काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता वंशीधर मिश्रले पार्टीको एउटा समूह एमालेमा जाने सम्भावना रहेको बताउनु भएकाे छ ।
न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा मिश्रले सकेसम्म पार्टी एकता गर्ने र त्यो सम्भव नभए शीर्ष नेताहरुबाहेक अरु एमालेमा जाने सम्भावना रहेको बताउनु भएको छ ।
‘निराश साथीहरुले अलग पार्टी बनाउनेतिर नजालान् भन्नसक्ने अवस्था छैन । जान सक्छन् । टप लेभलमा कुरा मिलेको छैन पार्टी एकताका लागि । हामी पर्ख र हेरमा छौं’, मिश्रले भन्नुभयो, ‘सकेसम्म सिंगो पार्टी नै एकीकरण गर्ने प्रयास गर्ने । यदि त्यो सम्भव भएन भने शीर्ष नेताहरु बाहेक हामी एमालेमा जाने सम्भावना नजिक छ ।’
उहाँले एकीकृत समाजवादीले विद्रोहको औचित्य पुष्टि गर्न नसकेको बताउनु भयो । ‘हामी जुन कारणले फुटेको हो त्यो कारणलाई हल गरेर यो पार्टी एकीकरण गर्नुपर्छ’, मिश्रले भन्नुभयो।
पार्टीमा दशौँ महाधिवेशनले उत्साह दिन्छ भन्ने आशा भए पनि त्यो हुन नसकेको उहाँले बताउनु भयो। ‘‘पुराना, इमान्दार र कर्मठ मान्छेहरु पोलिटब्यूरोमा पनि आएनन् । पदाधिकारीमा पनि त्यस्तै दुर्घटना भयो । एकचोटी मात्रै केन्द्रीय कमिटीमा आएको मान्छे एकैचोटी उपमहासचिव भए । दुई चोटी भएका कोही उपाध्यक्ष भए । पुराना मान्छे हेरेको हेरेकै भए । यसले व्यापक असन्तुष्टि ल्याएको छ’, उहाँले भन्नुभयो ।
मिश्रले अब पार्टी न एकीकरण हुन्छ न अगाडि बढ्छ यसको औचित्य छैन भन्ने ठानेर पार्टी फुटाउनुपर्छ भन्ने धारणा कतिपय नेताहरुमा आएको बताउनु भयो ।
‘एउटा समूह यसैलाई करेक्सन गर्नुपर्छ, फेरि महाधिवेशन बोलाउने हो कि, यसलाई विघटन नै गर्ने हो कि ? नयाँ ढंगले जानुपर्छ कि भन्नेमा छ’, उहाँले भन्नुभयो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts