हविर्विना रविर्यात
म जनकपुरमा पढ्दा नव्यव्याकरण पढाउने एकजना गुरु थिए सूर्यकान्त झा । उनी जाडाका बेलाँ घामतिर पिठिउँ फर्काएर रमाइला गफ गर्दै ‘वैयाकरण सिद्धान्त कौमुदी’ र ‘तर्कसङ्ग्रह’ हामीलाई पढाउँथे । अर्का गुरु थिए माधव गौतम । माधव गौतम चाहिँ बोधपरक कथा सुनाएर विद्यार्थीको ध्यान पढाइतिर तानेर पढाउन थाल्थे । सूर्यकान्त गुरु संस्कृतका धुरन्धर विद्वान् भए पनि धेरै वर्ष सरकारी माध्यमिक विद्यालयमा नेपाली संस्कृत पढाएर बसेका हुनाले व्याकरणका साधनि, प्रयोग र दर्शनमा विस्मृति आएको जस्तो बुझ्थेँ म । रौं रौंमा पाणिनि व्याकरण झुण्डिएको छ भनेर नाम कमाएका गुरु श्रीपाल झा याज्ञवल्क्य महाविद्यालय मटिहानीमा रहेको लक्ष्मीनारायण महाविद्यालयमा गाभिन पुगेपछि उनी मटिहानी गएका थिए ।
उनी गएको निकै दिनपछि हड्ताल अनसन गरेर हामीले यी दुईजना गुरु पाएका थियौं । माधव गौतम माध्यमिक विद्यालयका सबै विषय राम्ररी पढाउने हुनाले उनलाई सबैतिर स्वागत हुन्थ्यो । म्याथ र विज्ञान पनि पढाउने संस्कृत नव्य न्यायका विद्वान् थिए माधव गौतम । त्रिभुवन विश्वविद्यालयका भौतिक शास्त्रका सुप्रसिद्ध प्राध्यापक वसन्त गौतमका पिता थिए माधव गौतम । हामीलाई अंकगणित पढाउने गुरु थिए शम्भु पोखरेल । म सिनेमा हेर्दिन थेँ । सिनेमा हेर्नेहरू उहाँलाई विनोद खन्ना भन्थे । म हिसाब नजान्ने भएको हुनाले उनको हिसाबको ज्ञान र गहिराइ मलाई थाह भएन । स्थानीय रा.रा.ब.क्याम्पसबाट गणित तथा तथ्यांकशास्त्रमा स्नातक गरेर हामीलाई पढाउन आएका थिए ।
शम्भु पोखरेल गुरु पनि कहिलेकहिँ रमाइला कथा चाहिँ सुनाउँथे । अहिले मैले त्यस बेलाको कुरो किन सम्झेँ भने अहिले नेपाल चलाउने ओली, शेरबहादुर, प्रचण्ड तथा रवि नामका व्यक्तिहरूसँग प्रवृत्तिक सामीप्य राख्ने एउटा कथा त्यस बेला सूर्यकान्त झा गुरुले सुनाउनुभएको थियो ।
उनी पनि कहिलेकहिँ रमाइला कथा चाहिँ सुनाउँथे । अहिले मैले त्यस बेलाको कुरो किन सम्झेँ भने अहिले नेपाल चलाउने ओली, शेरबहादुर, प्रचण्ड तथा रवि नामका व्यक्तिहरूसँग प्रवृत्तिक सामीप्य राख्ने एउटा कथा त्यस बेला सूर्यकान्त झा गुरुले सुनाउनुभएको थियो । हुन त व्याकरणमा जम्मा हामी चारजना मात्रै विद्यार्थी थियौँ । अरू साथीहरू पढाइतिर भन्दा अरू नै कुरामा नै बढी ध्यान दिन्थे । म थिएँ पण्डितपुत्र धनसम्पत्ति नभएको तर शास्त्रज्ञानमा रुचि जागेका पिताको पुत्र । मैले नपढे धनसम्पत्ति नभएका बाबुका कारणले मेरा लागि मुख, मुखिया पिठिउँ भरिया, बनाउनुपर्ने हुनसक्थ्यो ।
अतः एक दिन मेरो इच्छाविपरीत सूर्यकान्त गुरुले एउटा कथा भन्नुभयो । नेपाल नामक एउटा घरका बुढाका चारजाना छोरा रहेछन् । बुढा विद्वान्, विवेकी र असल नियतका भए पनि छोरा चाहिँ बिग्रनसम्म बिग्रेका स्वाँठ, लम्पट, बेकुब, स्वार्थी डाका र परस्त्रीगामी स्त्रैण पनि रहेछन् । विवेक विचार पटक्क नभएका रहेछन् चारै जना । यस्तै भए पनि बुढाले जेठो छोरो रविको बिहा गरिदिने विचार गरेर कुल घरानियाँकी छोरी मागेछन् । धुमधामसँग बिहा भएछ । नयाँ जेठी बुहारी घरमा आएर काम सम्हाल्न लागेको चार छ महिनामा सासु परम धाम गइछन् । परिवर्तिनी संसारे मृत को वानजायते ?
घरकी मूल मान्छे बितेपछि त्यो घर यसै पनि कसैका अनुशासनमा नबस्ने ती धन्नुकारी जस्ता चारजाना दाजुभाइ अब त झनै डामेर छाडेको सँँढेजस्ता भएछन् । बिहानको भान्सा बेलुका घाम अस्ताउने बेलामा पनि उठ्न छाडेछ । न लोग्नेले टेर्ने न त देवरले वाक्क भएकी त्यो घरकी बुहारी कहिलेकाहिँ त तुलसाका मठनेर भित्तामा आड लागेर धितमरुन्जेल रुँदिरहिछ । ‘छोरीको जन्म हारेको कर्म अर्काको भित्तो पोत्न लाउने पर्म” भनेको यही रहेछ भनेर चित्त बुझाएकी रहिछन् । बुहारीले मेरा छोरालाई दुःख दिई भनेर ससुराले चित्त दुःखाउलान् भनेर उनले सधाउने उपाय सोचेर पनि हिम्मत गरेकी रहिनछिन् । बुढी बितेको वर्ष दिनको वार्षिक श्राद्ध गरेका केही दिनमा नै बुढा परमधाम गएछन् ।
बुढाको काजक्रिया त लाजगाल गरेछन् तर मासिक पनि नगर्ने कपडा पनि फुकाउने, खानपानमा पनि कुनै प्रकारको बन्देज राखेनछन् ।
बुहारीका मनमा पनि अब बेला यही हो भनेर एक दिन भात खान पहिला रविलाल आएछ । रविलाई घ्यू दिइनछे । घ्यू खोइ ? भनेर सोद्धा बल्दै गरेको अगुल्टो देखाएर खोइ हेरौं घ्यू खाने मुख भनिछ । डरले रवि केही नबोलीकन कछाड कस्दै कुदेछ । एक छिनपछि केशवलाल आएछ । उसलाई पीरा नओच्छ्याईकन भुइँमा राखेर भात पस्किछ । केशवले पिरा खोज्दा कुकुरका भुत्ला अलिकति जम्मा गरेर राखेकी रहिछ त्यो ल्याएर फ्यात्त फालिदिइछ । डरका मारे त्यो पनि खाली भुइँमा नै बसेर चुपचाप भात खाएर चुठेर हिँडेछ । केशव हिँडेको केही क्षणपछि तथोथुरलाल आएछ ।
ऊ एक मानु चामलको भात खाने मान्छे पाँच मुठी चामलको भात पस्केर थप्न माग्दा आगामा गाडेर आगो जस्तै बनाएर राखेको पुनिउँ देखाइछ डरका मारे थोथुर आधा पेटमात्रै खाएर टाप कसेछ केही नबोली । थोथुर गएको केही समयपछि धोधर आएछ र भात मागेछ । अनि भाउजूले पनि कमाइ न धमाइ खा रमाई रमाई भनेर गलहत्ती लाएर पुट्ठामा लात्तले हानेर भगाइछ । आँगनमा आइपुग्ना साथ मजाले देखिने गरी तलको श्लोक लेखेर राखिछ-
हविर्विना रविर्यात विना पृष्ठेन केशवः ।
अद्र्धपेट थोर्थुयात गलहस्तेन धोधरः ।।
आँगनका पल्ला छेउबाटै देखिने त्यो श्लोक पढेपछि चारै भाइ कमाइबेगर घर नफर्कने प्रतिज्ञा गरेर हिँडेका थिए तर कोरोनाका घानमा परेर परमधाम भएछन् । दोस्रो जुनीमा दुई चार वर्षदेखि दसबीस वर्षकै अन्तर हुनेगरी तिनको पुनर्जन्म पनि नेपाल नामक घरमा नै भएछ । चारै भाइ आ-आफ्नै प्रकारको कमाइमा लागेर पनि घरको अंशका निमित्त भने तिनीहरू कर्म कुकर्म जे पनि गर्ने बहादुर भएर जन्मेका हुनाले नेपाल नामका घरको नाम नै परिवर्तन गरेर भ्रष्टपाल बनाएछन् । जेठाको नाम हविलाल भएको हुनाले यो जुनीमा पनि उष्मकर्मी भएर जन्मेछ र जन्मनक्षत्र अनुसारको नाम पनि ‘श’ अक्षरबाट उठेछ ।
शषसहा उष्माण भनिएको हुनाले शेरले आरम्भ गरेको देशका ढिकुटीको ऐराखेल खेल्न केशव अर्थात् केपीले पनि सिकेछ । यी दुईटा एक आपसमा कहिले भिडेर त कहिले मिलेर घरमा ऐरा खेल्दै थिए कि वनमा नै संगठित भएर घरै कप्लक्क निलौला जस्तो गरी सुरसाको भन्दा ठूलो मुख बाएर प्रचण्डप्रतापाग्निले सुसज्जित थोथुर अर्थात् थेत्तर बाहुन भए पनि गाई गोरु जे पनि खाने मान्छे मारेर पनि जेल सजाय भोग्नुनपर्ने प्रतापी भएर आएछ दोस्रा जुनीमा । यसले उधुम मच्चाएर घरको परम्परागत बहुदलीय मूल्यमान्यता र चालचलनलाई बहुलाहादलका चालचलन र मूल्यमान्यतामा परिणत गराएछ । प्रजातन्त्रमा जनतादेखि सरकार डराउने प्रथालाई सरकारदेखि जनता डरले लुग्लुगी काम्ने परिपाटीमा बदल्न लाएछ ।
कंसका अगाडि शिशुपाल, कालयवन, जरासन्ध आदि थुरथुर भएजस्तै शेरखडग सबै उसका ताबेदार बनेर उसले देखाएको चटक र दिनैपिच्छेको नौटंकीबाट मनोरञ्जन गरी उसले जे जे गरे पनि जीहजुर जीहजुर गरेर बस्न लागेछन् । जसरी सानैमा भेडीको दुध खाएर भेडाका बथानमा हुर्केको बाघको डमरु पनि वयस्क हुँदासमेत घाँस खान र भ्या भ्या गर्न सिक्थ्यो रे । यी तीन वटा मूल फटाहाका अगाडि कसैको केही चलेको थिएन माकुने न झलनाथ, भट्टराई न यमी, सबैको होस गुम गराएर मदारीले वानर नचाए झैँ नेपाली ढिँडे जनता नचाउन लोदर लाग्ने चरित्रको धोधर चाहिँ छिनमा अमेरिका त छिनमा सञ्चार जगत् फेरि छिनैमा नारी मनमोहनकारी छविको रवि बनेर जन्मेछ त्यही ‘भ्रष्टपाल’ नामक घरमा ।
जसले एकाधिक विदेश जाने अनुमतिपत्र बनाउनेदेखि दुई-चारवटा नक्कली नागरिकता प्रमाणपत्र पनि धारण गरेको अदालतले नै पुष्टि गर्दा पनि गिदीबोसे भेडाभेडीले उसैका चरण पूजेको पनि देखियो । सहकारीमा संलग्न गरिबको रगत चुस्न जानेका दिनदेखि क्रसर उद्योगलाई खुला गरेर दुईपटक गृहमन्त्री बनेर देश र जनतालाई सयौं वर्षमा निरन्तर भर्ने प्रयत्न गर्दा पनि क्षतिपूर्ति गर्न नसकिने खत बनाएर छ्याँके बनायो । गाउँमा यिनै महिषासुरको पूजा गर्ने बुद्धि हाम्रा राष्ट्रदेव पशुपतिनाथले पनि पशुकै बुद्धि वितरण गर्न लागे कि क्या हो ? घरकै नाम भ्रष्ट पालक भएपछि गृहसदस्यले भ्रष्टाचारलाई नै शिष्टाचार मानेपछि अरू मूल्य किन चाहिएला र होइन त ।
यो देश इमानदार, सोझा, सरल, जनताको देश हो । उपर्युक्त चरित्रका उपमानको देश थिएन । हाम्रै चिन्तनविना होहोमा लाग्ने भेडेप्रवृत्तिका कारणले यस्तो अवस्था आएको हो । अतः रवि, केशव, थोथुर तथा धोधर जस्ता मानवभक्षी राक्षस चरित्रबाट देश र जनता बचाउनतिर लागौं ।
त्यसै भएको हुनाले लाजै नमानीकन आलो, बाफ आउँदैगरेको फोहोर लागेको धनका बिटामा खड्ग ओलीले दारा धसेको सबै नेपालीले देखे पनि त होला होइन र ? जय होस् अनैतिकताको । असोज एघार बार गते देशका ठाउँ ठाउँमा गएको बाढी पहिराको एकमात्र कारण डोजरे विकासको अनुमति हो । भएभरका पहाड खनेर शताब्दीयौंदेखि कस्सिएर रहेरका बोटबिरुवा, ढुंगामाटालाई चलाएपछि वर्षाद् र खडेरी कसरी सहन्छ पृथिवीले ?
अर्कातिर यो देश चलाउन भनेर आएका देशद्रोही आजभन्दा पहिलेदेखि आजसम्मकै सरकारमा संलग्न भष्मासुर जसले खोलाका किनारा मिचेर आफ्ना भोटर राख्ने र मान्छेलाई बस्ने ठाउँ नदिएर खोलालाई ठाउँ छाड्नु आवश्यक छैन भन्ने भ्रम सृजना गरेर देशका विभिन्न ठाउँका मान्छे ल्याएर खोला किनारमा खोलाको जमानादेखिको बहाव क्षेत्रमा घर बनाउने अनुमति दिएर राल्यो त्यो नीति र त्यसलाई प्रश्रय दिने सबै अपराधी हुन् । यो देशका कसैमा विवेक छ भने आरम्भदेखिकै सरकार तथा तिनका नीतिलाई जिम्मेवार बनाएर दण्डित गर्नुपर्छ । जर्मनीका छातीमा ठड्याएको पर्खाल ७५ वर्षपछि ढाल्न मिल्छ भने ७५ रै वर्षपछि लेलिनगार्दबाट लेलिनको सालिकलाई उखेलेर दण्ड दिन मिल्छ भने हाम्रा देशका गिद्धलाई ठ्याक खुवाउन किन नमिल्ने ?
पशुलाई तालिम दिएर मानवको सहयोगी बनाउन सकिन्छ तर अभिमानग्रस्त राक्षस सुध्रेको उदाहरण पुराणहरूमा पनि कतै भेटिँदैन । जनताका गिदीमा अलिकति भने पनि गिदी नामको चिज छ भने अब यी देशद्रोही पद, पैसा र गु्रपका भक्तको उछित्तो काडौं अनिमात्र देश र जनताको सुखसुविधाका लागि माटोभक्तिले दिल भरिएको बालेन जस्ता मान्छे देश चलाउन आउनेछन् । देश र जनतालाई सुखी समृद्धिशाली बनाउन असल चरित्र र चिन्तन भएको नेतृत्व आवश्यक हुँदोरहेछ पार्टी या समूह होइनरहेछ भन्ने बोध भयो होला होइन ?
चाहे पशुले झैँ पेटलाई र पेटमुनिका समस्यालाई मात्र प्राथमिकता दिने दर्शनको सरकार भए पनि नेतृत्व असल चरित्र र सद्विचारको भए देश बन्दोरहेछ भन्ने कुरो सिंगापुर, दक्षिण कोरियाका उदाहरणबाट पनि सिकेर हविर्विनाका रवि, विना पीराका केशव, आधा पेट खाएर भाग्ने थोथुर अनि भाउजूको गलहत्ती खाएर लात्तेभकुण्डो बन्दा पनि लाज नलाग्ने, जति गरे पनि सुधार तथा विवेक नपलाउने धोधर जस्ता नालायकलाई बिदा गरौं । यो देश इमानदार, सोझा, सरल, जनताको देश हो । उपर्युक्त चरित्रका उपमानको देश थिएन । हाम्रै चिन्तनविना होहोमा लाग्ने भेडेप्रवृत्तिका कारणले यस्तो अवस्था आएको हो । अतः रवि, केशव, थोथुर तथा धोधर जस्ता मानवभक्षी राक्षस चरित्रबाट देश र जनता बचाउनतिर लागौं ।...सुविचार्य यत्क्रितं सुदीर्घकालेपि नयाति विक्रियाम् ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा