काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले आफ्नै बुद्धि कमजोर भएकाले एमालेबाट बाहिर बस्नुपरेको बताउनुभएको छ । सोमबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा गौतमले एमालेका लागि आफूले धेरै योगदान दिए पनि आफ्नै बुद्धि कमजोर भएकाले एमालेबाट बाहिर बस्नुपरेको बताउनुभएको हो । उहाँले नेकपा एमाले निर्माणमा ७५ प्रतिशत आफ्नो भूमिका रहेको उल्लेख गर्नुभयोे । गौतमले एमाले निर्माणदेखि देशका लागि लामो समय काम गरेको अनुभव र अध्ययनका आधारमा प्राकृतिक प्रकोपको जोखिमबारे राष्ट्रिय सभामा बोल्दा पनि सरकारले गम्भीरता नलिएकाले अहिले धेरै क्षति भएको जिकिर गर्नुभयोे ।
उहाँले पहिरोमा परी त्रिशूलीमा दुईवटा बस बगाएपछि आफूले राष्ट्रिय सभामा त्यसपछिको दुई महिनामा सडक बन्द गर्न सुझाव दिए पनि सरकारले त्यसलाई नसुनेको बताउनुभयो । विश्वका क्षमतावान विज्ञहरूलाई बोलाएर पहिरोका बारेमा पूर्णमूल्यांकन र पहिरो रोकथाम गर्न आफूले यसअघि नै सुझाव दिएको उहाँले बताउनुभयो । तर, आफ्नो सुझावलाई सरकारले गम्भीरतापूर्वक नलिएको उहाँको गुनासो छ ।
उहाँले आफूले पर्याप्त अध्ययन गरेर नै बाढीपहिरोका बारेमा बोलेको उल्लेख गर्नुभयो । ‘मैले अध्ययन गरेर भनेको छु । मैले त्यसबेला फेरि अर्को जाँदै छ भनेर भनेको मैले अध्ययन गरेँ बारम्बार । मैले नेपालको भौगर्भिक अवस्थाको सम्बन्धमा चुनौती दिन्छु, मैले अध्ययन गरेको छु । संसारको सबभन्दा कान्छो जमिन, कान्छो पहाड योभन्दा कान्छो कुनै प्राकृतिक संरचना छैन । थोरै मात्रै भूकम्प गयो भने प्रलय हुन्छ,’ उहाँले भन्नुभयोे । त्यस्तै, गौतमले सहकारीका कारण भ्रष्टाचार व्याप्त देखिएकाले सहकारी दुरुपयोगमा संलग्नलाई निर्मम तवरले कारबाही गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले कुनै पार्टी वा व्यक्ति नहेरी सहकारी प्रकरणका दोषीलाई कारबाही गर्नुपर्ने बताउनुभयो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता