प्रधानमन्त्रीसँग चिनियाँ नेताको भेट

हिमालय टाइम्स कालिकोट, संवाददाता

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय कमिटीका सदस्य एवं सिङहाइ प्रान्तका सेक्रेटरी छेन् गाङ्ग नेतृत्वको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुई देश र दुई पार्टीबीचको आपसी सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको छ । प्रधानमन्त्री ओलीले चिनियाँ कम्युनिष्ट पार्टी र महासचिव सी जिनपिडको नेतृत्वमा चीनमा गरिबीको अन्त्यसहित भएको चौतर्फी विकास असाधारण रहेको उल्लेख गर्दै नेपाल त्यस विकासबाट लाभ लिन चाहने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले राजनीतिक स्थिरताका लागि दुई ठूला दल एमाले र नेपाली कांग्रेसबीचको सहकार्यमा नयाँ सरकार गठन भएको जनाउँदै नेपालको आर्थिक विकासमा चीनको निरन्तर सहयोगको अपेक्षा गर्नुभयो । प्रधानमन्त्री ओलीले दुई मुलुकबीच सरकार-सरकार, जनता-जनताका साथै व्यापारिक, पौराणिक र सांस्कृतिकसम्बन्ध रहेकाले उच्चस्तरीय भ्रमणको आदानप्रदानको क्रमलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।

ADVERTISEMENT

प्रधानमन्त्री ओलीले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहँदै चीनविरुद्धका कुनै पनि गतिविधिका लागि नेपाली भूमि प्रयोग गर्न नदिनेमा नेपाल सदैव स्पष्ट रहेको स्मरण गराउनुभयो । चिनियाँ नेता छेन्ले आफू महासचिव जिनपिङको निर्देशनमा नेपालको भ्रमणमा आएको अवगत गराउँदै नेपालको सुख र समृद्धिमा चीनको सधैँ साथ रहने स्पष्ट गर्नुभयो । उहाँले नेपालका राजनीतिक दलले गरेका निर्णयमा आफूहरुको सम्मान रहने र भ्रमणका क्रममा आएका विषयवस्तु महासचिव सीलाई जानकारी गराउने बताउनुभयो ।

भेटका अवसरमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, एमालेका सचिव एवं विदेश विभाग प्रमुख रघुवीर महासेठ, विभागका सदस्यद्वय डा अञ्जान शाक्य र गोपाल खनाल, परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाल, नेपालका लागि चिनियाँ राजदूत छेन सोङलगायत सहभागी हुनुहुन्थ्यो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *