले संगठित अपराधमा समेत अनुसन्धान गरिरहेको छ ।
यसैबीच आज म्याद थपका लागि रास्वपा सभापति लामिछानेलाई कास्की जिल्ला अदालत लगिएको थियो ।
सभापति लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजालसले सभापति लामिछानेलाई थप सात दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न आज अनुमति दिएको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुभयो ।
यही कात्तिक २ गते पक्राउ पर्नुभएका पूर्व उपप्रधान एवं गृहमन्त्री लामिछानेमाथि यसअघि छ दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको अवस्थामा पुनः म्याद थप भएको छ ।
यसैगरी सहकारीको बचत रकम अपचलनकै आरोपमा गत असोज ६ गते पक्राउ पर्नुभएका पूर्वप्रहरी नायब महानिरीक्षक छविलाल जोशीलाई थप सात दिन हिरासतमा राखी अनुसन्धान गर्न अदालतले अनुमति दिएको सूचना अधिकारी अधिकारीले जानकारी दिनुभयो ।







Breaking news with related posts