
काठमाडौं ।
घटना-१
काठमाडौंको सीतापाइलास्थित सेरसको सर्भिस सेन्टरमा राखिएको विद्युतीय कारमा आगलागी भएको छ । सेरेस ब्राण्डको पार्किङमा राखिएको विद्युतीय कारमा सोमबार बिहान करिब ६ बजे आगलागी भएको हो । सीतापाइला प्रहरीका अनुसार बागमती प्रदेश ०१-०२९ च ५९५० नम्बरको सेरेस थ्री इभीको कारमा आगो लागेको हो । गाडीमा एक्कासि आगो लाग्दा गाडीको अधिकांश भागमा क्षति पुगेको प्रहरीले जनाएको छ । आगलागीबाट कार भने पूर्ण रूपमा क्षति भएको छ । कारमा मानिस नभएका कारण कुनै मानवीय क्षति भने हुन पाएको छैन । कारको विभिन्न भागबाट एकैपटक धुँवा निस्केको थियो ।
गाडीमा भएको प्राविधिक कमजोरीले तार सर्ट भई आगो लागेको हुनसक्ने आशंका गरिएको छ । कारमा लागेको आगो दमकलको सहायताले निभाइएको थियो । तर, कम्पनीको दाबी भने फरक छ । अनाधिकृत ठाउँमा मर्मत गरेका कारण आगलागी भएको कम्पनीले दाबी गरेको छ । कम्पनीको दाबीले उपभोक्ताका कारण कारमा आगलागी भएको देखाउन खोजिएको देखिन्छ । यसले कम्पनीले आगलागीको जिम्मेवारी नलिने संकेत गरेको छ । जसले लाखौँमा किनेको कार आगलागी हुँदासमेत उपभोक्ताले क्षतिपूर्ति नपाउने आशंका बढेको छ ।
घटना-२
बूढानीलकण्ठमा चार्जिङमा राखेको गाडीमा आगलागी
गत वर्षको पुसमा पनि एउटा विद्युतीय कारमा आगलागी भएको थियो । काठमाडौंको बूढानीलकण्ठमा चार्जिङमा राखिरहेको बागमती प्रदेश ०१-०२७ च १५८१ नम्बरको विद्युतीय गाडीमा आगलागी भएको थियो । गत ९ पुसमा सुदीप लामिछानेको एमजी गाडीमा रातको १ बजे आगलागी भएको थियो । चार्जमा हालेको अवस्थामा आगलागी भएको भन्दै गाडी धनीले फोन गरेर बोलाएपछि प्रहरी घटनास्थल पुगेर आगो निभाएको थियो । आगलागीबाट विद्युतीय सवारीको चारवटै टायर बलेका थिए । तर, कम्पनीले भने फरक दाबी गरेको थियो । नेपालका लागि एमजी गाडीको आधिकारिक आयातकर्ता पारामाउन्ट मोटर्सले भने बूढानीलकण्ठमा गाडी आगलागी बिजुलीको तार सर्ट हुँदा भएको बताएको थियो ।
घटना-३
गत असारमा पनि अर्को विद्युतीय कार दुर्घटना भएको थियो । जुन केही हदसम्म गुपचुप नै राख्न खोजिएको थियो । तर, जति खोजे पनि केही सञ्चार माध्यममा यसबारे समाचार प्रकाशित भएका थिए । प्रकाशित समाचारअनुसार असार १८ गते निकै संवेदनशील मानिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिआइपी क्षेत्रको पार्किङमा उक्त कार दुर्घटना भएको थियो । पूर्वरक्षामन्त्री तथा नेपाली कांग्रेसका नेता भीमसेन दास प्रधानको परिवार चढेको एमजी ब्राण्डको विद्युतीय कार स्टार्ट गर्नेबित्तिकै एक्कासि हुत्तिएर दुर्घटनामा परेको थियो । गाडी विमानस्थलको अराइभल तर्फको पार्किङमा दुर्घटनामा परेको थियो । चिनियाँ ब्राण्ड एमजीको जेडएस भेरियन्टको बागमती प्रदेश ०१–०२७–च–१५९० नम्बरको उक्त गाडी पार्किङबाट निकाल्ने क्रममा एक्कासि अनियन्त्रित भएर दुर्घटनामा परेको थियो । उक्त गाडी पार्किङबाट निकाल्न लाग्दा अचानक नियन्त्रणविहीन हुँदै दुर्घटनामा परेको थियो ।
विद्युतीय सवारीको भविष्यका लागि चेतावनी
माथि उल्लेखित तीन प्रतिनिधि दुर्घटना मात्रै हुन् । सवारीसाधन जुनसुकै भए पनि दुर्घटनाको जोखिम जहिले रहन्छ । तर, विद्युतीय सवारीमा अझै बढी जोखिम देखिएको छ । आगलागीसँगै ब्याट्री पड्किनेलगायत समस्या देखिने गरेका छन् । यसैगरी, विद्युतीय ब्राण्डको गाडीमा ब्याट्रीसँगै ब्रेक, रेञ्ज, पिकअप र स्टेरिङमा समस्या देखिँदै आएको छ । विद्युतीय सवारीसाधनहरूमा आगलागीका घटनाहरू साधारणतया ब्याट्रीमा भएका समस्या वा पावर सप्लाई प्रणालीको कारणले हुने गर्छन् । तर, यस घटनामा प्रमुख खराबी सर्ट सर्किट रहेको प्रारम्भिक निष्कर्षमा जोड दिइएको छ ।
नेपालमा विद्युतीय सवारीहरू लोकप्रिय बन्दै जाँदा मर्मत र सेवा व्यवस्थापनको उचित संरचना अभावमा यस्ता जोखिम बढ्दै गएको देखिन्छ । सेरेस थ्री इभीमा भएको आगलागीको यो घटना नेपालमा विद्युतीय सवारीसाधनको भविष्यका लागि चेतावनीको रूपमा लिन सकिन्छ । प्राविधिक मापदण्डको पालना र जिम्मेवार मर्मत व्यवस्थापन नभएमा यस्ता घटनाहरू पुनः दोहोरिन सक्छन् ।
सामान्य परीक्षण भएकै आधारमा सञ्चालन
अर्को कुरा यातायात व्यवस्था विभागले उचित मापदण्ड बनाउन नसक्दा विद्युतीय सवारीसाधन सामान्य परीक्षण भएकै आधारमा सञ्चालनमा आउने गरेका छन् । विभागले, विद्युतीय सवारीको अवस्था तथा चेक जाँचको निश्चित निर्देशिका नबनाउँदा उक्त अवस्था निम्तिएको हो । सवारी परीक्षणको जिम्मेवारी पाएको टेकुस्थित सवारी परीक्षण केन्द्रले विभागलाई निर्देशिका निर्माणको लागि पटक–पटक ताकेता गरेको जनाएको छ । विद्युतीय सवारीको ब्याट्रीको अवस्था, क्षमता, पार्टपुर्जाको परीक्षण, ब्याट्रीको रेञ्ज, पांग्राको गुणस्तर, चार्जिङ पावर लगायतको परीक्षण गर्ने मापदण्ड नै बनेको छैन ।
व्यापारीका कारण महँगीको मार
भारतसहित विश्वका विभिन्न मुलुकहरूमा सवारी साधनको मूल्य निकै सस्तो छ । तर, नेपालमा भने दोब्बर महँगो छ । विद्युतीयसहित सबै प्रकारका सवारी महँगो हुनुमा सरकारी नीति र व्यापारीले खाने अधिक नाफा प्रमुख कारण हो । विदेशबाट आएका सवारीमा सरकारले नै शतप्रतिशतसम्म कर थोपर्छ । त्यसैमाथि व्यापारीले खाने अधिक नाफाले सवारीको मूल्य झनै बढ्ने गर्छ । हालै सम्पन्न ‘नाडा अटो सो २०२४’ मा पनि विद्युतीय गाडीको वर्चस्व देखिएको थियो । त्यसमध्ये पनि धेरै विद्युतीय सवारी चीनबाट आउँछन् । चीनबाट नेपालसम्म गाडी ल्याउन मूल्य अभिवृद्धि कर, ढुवानीलगायत सबै शुल्क जोड्दा अधिकतम ३० प्रतिशत रकम जोडिन सक्छ । डिलरवालाले कानुनअनुसार नाफा लिन पाइने जम्मा २० प्रतिशत मात्रै हो । तर, अधिकांश नेपाली डिलरले मनलाग्दी शुल्क असुल्ने गरेका छन् । सरकारले विद्युतीय गाडीको आयातमा भन्सार छुटको व्यवस्था गरेको भए पनि पेट्रोल डिजेल गाडीभन्दा सस्तो हुनुपर्नेमा डिलरवालाहरूले भने चर्को मूल्यमा नेपाली ग्राहकलाई विद्युतीय गाडी बेचिरहेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच