म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनाअन्तर्गतको बेनी-मालढुङ्गा सडक निर्माणको रोकिएको काम तत्काल तिब्र गतिमा संचालन गर्न निर्माण कार्यको जिम्मा लिएको निर्माण कम्पनीलाई निर्देशन दिइएको छ ।
शुक्रबार (हिजो) म्याग्दीको बेनीमा आयोजित सर्वपक्षीय भेलामा बेनी-जोमसोम-कोरला सडक आयोजनका प्रमुख ध्रुवकुमार झा र ठेकेदार कम्पनि एपेक्स-खड्का-कृष्ण जेभी कम्पनीका प्रतिनिधिलाइ सडकको काम संचालन गर्न म्याग्दीका प्रमुख जिल्ला अधिकारी गुरुप्रसाद ढकालले निर्देशन दिनुभएको हो । उहाँले अब पनि काम नगरी ठेकेदार सम्पर्क बिहीन भएमा कानुनी कारवाहीमा जाने चेतावनी समेत दिनुभएको छ ।
उक्त सडकमा बेनी-जोमकोम-कोरला सडक आयोजना मार्फतस्तरोन्नतिको काम भइरहेको छ । बेनी-मालढुङ्गा सडकमा १३ किमिको सडक स्तरोन्नतिको काम छोडेर ठेकेदार भागेका थिए । ठेकेदार भागेपछि लामो समयदेखि सडक स्तरोन्नतिको काम अबरुद्ध बनेको थियो ।
प्रजिअ ढकालले सडकखण्डमा देखिएको ढिलासुस्ती, सरोकारवालाको दबाब तथा सर्वसाधारणले दैनिक भोग्नुपरेको सास्तीलाई अब थेग्न सक्ने अवस्था नभएको भन्दै आयोजना प्रमुख झा र एपेक्स-खड्का-कृष्ण जेभी कम्पनीका प्रतिनिधिलाई एकदुई दिनमै ठूलो संख्यामा मजदुर सहित काममा फर्किने वातावरण बनाउन निर्देशन दिनुभएको हो ।
प्रजिअ ढकालले सडक अलपत्र पर्दा पर्वत, म्याग्दी र मुस्ताङ घुम्न आउने पर्यटक, स्थानीयबासीले भोग्नुपरेको सास्तीलाई अब टुलुटुलु हेरेर नबस्ने बताउनुभयो । सर्वपक्षीय भेलामा सडकको शीघ्र स्तरोन्नतिका लागि जनदवावमूलक कार्यक्रमको नेतृत्व गर्दै आउनुभएका नेकपा एमालेनिकट अनेरास्ववियुका केन्द्रीय सचिव प्रकाश पौडेलले अब पनि काममा ढिलासुस्ती भए परिणाम नराम्रो हुनसक्ने बताउनुभयो ।
२०७७ सालमा ठेक्का सम्झौता भए पनि हालसम्म कुनै प्रगति नभएको भन्दै कार्यक्रममा सहभागिहरुले अब पनि काम नभए सरकारी सवारीसाधनलाई उक्त सडकमा रोग लगाएर आन्दोलन गर्ने चेतावी दिइएको थियो । ठेकेदार कम्पनिका प्रतिनिधिहरुले नदीजन्य पदार्थको अभावका कारण काममा ढिलासुस्ती भएको बताए पछि निर्माण कम्पनीलाई तिब्र गतिमा काम गर्न आवश्यक परेमा बेनी नगरपालिकाभित्र रहेको नदीजन्य पदार्थ उत्खनन गरी समेत प्रयोग गर्न दिने बेनी नगरपालिकाका मेयर सुरत केसीले बताउनुभयो । पर्वतको जलजला गाउँपालिका प्रबक्ता हरिविकास जिसीले कालिगण्डकीबाट सडक निर्माण प्रयोजनका लागि जनसहभागितामा समेत निर्माण सामाग्री दिलाउने प्रतिबद्धता जनाउनुभएको थियो ।
हाल करिब ६ मिटरको हाराहारीमा रहेको सडकलाई नौ मिटर फराकिलो बनाएर एक मिटरको नाली र दुई लेनमा आठ मिटर चौडाइका दरले कालोपत्र गर्न लागिएको हो । ५२ करोड ८६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएकोमा सम्झौता अवधि सकिएर पटकपटक म्याद थप गर्दा कामको प्रगति नदेखिएपछि अव पनि यस्तै अवस्था दोहोरिएमा सम्झौता रद्द नै अन्तिम विकल्प भएको सर्वपक्षीय भेलामा सहभागीको भनाइरहेको थियो ।






