✍️ ईश्वर भट्ट
हरेक दशैँमा बलिप्रथा बारे बहस चर्चा परिचर्चा हुने गर्छन । नेपाली समाजमा जुन तरिकाले बलि प्रथा आस्थाको रुपमा गाढिएर बसेको छ यो निकै दुर्भाग्यको कुरा हो । कुनै निश्चित कालखण्डमा कसैले आफ्नो स्वार्थ पुर्तिका निम्ति यो प्रथालाई समाजमा चलाएको कुरा स्पष्ट छ तरपनि हाम्रो समाजले यसलाई अझै बढावा दिई राखेको छ । हाम्रो समाजमा बलि प्रथा कसरी प्रथाको रुपमा स्थापित भयो भन्ने विषयमा हरेक व्यक्ति र समूहले फरक-फरक जवाफ दिन्छन । यो प्रथा नितान्त समाज र धर्मसँग जोडिएको हुँदा यसको व्याख्या र विश्लेषण पनि सामाजिक र धार्मिक दृष्टिकोण बाटै गर्नुपर्ने हुन्छ ।
बलिप्रथाको सुरुवात कहिले भयो भनेर ठ्याक्कै यकिन गर्न नसकिए पनि बौद्ध धर्म र जैन धर्मको उद्भव भएको बेलामा पनि यो प्रथा समाजमा विद्यमान थियो भनेर अनुमान गर्न सकिन्छ । बौद्ध धर्मग्रन्थहरूमा धेरै ठाउँमा हिन्दु ब्राहृमणहरूले बलि चढाउने गर्थे भन्ने कुराको उल्लेख भएको पाइन्छ र बौद्ध र जैन धर्मले यो प्रथाको बिरोध गर्ने गरेको कुरा पनि ती ग्रन्थहरूमा भेटिन्छ । गौतम बुद्धले नै त्यो बेलामा बलि द्वारा गरिने यज्ञ यज्ञादीहरूबाट देवी देवता खुशी नहुने भनेर भन्ने गर्थे । गौतम बुद्ध भन्ने गर्थे बली प्रथा दिनुभन्दा अगाडि केवल तीनवटा दुःख भुख, इच्छा र आयु मात्र थिए तर जब पशुबलि सुरुभयो त्यसपछि समाजमा दुःखको संख्या बढेर अन्ठानब्बे पुग्यो । यसरी बौद्ध धर्मको उद्भवकालमा बलि प्रथा प्रचलनमा थियो भन्ने कुरा स्पष्ट हुन्छ ।
शास्त्रहरूले भन्ने गर्छन् पञ्च बिकारको बलि देउ ती पञ्च विकार प्रत्येक व्यक्तिमा भएका दुर्गुणहरू काम, क्रोध, मोह, लोभ, अहंकार हुन् यिनीहरूको त्याग गर्नु नै वास्तवमा बलि दिनु हो, त्यसैले निर्दोष जनावरको हत्या गरेर बलि चढाउनुभन्दा आफूमा भएका विकारको हत्या गरेर बलि दिउ ।
बलिप्रथाले जुन तरिकाले समाजिक र धार्मिक मान्यता पायो यो मानव सभ्यताकै लागि कलंक हो । बलिप्रथाको प्रचलन केवल हिन्दु धर्ममा मात्र नभई इसाई र मुस्लिम धर्महरूमा पनि यसको प्रचलन विभिन्न रूपमा रहिआएको देखिन्छ । विशेषतः हिन्दु धर्ममा यो नवरात्रको बेलामा अष्टमिका दिन बलि दिइने गरिन्छ अरू बेलामा आफ्ना भाकल पूरा गर्न बलि दिइने गरिन्छ भने यो बेलामा भने माता दुर्गालाई खुशी पार्नका निम्ति तामसिक विधि अनुरूप बलि दिइने गरिन्छ ।
समाज मानवजातिको बस्ती भए पनि यहाँ केवल मानिसमात्र बस्दैनन् मानिसका विचार बस्छन मानिसका रंगिन सपना, कल्पना र विवेचनाका उत्कट शृंखलाहरू पनि बस्छन् । यहाँ अनेकन प्राणी, जीवजन्तु, चराचुरुंगीलगायत विविध जाति र प्रजातिका प्राणीहरू बसोवास गर्छन । यी विविध प्राणीहरूको सम्बन्ध मानिससँग निकै घनिष्ठ रहिआएको छ अर्को शब्दमा भन्नुपर्दा साथिभाइको सम्बन्ध रहिआएको छ । अब कुरा बलि प्रथाको जोडौं । यसरी नजिकको सम्बन्ध रहेका आपसी साथीहरूलाई आफ्नो निजी स्वार्थ(भाकल)पूर्तिका लागि हत्या गर्नुले समाजलाई कस्तो असर पार्छ । यसले समाजलाई दिने सिधा अर्थ हो चाहे जे सुकै होस् आफ्नो स्वार्थ पूर्तिका निम्ति अबोध जनावरलाई समेत हत्या गर्नुपर्छ ।
मानिस समाजमा बस्ने धार्मिक प्राणी पनि हो त्यसमा पनि हिन्दु समाजका मानिसहरू त झन् धर्मको स्थापना गरि आफ्नो जीवनलाई पापमुक्त बनाउनुपर्छ भनेर भन्ने गर्छन यस्तोमा बलि प्रथा रूपी क्रूर प्रथालाई धर्मकै आडमा सुरक्षण दिइराख्दा समाजमा बस्ने अन्य मानिसहरूले हिन्दु धर्मप्रति राख्ने सोच कस्तो हुनेछ यो कुरामा पनि ध्यान दिन जरुरी छ । जबकी हिन्दु धर्मशास्त्रहरूले अहिंसा परमो धर्म को कुरा गर्छन बसुधैव कुटुम्बकम् को कुरा गर्छन् यस्तोमा क्रुरता रूपी बलिप्रथालाई बढावा दिई राख्नाले हिन्दु धर्म र यसका शास्त्रबीचको विरोधाभाषलाई लिएर धर्म परिवर्तन र धर्मान्तरणले प्रशय पाउनेछ त्यो हुनुभन्दा पहिलै यसबारे राम्रोसँग सोच्न जरुरी छ ।
जनावर भन्दा मानिस उच्चकोटिको प्राणी हो । मानिसभन्दा देवता उच्चकोटिका हुन् र देवताभन्दा माथि ब्रहृम र ब्रहृमभन्दा माथि परब्रहृम र परब्रहृमभन्दा माथी पूर्णब्रहृम गरी यसरी हाम्रो यहाँ कोटि छुट्याइएको छ । यस्तोमा एउटा निम्नकोटिको मानिसले उच्चकोटिको देवता रिझाउनलाई मानिसभन्दा पनि निम्नकोटिको जनावरको बलि दिनु कुनै पनि हालतमा सही हुन सक्दैन ।
धर्मको धारण आत्ममोक्षका निम्ति गरिन्छ । धर्ममा पाप र पुण्यको महत्वपूर्ण भूमिका हुन्छ । पाप त्यस्ता कार्यलाई भनिन्छ जसले अरूलाई दुःख दिन्छ । एउटा महत्वपूर्ण भनाइ छ, जसमा भनिन्छ । परोपकार पुण्यायः पापाय परपिडनम् अर्थात् परोपकार पुण्य हो भने अरूलाई दुःख दिनु पाप हो । यस अर्थमा कुनै पशु पक्षीलाई पीडा दिएर गरिएको कार्य कुनै पनि रूपमा पुण्य हुन सक्दैन । त्यसैले मोक्षका निम्ति कुनै जीवको हत्या गरेर न त देवि नै खुशी हुन्छिन न त आत्म मोक्ष नै हुन्छ ।
बलि आफैंमा धार्मिक विधि होइन । कसै निश्चित वर्गले आफ्नो स्वार्थ पूर्तिका निम्ति कुनै बेला समाजमा यो प्रथालाई चलाएको हो भन्ने स्पष्ट देखिन्छ । समाजमा लामो समयदेखि चलिआएको भए तापनि यो प्रथा धार्मिक भने होइन किनकि आदि अनादिकालमा लेखिएका धर्मशास्त्रहरूमा अझै ‘अहिंसा परमो धर्म’ जस्ता वाक्य सुन्नमा मिल्छ जसले यो प्रथा धार्मिक होइन तर कसै निश्चित वर्गले यसलाई धार्मिक र सामाजिक रूप दिने कार्य गरेको हो ।
यहाँ बलिप्रथालाई समाजले अगाडि बढाउँदै गर्दा शास्त्रीयमत हेर्ने हो भने केही फरक दृष्टान्त भेट्टिन्छ । यजुर्वेदमा यज्ञसम्बन्धी विधान बताइएको छ त्यही यजुर्वेदमा भनिएको छ ‘अघ्न्याः यजमानस्य पशून पाहि’अर्थात्-हे पुरुष तिमीले यी पशुहरूलाई नमार, सबैलाई सुख दिने मानिसका पशुहरूको रक्षा गर । त्यस्तै अथर्ववेदमा भनिएको छ:-
‘ब्रीहिमत्तं यवमत्तमथो माषमथो तिलम् ।
एष वां भागो निहितो रत्नधेयाय दान्तौ मा हिंसिष्टं पितरं मातरं च ।।’
अर्थात् : हे दांतका दुवै पंक्तिहरू ∕ तिमीहरू भात खाऊ, जौ खाऊ, माष खाऊ (उर्द्को दाल) र तिल खाऊ, यो अन्न तिमीहरूका लागि नै बनाइएको हो । त्यसैले उनिहरूलाई नमार्नुहोस जो माता-पिता बन्न कि योग्य छन । त्यस्तै स्कन्दपुराणमा भनिएको छ-
‘धर्ममूलमहिंसा च मनसा तां च चिन्तयन् ।
कर्मणा च तथा वाचा तत् एतां समाचरेत ।।’
अर्थात् धर्मको मूल अहिंसा हो । त्यो अहिंसा धर्मलाई मनले खुब चिन्तन गरी विचार गर्नु । पुनः यो अहिंसा धर्मलाई कर्मले र वचनले सम्यक आचरण गर्नुपर्छ । ‘अहिंसा परमो धर्म’ भन्ने मूल मन्त्रको आडमा हिन्दु धर्म अडिएको छ । बैदिक सनातन धर्ममा (हिन्दु) मा हिंसा गर्नुलाई धर्मको संज्ञा दिइँदैन । गीता अध्याय १४ श्लोक १५ मा भनिएको छ-
‘जो व्यक्तिको मृत्यु तामसिक गुण प्रभावित अवस्थामा भएको छ, त्यो अवश्य पनि मृत्यु पछि जनावरको योनिमा जन्म लिनेछ’ त्यसैले कसैलाई जीवन दिने हक छैन भने कसैको जीवन खोस्ने हक पनि छैन जीव हिंसक कहिल्यै सुखी रहन सक्दैन ।
देवी देवताले प्राणी मात्रको रक्षा गर भन्छन्, गर्दन रेटेर निर्दोष प्राणीको हत्या गर भन्दैनन् । बलिको वास्तविक अर्थ त्याग्नु, छुटाउनु, हटाउनु, भगाउनु, अन्त्य गर्नु आदि इत्यादि हुन्छ । त्यो हुँदा बलि भनेको आफूमा भएका गलत व्यवहारलाई त्याग्नु पनि बलि हो । त्यही अर्थ पञ्च बलिमा समेत लाग्छ । पञ्चबलिमा बलि दिइने जनावरहरू क्रमशः बोका, राँगा भेडा/परेवा, कुखुरा, हाँस हुन । यसमा बलि दिइने जनावरहरूमा बोकालाई काम(सेक्स)/यौनको प्रतीक मानिन्छ । राँगोलाई क्रोधको प्रतीक मानिन्छ । कुखुरालाई लोभको प्रतीक मानिन्छ ।
भेडा र परेवालाई मोहको प्रतिक मानिन्छ भने हाँसलाई अहंकारको प्रतीक मानिन्छ । शास्त्रहरूले भन्ने गर्छन् पञ्च बिकारको बलिदेउ ती पञ्च विकार प्रत्येक व्याक्तिमा भएका दुर्गुणहरू काम, क्रोध, मोह, लोभ, अहंकार हुन यिनिहरूको त्याग गर्नु नै वास्तवमा बलि दिनु हो त्यसैले निर्दोष जनावरको हत्या गरेर बलि चढाउनुभन्दा आफूमा भएका विकारको हत्या गरेर बलि दिउ ।
सनातन धर्ममा भएको बलि प्रथा, तामसिक आशुरी व्यक्तिहरूले चलाएको सती प्रथा वा छुवाछूत प्रथा झै कूरीति हो । वैदिक सनातन धर्मले त ‘अहिंसा परमो धर्मं’ भन्छ, यहाँ बलि (हत्या) त धेरै परको कुरा हो..मांस भक्षण नै ठूलो पाप मानिन्छ ।
यो विषयमा संस्कृतिविद् जगमान गुरुङले बलि दिइनुपर्छ भनेर तर्क दिन्छन् उनले भन्छन् ‘यहाँ केवल पञ्चबलि र पशुबलिको कुरा हैन प्राचीन समयमा पुरुषमेधयज्ञमा पुरुष बलि र अश्वमेधयज्ञमा घोडाको बलि दिइन्थ्यो ।’ यो कुरामा कतिको सत्यता छ त्यो त खोज अनुसन्धानले पत्ता लाग्ने कुरा हो तर अश्वमेध यज्ञमा चाहिँ घोडा छोडिन्थ्यो नकि घोडालाई काटेर बलि दिइन्थ्यो । जस्तै उदाहरणका लागि भगवान रामचन्द्र जिले रचेको अश्वमेधयज्ञमा घोडा छोडिएको थियो । त्यो हुँदा पहिलेका मानिसले जे सुकै गरे पनि अबको यो आधुनिक समयमा यस्ता क्रुर र निर्दोष जीवहरूको हत्या गर्ने प्रथाहरूलाई अन्त्य गर्नुपर्छ ।
यो विषयमा धर्मगुरुहरूले पनि आ-आफ्नै अलग-अलग तर्क दिनेगरेका छन् कतिपयले यसलाई गलत भनेका छन भने कतिपयले यसलाई सही हो पनि भन्ने गर्छन । यस्तोमा भारतका आधुनिक संतहरूमा जन्मिएका जगतगुरुको रूमा विश्व विख्यात भइरहेका संत रामपाल जि महाराजले भने यो विषयमा स्पष्ट भन्ने गर्छन कि बलि प्रथा गलत प्रथा हो माताले कुनै पनि जीवको रगत पिउँदैनन् किनकि कोही पनि आफ्ना सन्तानलाई मारेर खुशी हुँदैन देवी दुर्गा तिनलोक कि माता हुन् उनले कसैको बलि लिनुहुन्न । उहाँका अनुयायीहरूले समय समयमा सामाजिक सञ्जालमार्फत यस्ता कुप्रथाविरुद्ध आवाज उठाइरहेका हुन्छन ।
सनातन धर्ममा भएको बलि प्रथा, तामसिक आशुरी व्यक्तिहरूले चलाएको सती प्रथा वा छुवाछूत प्रथा झै कुरीति हो । वैदिक सनातन धर्मले त ‘अहिंसा परमो धर्मं’ भन्छ, यहाँ बलि (हत्या) त धेरै परको कुरा हो.. मांस भक्षण नै ठूलो पाप मानिन्छ । भगवानको नाममा बलि (पशु हत्या) गर्ने हिन्दु, शास्त्रको ज्ञान न भएको अज्ञानी वा आशुरी वा तामसिक तान्त्रिक वा भूत÷प्रेत पुजारी हो । यदि कोही शास्त्रमा प्रमाण छ भन्छ भने त्यो गलत हो । हामी पनि भगवान का बच्चा अनि ती निर्दोष पशु–पक्षी पनि भगवान कै बच्चा के भगवान आफ्नो बच्चालाई मार्ने आदेश दिन्छन् होला त सोच्ने बेला आइसक्यो हामिहरूले कति समयसम्म गलत विचारको पछि लाग्ने अब सोच्ने बेला आइसकेको छ ।
‘अहिंसा परमो धर्म’ भन्ने मूल मन्त्रको आडमा हिन्दु धर्म अडिएको छ । वैदिक सनातन धर्ममा (हिन्दु)मा हिंसा गर्नुलाई धर्मको संज्ञा दिइँदैन ।
सक्छौ भने देऊ बलि, काम र क्रोधको,
घूसखोरी भ्रष्टाचार, झुठ अनि प्रतिशोधको
सक्छौ भने देऊ बलि, मोह अनि लोभको
अहंकार, भेदभाव अनि मनका ती गलत डोबको
तर नदेऊ बलि यहाँ, ती पशुपक्षी निर्दोशको ।।






