काठमाडौं । इलामको माइखोलामा आएको बाढीले क्षति पुर्याएको काबेली करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको पुनर्निर्माण धमाधम भइरहेको छ । नेपाल विद्युत् प्राधिकरण र काबेली करिडोर प्रसारण लाइनमा विद्युत् जोडिएका निजी क्षेत्रका २० जलविद्युत् आयोजनाले संयुक्तरूपमा प्रसारण लाइन पुनर्निर्माण तथा पुनस्र्थापनाको काम गरिरहेका हुन् । प्रसारण लाइन पुनर्निर्माण तथा पुनस्र्थापना तिहारअघि नै सम्पन्न गर्ने गरी काम भइरहेको छ । प्राधिकरणले प्रसारण लाइनका पार्टपुर्जालगायतका सामग्री उपलब्ध गराएको छ । निजी क्षेत्रका जलविद्युत् आयोजनाले श्रम लागतलगायतका खर्च बेहोरेका छन् । जसका लागि प्रत्येक आयोजनाले निश्चित रकम योगदान गरेका प्राधिकरणले जनाएको छ । प्राधिकरण र निजी क्षेत्रले संयुक्तरूपमा नमुनाका रूपमा पुनर्निर्माण अघि बढाएका हुन् । निजी क्षेत्रले ऊर्जा उद्यमी मोहन कार्कीको नेतृत्वमा टोली खटाएका छन् ।
गत असोज १२ गते माइखोलामा आएको बाढीले काबेली करिडोर प्रसारण लाइनअन्तर्गत इलामको माई नगरपालिका वडा नम्बर १ र ७ धोद्रेबेंसीमा चारवटा टावरमा क्षति पुर्याएको थियो । ताप्लेजुङ, पाँचथर र इलाममा सञ्चालनमा रहेका २० जलविद्युत् आयोजनाको करिब दुई सय मेगावाट विद्युत् प्रवाह हुने काबेली प्रसारण लाइनमा क्षति पुगेपछि १२ असोजबाट उक्त आयोजनाबाट विद्युत् उत्पादन बन्द छ । विद्युत् उत्पादन बन्द हुँदा निजी क्षेत्रका जलविद्युत् आयोजनाले दैनिकरूपमा आम्दानी गुमाइरहेका छन् ।
काबेली करिडोर प्रसारण लाइनअन्तर्गत इलामको गोदकबाट झापाको दमकसम्मको खण्डको धोद्रेबेंसीमा ५०, ५१, ५२ र ५३ नम्बर टावरमा माइखोलाको बाढीले क्षति पुर्याएको थियो । उक्त स्थानबाट प्रसारण लाइनलाई माइखोला पार गराएको थियो । चारवटा टावरमध्ये बाढीले ५१ र ५२ नम्बर टावरमा पूर्णरूपमा क्षति पुर्याएको हो । प्राधिकरणका अनुसार हाल पूर्णरूपमा क्षति पुर्याएको टावरको जग हाल्ने काम भइरहेको छ । टावरका सम्पूर्ण पार्टपुर्जाहरू निर्माणस्थलमा ढुवानी भइसकेको छ । ५० र ५३ नम्बर टावरमा आंशिक क्षति पुगेको थियो । ५० नम्बर टावरको टुप्पोको संरचनामा क्षति पुगेको थियो भने ५३ नम्बर टावरको क्रस आर्म र टुप्पोको संरचनामा क्षति पुगेको थियो । दुवै टावरको मर्मत सकिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शुक्रबार पुनर्निर्माणस्थलको अनुगमन गरी तोकिएकै समयमा काम सम्पन्न गर्न आवश्यक सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले भन्नुभयो, ‘काबेली करिडोर प्रसारण लाइन बन्द हुँदा मुलुकको एकीकृत विद्युत् प्रणालीकै विश्वसनीयता प्रभावित भइरहेको छ, निजी क्षेत्रका जलविद्युत् आयोजनाले दैनिकरूपमा ठूलो आम्दानी गुमाइरहेका छन्, उत्पादन बन्द हुँदा भारततर्फको विद्युत् निर्यात प्रभावित भइरहेको छ । यसबाट सबैलाई ठूलो क्षति भइरहेको छ, त्यसैले जतिसक्दो छिटो पुनर्निर्माण सम्पन्न गरी लाइन सञ्चालनमा ल्याउने गरी सबैले काम गरौँ ।’
निजी क्षेत्रतर्फबाट पुनर्निर्माणमा खट्नुभएका कार्कीले सम्पूर्ण काम सकेर तिहारअघि नै विद्युत् प्रसारण सुरु गर्ने गरी काम भइरहेको बताउनुभएको छ । बडा नम्बर १ का वडाध्यक्ष रामबहादुर राईले प्रसारण लाइन सञ्चालन हुन नसक्दा राज्यलाई नै ठूलो क्षति भइरहेकाले पुनर्निर्माणमा वडाका तर्फबाट पूर्णरूपमा सहयोग गरिररहेको बताउनुभएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता