काठमाडौं । यस दैनिक तथा अनलाइनका प्रधान-सम्पादक प्रा. पुरुषोत्तम दाहाल पारिवारिक भ्रमणमा अमेरिका प्रस्थान गर्नुभएको छ । उहाँ केही महिनाका लागि अमेरिका जानुभएको हो । दाहालको अनुपस्थितिमा सन्दीप पौड्यालले कार्यवाहक सम्पादकको जिम्मेवारी निर्वाह गर्नुहुने इम्प्रेसन प्रालिले जानकारी दिएको छ ।
आफ्नो अमेरिका बसाइमा केही स्थानको भ्रमण र साहित्यिक गतिविधिमा संलग्न रहने योजना रहेको प्रा. दाहालले बताउनुभएको छ । ‘यसअघि जस्तै यसपालिको अमेरिका भ्रमणमा केही स्थानको अवलोकन र यहाँ हुने साहित्यिक गतिविधिमा संलग्न रहने योजना बनाएको छु,’ उहाँले भन्नुभयो । केही समयको अमेरिका बसाइमा नयाँ कृतिको तयारीमा पनि जुट्ने उहाँको भनाइ छ । भ्रमणमा उहाँसँगै उहाँकी श्रीमती शान्ता दाहाल पनि हुनुहुन्छ ।
प्रा. दाहालको ११औँ कृतिका रूपमा ‘कालपात्र’ उपन्यास गत वर्ष पाठकमाझ आएको थियो । राजनीतिशास्त्रका प्राध्यापक दाहालले यसअघि ‘मेरो पत्रकारिता, शान्ता उपन्यास, काला बादलमा उज्याला पाइला कवितासंग्रह, प्रक्षेपण, शिखरवृत्त, अन्धकारको यात्री’लगायत १० वटा कृति लेखिसक्नुभएको छ । ‘शान्ता’ उपन्यासको नेपाली र अंग्र्रेजी संस्करण प्रकाशन भइसकेको छ । शान्ताको नयाँ संस्करण पनि हालै सार्वजनिक भएको थियो ।






