काठमाडौं । प्यालेस्टिनी इस्लामिक लडाकु समूह (हमास)का प्रमुख तथा गत वर्ष अक्टोबर ७ मा भएको भयानक आक्रमणका मुख्य योजनाकार याहृया सिनवार मारिएका छन् । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सिनवार मारिएको पुष्टि गर्नुभएको छ । प्रधानमन्त्री नेतन्याहूले आफ्ना सहयोगीलाई हमास प्रमुखको मृत्युबारे इजरायली बन्धकका परिवारलाई जानकारी दिन पनि निर्देशन दिनुभएको छ । इजरायली रक्षा बल (आइडिएफ)ले गाजामा आफ्नो कारबाहीका क्रममा तीन हमास लडाकु मारिएको पुष्टि गरेको थियो । इजरायली आक्रमणमा मृत्यु भएका तीन लडाकुमध्ये एक हमासका प्रमुख याहृया सिनवार भएको बताइएको छ ।
इजरायलले लेबनानमा गरेको हवाई आक्रमणमा हिजबुल्लाहका अर्का उच्च पदस्थ नेता हसन नसरल्लाहको मृत्यु भएको केही हप्तापछि यो घटना भएको हो । यसअघि हमासका अर्का वरिष्ठ नेता इस्माइल हनियाको इरानमा मृत्यु भएको थियो । तेहरान र हमासले हनियाको मृत्यु भएको घटनामा आक्रमणको आरोप इजरायलमाथि लगाए पनि इजरायलले न त यो आरोप स्वीकारेको छ न त अस्वीकार नै गरेको छ । हालै आइडिएफले गाजामा हमास सरकारका प्रमुख राउही मुश्ताहा र हमासको राजनीतिक ब्युरोमा सुरक्षा जिम्मेवारी सम्हालेका समेह अल सिराजसहित हमासका उच्च पदस्थ अधिकारीहरूको मृत्यु भएको जनाएको थियो ।
टाइम्स अफ इजरायलका अनुसार मंगलबार आइडिएफले जाबालियामा भएको हवाई आक्रमण र भिडन्तमा हमासका करिब २० लडाकु मारिएको जनाएको छ । इजरायली सेनाका अनुसार युद्धका क्रममा सेनाले एउटा हतियार डिपो र अन्य हतियार पनि फेला पारी नष्ट गरेको छ ।
अचानक भएको थियो मुठभेड
हमासले इजरायलमा ७ अक्टोबर २०२३ मा हमला गरेदेखि नै इजरायली सेना हमास प्रमुख याहृया सिनवारको खोजीमा थियो । याह सिनवार हमास प्रमुख हुन् । एक वर्षयता चलिरहेको इजरायल हमास युद्धको अधिकांश समय गाजामा बनेका सुरुङमा बस्थे । ६१ वर्षे सिनवारको साथमा उनका अंगरक्षक पनि हुन्थे । सिनवार हमासले बन्धक बनाएकाहरूलाई आफ्नो सुरक्षा कवचका रूपमा प्रयोग गरिरहेका थिए । तर, इजरायली सेनाले गाजाको रफाह क्षेत्रमा भएको दोहोरो भिडन्तमा सिनवारको मृत्यु भएको छ । इजरायली सेनाका अनुसार उनीहरूको एउटा ब्रिगेड गाजाको रफाहमा गस्ती गरिरहेको थियो । गस्तीका क्रममा इजरायली सेना र हामासबीच भिडन्त सुरु भयो । भिडन्तमा हमासका तीनजना मान्छे मारिए । इजरायली सैनिकले आफूले मारेका हमासका व्यक्तिको पहिचान गर्न सुरु गरेको थियो । उनीहरूले याह सिनवार जस्तै व्यक्ति पनि मारिएको देखे ।
मारिएका व्यक्ति हमास प्रमुख याहृया नै हुन् कि होइनन् भन्ने यकिन गर्न इजरायली सेनाले उनको औँला काटेर इजरायल परीक्षणका लागि पठायो । इजरायली सेनाका अनुसार मुठभेड सुरु भएपछि सिनवार अग्लो घरतिर भागिरहेका थिए । उनलाई ड्रोनबाट निसाना बनाएर मारिएको हो ।
सिनवार कुनै योजनाबद्ध अपरेसनमा मारिएका होइनन् । इजरायली सेनाका अनुसार उनी अचानक भएको मुठभेडमा मारिएका हुन् । गोप्य जानकारी पाएअनुसार सिनवार रफाह क्षेत्रमा रहेको जानकारी भए पनि उनी ठ्याक्कै कहाँ छन् ? भन्ने इजरायललाई पनि जानकारी थिएन । सिनवारको मृत्युसँगै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले ठूलो जित हासिल गरे पनि युद्ध अन्त नहुने बताएका छन् । ७ अक्टोबर २०२३ मा इजरायलमाथि भएको हमलामा याह सिनवार नै मुख्य जिम्मेवार रहेको इजरायली बुझाइ छ ।
यस अगाडि सिनवारलाई इजरायलले आफ्नो जेलमा २३ वर्षसम्म्म कैदी बनाएर राखेको थियो । सन् २०११ मा हमास र इजरायलबीच कैदी साटफेर गर्ने सम्झौता हुँदा उनलाई इजरायलले रिहा गरेको थियो ।
सिनवारको मृत्युसँगै हमासले युद्ध विराम गर्नसक्ने अपेक्षा गर्न थालिएको छ । १९६२ मा गाजाको एउटा शरणार्थी शिविरमा जन्मिएका सिनवारलाई हमासका सबैभन्दा शक्तिशाली नेताका रूपमा लिने गरिन्छ । १९८७ मा हमासको स्थापना भएलगत्तै उनी हमाससँग जोडिएका थिए ।
को हुन् सिनवार ?
अबु इब्राहिम भनेर चिनिने ६१ वर्षीय याहृया सिनवारको जन्म गाजा पट्टीको दक्षिणी क्षेत्रमा रहेको खान युनिस शरणार्थी शिविरमा भएको थियो । याहृयाका आमाबाबु अस्केलोनका थिए, तर, जब इजरायल १९४८ मा स्थापना भयो, र हजारौँ प्यालेस्टिनीहरूलाई उनीहरूको पुर्खाको घरबाट निष्कासित गरियो, याहृयाका आमाबाबु पनि शरणार्थी भएका थिए ।
याहृया सिनवारले आफ्नो प्रारम्भिक शिक्षा खान युनिसको केटाको माध्यमिक विद्यालयमा प्राप्त गरे । यसपछि, उनले गाजाको इस्लामिक विश्वविद्यालयबाट अरबी भाषामा स्नातक डिग्री हासिल गरे ।
याहृया सिनवारलाई इजरायलले पहिलोपटक सन् १९८२ मा पक्राउ गरेको थियो । त्यतिबेला उनको उमेर मात्र १९ वर्ष थियो । य याहृयालाई ‘इस्लामिक गतिविधि’ मा संलग्न भएको आरोप लगाइएको थियो । सन् १९८५ मा उनी फेरि पक्राउ परे । यसै समयमा, याहृयाले हमासका संस्थापक शेख अहमद यासिनको विश्वास जितेका थिए ।
सन् १९८७ मा हमासको स्थापना भएको दुई वर्षपछि याहृयाले आफ्नो सबैभन्दा खतरनाक आन्तरिक सुरक्षा संगठन अल-मजदको स्थापना गरे । त्यतिबेला याहृया २५ वर्षका मात्र थिए ।
सन् १९८८ मा याहृया सिनवारले दुई इजरायली सैनिकको अपहरण र हत्याको योजना बनाएको र त्यसलाई कार्यान्वयन गरेको आरोपमा उनी सोही वर्ष पक्राउ परेका थिए । इजरायलले उनलाई १२ प्यालेस्टाइनीको हत्या गरेको अभियोगमा दोषी ठहर गर्दै चारवटा आजीवन कारावासको सजाय सुनाएको थियो ।
याहृया सिनवारले आफ्नो वयस्क जीवनको राम्रो भाग १९८८ देखि २०११ को बीच लगभग २२ वर्ष, इजरायली जेलमा बिताएका थिए । २०११ मा कैदी आदानप्रदान सम्झौताअन्तर्गत इजरायलले एक इजरायली सैनिक गिलाड शालितको सट्टामा १०२७ प्यालेस्टिनी इजरायली अरब कैदीहरूलाई रिहा गरेको थियो, जसमा याहृया सिनवार पनि परेका थिए । त्यसपछि २०१३ मा, याहृया गाजा स्ट्रिपमा हमासको राजनीतिक ब्युरोको सदस्य निर्वाचित भए र २०१७ मा उनी यसको प्रमुख भएका थिए ।
सिनवारको मृत्यु हमाससँगको बदला हो, अब बन्धक छुटाउँछौँ : नेतन्याहु
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले याहृयाको मृत्युले इजरायलले याहृया सिनवारबाट बदला लिएको बताउनुभएको छ । उहाँले युद्ध अझै समाप्त नभएको बताउदै हमास नेता सिनवार होलोकास्ट पछिको इतिहासमा सबैभन्दा घातक नरसंहार गर्ने व्यक्ति रहेको जिकिर गर्नुभएको छ । बेन्जामिनसँगै अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि प्रतिक्रिया दिनुभएको छ । बाइडेनले डिएनए परीक्षणबाट सिनवारको मृत्यु भएको पुष्टि भएको बताउनुभएको छ । यो इजरायल र संयुक्त राज्य अमेरिका साथै सम्पूर्ण विश्वको लागि राम्रो दिन भएको उहाँले टिप्पणी गर्नुभएको छ । उहाँले इजरायली बन्धकहरूको रिहाइको लागि यो राम्रो अवसर भएको बताउनुभएको छ । साथै उहाँले यसले एक वर्षदेखि जारी गाजा युद्धको अन्त्य गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
अमेरिकाले सिनवार आतंकवादी संगठन हमासको प्रमुखको रूपमा, सिनवार हजारौँ इजरायली, प्यालेस्टिनी, अमेरिकी र तीसभन्दा बढी देशहरूमा सर्वसाधारणको मृत्युको लागि जिम्मेवार रहेको उल्लेख गर्दै गत वर्षको अक्टोबर ७ को हत्याकाण्ड, बलात्कार र अपहरणका मुख्य योजनाकार रहेको बताएको छ । जो बाइडेनले अब आफूले बन्धकहरूलाई उनीहरूको परिवारमा फिर्ता ल्याउने र यो युद्ध सदाका लागि अन्त्य गर्ने उपायबारे छलफल गर्ने बताउनुभएको छ ।
‘इजरायल, अमेरिकासहित विश्वकै लागि राम्रो दिन’
इजरायली आक्रमणबाट हमास प्रमुख सिनवारको मृत्यु भएको पुष्टि भएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल, अमेरिकासहित विश्वकै लागि राम्रो दिन भएको टिप्पणी गर्नुभएको छ । शुक्रबार विज्ञप्ति जारी गरी बाइडेनले भन्नुभएको छ, ‘इजरायली अधिकारीहरूले हमासका प्रमुख सिनवार गाजामा मारिएको जानकारी मलाई दिएका छन् । डिएनए परीक्षणबाट पनि सिनवारकव मृत्यु भएको पुष्टि भएको छ । यो इजरायल, अमेरिका र विश्वकै लागि राम्रो दिन हो ।’
बाइडेनले सिनवार हजारौँ इजरायली, प्यालेस्टिनी, अमेरिकी र ३० भन्दा बढी देशका नागरिकको मृत्युका लागि जिम्मेवार रहेको पनि बताउनुभएको छ । ७ अक्टोबरमा इजरायलमा हमासले गरेको हमलाको प्रमुख योजनाकार सिनवार नै रहेको बताउँदै बाइडेनले भन्नुभएको छ, ‘छिट्टै प्रधानमन्त्री नेतान्याहुसँग कुरा गर्नेछु र सिनवार मारिएकोमा बधाई दिनेछु ।’
गाजामा एक हप्तामा ४०० प्यालेस्टिनी मारिए, सयौँ घाइते : राष्ट्रसंघ
गाजामा एक हप्तामा करिब ४०० प्यालेस्टिनी मृत्यु हुनुका साथै करिब एक हजार ५०० घाइते भएको मानवीय मामिला तथा आपतकालीन राहतका लागि राष्ट्रसंघका कार्यवाहक उपमहासचिव जोयस सुयाले बताउनुभएको छ । गाजाको मानवीय अवस्थाबारे राष्ट्रसंघीय सुरक्षा परिषद्लाई जानकारी दिँदै सुयाले अक्टोबर ९ पछि इजरायली हवाई आक्रमणका कारण गाजामा सयौँ व्यक्ति हताहत भएको बताउनुभएको छ ।
अल अक्सा अस्पताल नजिकै शरण लिइरहेका बिरामी र विस्थापितहरूको तस्बिरले विश्वलाई विचलित बनाएको जनाउदै महिला तथा बालबालिकासहित धेरै व्यक्तिहरूले कठिन जीवनको सामना गरिरहेको उहाँले उल्लेख गर्नुभएको छ ।
यस्तो आतंकले मानवताको भावना हराउने र मानवतावादीहरूलाई काम गर्न उत्प्रेरित नगर्ने बताउँदै उहाँले इजरायलको सैन्य आक्रमण तीव्र हुँदै गएकाले ५५ हजार भन्दा बढी मानिसहरू जबलिया क्षेत्रबाट विस्थापित भएको बताउनुभएको छ ।
उहाँले अक्टोबरको सुरुदेखि १५ सम्म गाजामा कुनै पनि खाद्य सहायता नआएको बताउँदै बाँच्नका लागि सबै आवश्यक सामग्रीहरू समाप्त भइरहेको जनाउनुभएको छ । गाजाको दयनीय अवस्था र पीडालाई ध्यानमा राख्दै, मानवीय पहुँच अस्तित्वहीन भएको उहाँले बताउनुभयो ।
पटक पटकका मिसन अवरुद्ध हुँदा, अभावबीच बाँचिरहेका गाजाबासीलाई मानवीय सहायताको अझ बढी खाँचो भएको उहाँले बताउनुभयो । गाजाको पीडालाई शब्दमा वर्णन गर्न नसकिने बताउँदै अधिकारीले अन्तर्राष्ट्रिय कानुनलाई सम्मान गरी सबै सदस्य राष्ट्रहरूले सहायतालाई सुनिश्चित गर्नुपर्ने बताउनुभएको छ । बैठकका लागि अनुरोध गर्ने अल्जेरियाका प्रतिनिधिले गाजाको विनाशकारी मानवीय अवस्थाबारे चिन्ता व्यक्त गरेका छन् । एजेन्सीको सहयोगमा ।






