चीसो पानीका असला माछा तातोपानीमा खोसाखोस् !

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 6 mins

म्याग्दी । दसैंको बिदाका दिनमा नयाँ नयाँ ठाउँमा घुमघाम गर्ने,मनोरञ्जन लिने र अर्ग्यानिक खानाको स्वाद चाख्ने सबैको चाहना हुन्छ । यदि तपाइँलाई पनि यस्तो चाहना छ भने प्राकृतिक चिकित्सालयको नामले चर्चित म्याग्दीको तातोपानी उपयुक्त स्थान हुनेछ ।

बेनी नगरपालिका वडा नं ४ मा पर्ने तातोपानी सदरमुकाम बेनी बजारदेखि ९ किलोमिटर पश्चिममा पर्दछ । पक्की सडकमा बेनी बजारबाट यातायातका साधनमार्फत २० मिनेटमा नै पुग्न सकिने यो स्थलमा तातोपानी कुण्डमा डुबेर थकान मेटाउने, प्राकृतिक विधिद्वारा उपचार सेवा पाइने र मनोरञ्जन प्राप्त हुने मात्रै होइन म्याग्दी नदीको चिसो पानीमा पाइने असला माछाका परिकार खान पाइने ठाउँको रुपमा पनि परिचित छ ।

जमिन मुनिबाट ४८ डिग्री सेन्टीग्रेटको तापक्रममा बिरेनुनको स्वादसहित निस्कने तातोपानीको कुण्डमा डुबुल्की मारेपछि ग्याँस्ट्रिक, बाथरोग, गानोगोला, युरिकएसिड, हार्डजोर्नी दुख्ने, हड्डीको दुखाई, सड्किएको, मर्किएको, बज्रिएकोसहित चिसोबाट उत्पन्न सबैखाले रोगहरु निको हुने जनविश्वाससँगै स्थानीय माछा र अर्गानीक खाना तातोपानीको प्रमुख विषेशता रहेको छ ।

बजारको छेउमै रहेको म्याग्दी नदीको चिसो पानीमा पाइने असला माछा निकै स्वादिलो हुने भएकाले तातोपानीमा स्नान गरेपछि विरामीहरुले यहाँका माछालाई पौष्टिक आहारको रुपमा खाने गरेका छन् भने घुम्न आएका आन्तरिक तथा वाह्य पर्यटकहरुले कोशेलीको रुपमा लिएर फर्कने गरेका छन् । अन्यत्र पाइने माछा भन्दा यहाँका माछा बढी स्वादिष्ट हुने भएपछि अहिले ताजा माछा प्रति केजी १५ सय रुपैयाँमा बिक्री हुने गरेको छ ।

म्याग्दी नदीका असला माछा प्राकृतिक चिकित्सालय तातोपानी कुण्डमा डुबेर उपचार गराउन आउने विरामीहरुका लागि पोषिलो खुराक र म्याग्दीमा आउने आन्तरिक तथा वाह्य पर्यटकहरुका लागि गतिलो कोशेली बनेका छन् ।

ADVERTISEMENT

असला माछा खानकै लागि तातोपानीमा आउनेहरुलाई पुर्‍याउन धौ-धौ हुने गरेको तातोपानीस्थित तुलाचन होटल एण्ड थकाली भान्सा घरका सञ्चालक मना तुलाचनले बताउनुभयो । “माछा कमै पाइन्छ, माग भने ह्वात्तै बढेको छ,तातोपानीकुण्डमा डुबेर उपचार गराउन आएका विरामी र घुम्न आएका पर्यटकहरुको माग थेगिनसक्नु हुन थालेपछि पुर्‍याउन सकिएको छैन” होटल संचालिका तुलाचनले भन्नुभयो “तातोपानीमा डुबेर उपचार गर्न,थकाई मेटाउन र म्याग्दी नदीका असला माछाको स्वाद लिन तातोपानीमा आउनुहोस् ।”

घुम्ने र तातोपानीमा स्नान गर्न जानेले कोशेलीको रुपमा लैजाने भएकाले जति रकम तिरेर भए पनि माछा किन्ने प्रचलन बढेपछि माछाको मूल्य पनि बढेको छ ।

पछिल्ला केही बर्ष नदीमा माछा कम हुँदै गएकाले स्थानीयको सहयोगमा प्रहरीले समेत विषादीको प्रयोग र करेन्ट लगाएर माछा मार्नप्रतिबन्ध लगाएको छ । तातोपानीका होटलहरुका भान्सामा विषादी रहित माछा पाक्ने गरेको छ। माछासँगै फापरको ढिँडोले यहाँको होटल व्यवसाय पनि राम्रोसँग फस्टाएको स्थानीय होटल व्यवसायीहरुको भनाइ रहेको छ ।

विगतमा सामान्य मानिने फापर स्वास्थ्यलाई हितकर हुने भएपछि पछिल्लो समय फापरको पिठोको ढिँडोसँगै माछा सबैको रोजाइमा पर्न गएको स्थानीय होटल व्यवसायी कृष्ण केसीले बताउनुभयाे । तातोपानीको उपल्लो र तल्लो बजार क्षेत्रमा सञ्चालनमा रहेका होटलहरुमा वास्थ्यका लागि राम्रो गर्ने र स्वादिलो हुने भएकाले म्याग्दी नदीको लोकल माछा र फापरको ढिँडो खान धेरैले मन पराउने गर्दछन् ।

खासगरी म्याग्दी नदीको माछा मीठो हुनेहुँदा माछासंगै मुस्ताङी फापरको ढिँडोको बिक्री ह्वात्तै बढेको होटल व्यवसायीहरुले बताएका छन् । फापरको ढिँडो, रोटी, माछाको सुप र फ्राई आइटमका खाना पर्यटकको रोजाईमा रहेको होटल ब्यवसायी एवम् तातोपानी कुण्ड ब्यवस्थापन समितिका सचिव कुमार केसीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *