काठमाडौं । प्रगुन तिमल्सेना, काठमाडौंको छाउनीमा रहेको संस्कारी विद्यालय कक्षा ९ पढ्नुहुन्छ । उमेरले भर्खरै १४ पुग्नुभएका उहाँको क्षमता र आट कुनै परिपक्क व्यक्तिको भन्दा कम छैन् । विद्यालयमा पढ्दै गर्दा उहाँले नाटक, कक्षाको नेतृत्व समूह र विद्यालयमै हुने नमुना चुनावी अभियानमा समेत सहभागी हुनुभयो र उहाँ थप निखारिनुभयो ।
चारवटा हाउसमा विद्यालयमा हुने नमुना निर्वाचनबाट विजयी हुँदै उहाँ क्याप्टेन पनि बन्नुभयो । यसरी उहाँमा बोल्ने कलाको विकास हुँदै जाने क्रममा उहाँले थुप्रै बक्तृत्वकला भाग लिनुभयो । यसका साथै खेलकुद प्रतियोगितामा पनि भाग लिने अवसर प्राप्त गर्नुभयोे । सानै उमेरमा विद्यालय तहमा आयोजना हुने फुटबल र भलिवल प्रतियोगिताबाट पुरस्कार जित्न उहाँ सफल हुनुभयो ।
उहाँका बुबा पुरुषोत्तम तिमल्सेना पर्यटन व्यवसायी हुनुहुन्छ । बुवा पर्यटन व्यवसायी भएका कारण उहाँको घरमा स्वदेशी तथा विदेशी पर्यटकको चहलपहल बढी हुने गर्दछ । यसरी घरमा आउने पाहुनासँग नडराएर बोल्दा उहाँमा बोल्ने कलाको थप बिकास भयो । प्रगुनले हालसालै थाइल्याण्डमा सम्पन्न ग्लोबल युथ लिडर समिटमा सहभागी हुने अवसर प्राप्त गर्नुभयो । छुट्टीको समयमा केहि नयाँ गरौं भनेर उक्त कार्यक्रममा सहभागिता जनाएको उहाँ बताउनुहुन्छ । युथ पार्लियामेन्टले आयोजना गरेको उक्त कार्यक्रममा नेपालसहित विभिन्न देशका युवाहरू सहभागी थिए ।
सानो उमेरमा अन्तर्राष्ट्रिय स्तरको मञ्जमा मन्तब्य दिनु पक्कै पनि चुनौतीपूर्ण थियो । उहाँ भन्नुहुन्छ, ‘पहिला त नमर्स नै भए, कार्यक्रममा बोल्नु भन्दा धेरै पहिलादेखि प्राक्टिस पनि गरे, सायद त्यसैले होला बोल्नमा त्यति समस्या भएन् ।’ कक्षा ८ को परीक्षा सकेर फुर्सद्को समयमा प्रगुनले यस्तो अवसर प्रदान गर्नुभएको हो । उहाँलाई यो अवसरका लागि उहाँका बुवाले सहयोग गर्नुभएको छ । उहाँले थाइल्याण्डमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)का विषयमा केन्द्रित भएर आफ्नो भनाइ राख्नुभएको थियो । उहाँको मन्तव्य सुनेर अन्य देशका युवाहरूले समेत प्रशंसा गरेका थिए ।
प्रगुनको बोल्ने क्षमता वृद्वि गर्न उक्त कार्यक्रम महत्वपूर्ण बन्यो । त्यतिमात्र होइन, कार्यक्रममा सहभागी भएर स्वदेश आएपछि नेपाल टेलिभिजनमा अन्तर्वार्ता दिने मौकासमेत पाउनुभयो । भविष्यमा सफ्टवेयर इन्जिनियर बन्ने उहाँको लक्ष्य छ । उहाँलाई स्वास्थ्य र शिक्षाको क्षेत्रमा सफ्टवेयर निर्माण गर्ने देशमै केही गर्ने सोच छ । उहाँले फुर्सदको समयमा नयाँ-नयाँ किताब पढ्नुका साथै गेमहरू बनाउने र कोडिङहरू बनाउन सिक्ने गर्नुभएको छ । अझै आफ्नो बोल्ने कलाको विकास गर्न अरूसँग कसरी बोल्ने को सँग कसरी बोल्ने भन्ने विषयमा सिक्ने गर्नुभएको छ ।
पढाइमा अब्बल उहाँले घरायसी काममा पनि आमालाई सघाउने गर्नुभएको छ । पढ्न र काम गर्नकै लागि युवा विदेशिएको देख्दा उहाँलाई नराम्रो लाग्छ । त्यसैले नेपालमै इञ्जिनियरको क्षेत्रमा काम गरेर कम्पनी खोल्ने र धेरै युवालाई रोजगार बनाउन उहाँलाई औधी मन छ ।
आफूजस्तै उमेर समूहका साथीभाइलाई डिजिटल प्लेटफर्म र सोसल मिडियाको लत लागेको भन्दै त्यसलाई छुटाउन आफैं सचेत हुनुपर्ने उहाँ बताउनुहुन्छ । जतिबेला पनि सोसल मिडियामा मात्र समय खर्चनुभन्दा आफ्नो बानीलाई सुधार गरेर सफल र असफल मान्छेको डकुमेन्टी हेर्ने, विभिन्न व्यक्तिहरूको जीवनी हेर्ने गर्दा आफ्नो व्यक्तित्वको विकास हुने उहाँको सुझाब छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts