काठमाडौँ । भारतको विमान सेवा कम्पनी भिस्तारा एयरको विमानमा बम राखेको हल्ला फैलिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले नेपाली सेनाले त्यससम्बन्धी अनुसन्धान गरिरहेको छ ।
भारतको नयाँदिल्लीबाट काठमाडौँस्थित विमानस्थलमा अवतरण गरेको भिस्ताराको विमानमा बम राखेको हल्लापछि सेनाको डिस्पोजल टोलीले खोजी कार्य जारी राखेको हो ।
नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीका अनुसार भिस्तारा एयरको विमानमा बम राखेको हल्लापछि नेपाली सेनाको विस्पोटक पदार्थ निस्किृय गर्ने विशेष टोलीले खानतलासी गरिरहेको छ । यात्रुलाई सुरक्षित गरेर खानतलासी भइरहेको र अहिलेसम्म कुनै त्यस्तो वस्तु फेला नपरेको उहाँले बताउनुभयो ।
भिस्ताराको उडान नम्बर ‘यूके १५५’ भएको उक्त विमानमा बम राखेको फोन दिल्लीबाटै आएको सूचनाका आधारमा अनुसन्धान भइरहेको जनाइएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले बम भएको हल्ला भएपछि भिस्ताराको विमानको खानतलासी भइरहेको र अहिलेसम्म कुनैपनि शङ्कास्पद वस्तु फेला नपरेको जानकारी दिनुभयो ।
उहाँका अनुसार अहिले विमानका यात्रुको ‘ह्याण्ड ब्यागेज’ चेक भइसकेको छ । लगेज र कार्गोको चेक गरिनेछ ।
अहिले काठमाडौँ विमानस्थलको उडान–अवतरण भने नरोकिएको सूचना अधिकारी भूलले बताउनुभयो ।
उहाँले भन्नुभयो, “काठमाडौँ विमानस्थलको उडान नियमित रुपमै सञ्चालन भइरहेको छ, बमको हल्ला रहेको भिस्ताराको विमान नजिक अन्य विमानलाई पार्किङ गर्न दिइएको छैन ।”







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts