काठमाडौं । काठमाडौं उपत्यकामा मेलम्चीको खानेपानी वितरण शुरु गरिएको छ ।
मेलम्ची खानेपानी विकास समितिले मङ्गलवारदेखि काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण शुरु गरेको हो । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक ई.रत्नप्रसाद लामिछानेले हाल काठमाडौं उपत्यकामा मेलम्ची खोलबाट दैनिक २२ करोड लिटर पानी ल्याइएको जानकारी दिनुभयो । अघिल्लो वर्षभन्दा यो वर्ष मेलम्चीको पानी छिटो काठमाडाैंमा आएको छ ।
पानी पठाउने संरचनामा निरन्तर अनुगमन गरेर क्षतिबाट बचाएकोले समयमै पानी काठमाडाैंमा पठाउन सकिएको प्रमुख लामिछानेले जानकारी दिनुभयो । न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उहाँले उपत्यकामा हिजोबाट दैनिक १७ करोड लिटर पानी प्रशोधन गरेर वितरण भइरहेको बताउनु भयो । उहाँले ५ करोड लिटर पानी भने बागमती नदिमा पठाइएको बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘मेलम्ची खोलामा अहिले प्रशस्त पानी छ । करिव ४० करोडदेखि ५० करोड लिटर पानी खोलामा छ तर हामीले सबै पानी डाइभर्ट गरेका छैनौँ । अहिले हामीले २५ करोड लिटर पानी डाइभर्ट गरेका छौँ । काठमाडौंमा करिब २२ करोड लिटर पानी आइपुगेको छ । तर हाम्रो पानी प्रशोधन केन्द्रको क्षमता भनेको १७ करोड लिटर मात्रै छ । बढीमा हामीले १८ करोड लिटर पानी प्रशोधन गर्नसक्छौँ । बाँकी रहेको पानी वागमती नदीमा छोडिरहेको छौँ । वागमती नदिमा दिनको करिव ४ करोड लिटर पानी मेलम्ची नदिबाट थपिएको छ । वागमती नदिमा अहिले करिब ९ करोड लिटर पानी थप भएको छ । हाम्रो ट्रिटमेन्ट प्लान्टमा करिव १८ करोड लिटर पानी प्रशोधन भएर वितरण भएको छ । ट्रिटमेन्ट भएको पानी पनि करिव १७ करोड लिटर प्लस हामीले वितरण गरिरहेका छौँ ।’
कार्यकारी निर्देशक लामिछानेले मेलम्चीबाट आएको पानी पिउनयोग्य भएको बताउनु भयो । उहाँले मेलम्चीबाट सुन्दरीजल ल्याइएको पानी चार तहसम्म प्रशोधन गरेर वितरण गरिने बताउनु भयो । यद्यपी पुरानो लाइनबाट गएको पानी भने पाइपहरुको टुटफुटका कारण प्रदुषित हुन सक्ने उहाँको भनाई छ । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले मेलम्ची आयोजनाको नयाँ लाइनबाट आएको पानी भने नउमालिकन पिउन सकिने गुणस्तरमा रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘एक त मेलम्चीको पानी सुन्दरीजलसम्म आउँदाखेरी पानी राम्रो नै आइराखेको हुन्छ । त्यहाँ हाम्रो अत्याधुनिक पानी प्रशोधन केन्द्रहरु छ । त्यहाँ हामीले ३÷४ लेयरमा पानीलाई प्रशोधन गरेर फेरि लास्टमा क्लोरीनेशन गरेर पठाउँछौँ । पुरानो लाइनबाट गएको पानी छ भने हामी भन्न सक्दैनौँ, हामीले शुद्ध पानी पठाउँदा पनि पाइप फुटेर अरु पानी प्रदुषित हुनसक्छ । तर हामीले पठाएको नयाँ लाइनबाट पानी आएको छ भने धाराको पानीलाई नउमालिकन पिउन सक्नेगरी पिउन योग्य गुणस्तरमा पठाएका छौँ । त्यसको गुणस्तर चेक हामी प्रत्येक दिन, प्रत्येक घण्टा पनि चेक गरेर ट्रिटमेन्ट प्लान्टबाट छोडेका छौँ । पुरानो लाइन कस्तो छ भन्न सकिन्न । तर नयाँ लाइनको पाइप जोडिएको छ भने त्यो पानी ढुक्कसँगले पिउन सक्ने अवस्था छ ।’
उहाँले काठमाडौं उपत्यका खानेपानी लिमिटेडले बागमती नदी मुहानबाट पानी संकलन गर्न अगाडि बढाएको योजना इआए स्वीकृत नभएको कारण रोकिएको बताउनु भयो । वागमती नदी मुहानमा वर्षातको समयमा प्रशस्त पानी रहने तर संकलन हुन नसक्दा खेर गएको बताउनु भयो । मुहानमा प्रशस्त पानी हुने तर तलका जनतामा पिउने पानीका लागि तड्पनुपर्ने अवस्था रहेको बताउनु भयो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत नहुँदा नागरिकलाई पानी वितरण गर्न नसकिएको बताउनु भयो । उहाँले वातावरणीय अध्ययन प्रतिवेदन फास्ट ट्रयाकमा स्वीकृत गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले अध्ययन प्रतिवेदन छिटो स्वीकृत गर्नुपर्ने कुरामा नीतिगत सुधार गर्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘नीतिगत निर्णय गर्नुपर्नेचाहीँ हामीसँग वर्षातको बेलामा वागमती नदिमा मुहान क्षेत्रमा प्रशस्त पानी रहन्छ । तर त्यहाँ अहिले हामीले पाँच करोड लिटर मात्रै पानी ल्याएका छौँ । त्यो ठाउँमा केयुकेएल र भ्याली बोर्डले पाइपलाइन बिस्तार गर्ने भनेर पाइपलाइनको क्यापिसिटी थप्ने गरिएको थियो त्यहाँ वातावरणीय अध्ययन प्रतिवेदनहरु छिटो स्वीकृत हुन नसकेको कारणले गर्दाखेरी वर्षातमा पानी खोलामा बग्ने जनताकोमा पानी पु¥याउन नसक्ने अवस्था रहेको थियो । खानेपानीको लागि वातावरणीय अध्ययन प्रतिवेदन छिटो स्वीकृत गर्ने गरेर अथवा प्रतिवेदन स्वीकृत गर्दै गर्ने गरेर काम गराउनलाई सरकारले नीतिगत रुपमा निर्णय गर्नुपर्नेछ । खोलामा पानी बढी भएर तल्लो तटिय क्षेत्रमा डुबान हुने । माथिल्लो तटिय क्षेत्रको पानीलाई १०÷१२ करोड पानी ल्याउन सकियो भने त्यो पानी जनताको घरमा डिस्ट्रिव्यूसन गर्न सक्ने । एकातिर जनताले पानी नपाउने । अर्कोतर्फ त्यही पानीले डुबान भोग्नुपर्ने कारणले यो वातावरणीय अध्ययन प्रतिवेदन लगायतका इस्युहरुलाई खानेपानीको सवालमा फास्ट ट्रयाक बाट गर्नुपर्छ । यसमा नीतिगत सुधार र निर्णय हुनुपर्ने विषय रहेको छ ।’
उहाँले अहिले २२ करोड लिटर पानी उपत्यकामा ल्याइएको भएपनि चैत र वैशाख महिनामा भने १७ करोड लिटर मात्रै ल्याइने जानकारी दिनुभयो । २०७८ साल असार १ गते र साउन १६, १७ गते मेलम्ची नदिमा आएको विनाशकारी बाढीले मेलम्ची नदिको पानी डाइभर्सन गर्न बनाइएको हेडवक्र्सका संरचना पूर्णरुपमा नष्ट भएपछि वर्षातको समयमा पानी काठमाडौंमा पठाउन छोडिएको थियो । वर्षात कम भएसँगै पानी काठमाडौं उपत्यकामा पठाउन थालिएको हो । न्युज एजेन्सी नेपाल







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts