विसं २०८१ को दशैँमा हामी प्रवेश गरिसकेका छौँ । प्रवेशमात्रै होइन दशैँ भनेर चिनिएका दिनहरूको आधाआधी समय कटिसकेको छ । असोज १७ गते घटस्थापनाका दिनदेखि सुरु भएको नवरात्रले नै दशैँको उद्घोष गरिसकेको छ । आजको दिनलाई फूलपाती भन्ने गरिएको छ भने भोलिदेखिका तीन दिन महाअष्टमी, महानवमी र विजया दशमीका नामले प्रख्यात छन् । २६ गते विजया दशमीका दिनमा टीकोटालो गरिसकेपछि दशैँ लगभग सकिएजस्तै हुन्छ यद्यपि कात्तिक १ गतेको कोजाग्रत पूर्णिमा पश्चात् भने दशैँलाई पूर्णरूपेण बिदा गरिन्छ । टीका थाप्नका लागि पञ्चांग निर्णायक समितिले शुभसाइत समेत निर्धारण गरिसकेको छ ।
नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार घटस्थापनाका दिनमा आरम्भ गरिएको देवीपूजन र घडाको विसर्जन टीकाका दिनमा बिहान ८.३३ बजे गर्नुपर्दछ । टीका लगाउनका लागि उत्तम साइत भनेर बिहान ११.३६ बजे निर्धारण गरिएको छ । टीका लगाइदिने मान्छे पश्चिम फर्किने र टीकाका लागि निधार थाप्नेहरू पूर्व फर्किने कुरा पनि सो समितिको सूचनामा बताइएको छ । समितिले ग्रह नक्षत्रादिको अवस्थिति हेरेर टीकाका लागि विशेष समय निकाले पनि देवीको प्रसाद ग्रहण गर्न कुनै साइतको आवश्यकता पर्दैन भन्ने पनि छ । कारणवश उक्त समयमा टीका थाप्न वा लगाइदिन नभियाउनेहरूले दिनभर नै जुनसुकै समयलाई उपयोग गर्न सक्दछन् ।
दशैँलाई उल्लासको पर्वका रूपमा मानिन्छ र समयको गति र विकासको फड्कोले केही परिवर्तन ल्याए पनि उल्लासको स्वरूपमा परिमार्जनमात्रै भएको छ, मनाउने प्रचलन भने तोडिएको छैन । केही उपबुज्रुकहरूले दशैँको महत्वका बारेमा नकारात्मक धारणा प्रस्तुत गर्न थालेकाले भने आफ्नो धर्म, संस्कृति, परम्परा र पहिचानमा गर्व गर्नेहरूमा चिन्ता उत्पन्न गराउन थालेको पनि छ ।
यो पर्व धार्मिक महत्वको मात्रै होइन । दशैँ पर्वले सामाजिक, आर्थिक, सांस्कृतिक र पारम्परिक विशेषताहरू बोकेको छ । नेपालीहरूको महान पर्वका रूपमा परिचिति र स्थापित दशैँ विगतमा जुन रूपमा मनाइन्थ्यो, त्यसमा परिवर्तन हुँदै आए पनि अद्यापि बहुजनको मनमनमा बस्न सफल छ । दशैँलाई उल्लासको पर्वका रूपमा मानिन्छ र समयको गति र विकासको फड्कोले केही परिवर्तन ल्याए पनि उल्लासको स्वरूपमा परिमार्जनमात्रै भएको छ, मनाउने प्रचलन भने तोडिएको छैन । केही उपबुज्रुकहरूले दशैँको महत्वका बारेमा नकारात्मक धारणा प्रस्तुत गर्न थालेकाले भने आफ्नो धर्म, संस्कृति, परम्परा र पहिचानमा गर्व गर्नेहरूमा चिन्ता उत्पन्न गराउन थालेको पनि छ । आजको पुस्ता जीवित हुँदासम्म दशैँ मानिन्छ नै, भोलिका पुस्ताले के गर्छन् भन्ने चाहिँ प्रश्न उठ्न थालेको छ ।
नौ दिन देवीको आराधना गरेर शक्ति प्राप्त भएको अनुभूति गराउने पर्व दशैँ हो । आफूभन्दा ठूलाबाट आशीर्वाद थापेर आफू धन्य भएको महसुस गर्ने चाड दशैँ हो । आशीर्वाद दिनेले मनैदेखि दिने र ग्रहण गर्नेले आशीर्वादमा उल्लेख गरिएका कुराहरूको प्राप्तितर्फ आफ्ना जीवनशैलीलाई मोड्ने हो भने आशीर्वादहरू पनि सफल हुन्छन् । टीकाका दिनमा थापेका आशीर्वादलाई विफल गराउने कर्महरूतर्फ प्रवृत्त हुँदै गएमा आशीर्वादले काम गर्दैन भन्ने पनि पुष्टि हुँदै जान्छ । यसअर्थमा दशैँ जीवन जिउने कला सिकाउने पर्वका रूपमा पनि लिन सकिन्छ ।
वर्षौं भेट नभएका आफन्तलाई भेट गराउने उत्सव दशैँ नै हो । नयाँ पुस्ताका केटाकेटीलाई आफन्तसँग परिचय गराउने पर्व पनि दशैँ नै हो ।
बिग्रेका सम्बन्धहरूलाई टीका थापेर वा लगाइदिएर सुधार्ने अवसर दशैँ नै हो । भइरहेका सम्बन्धलाई अझ गाढा बनाउँदै एकआपसमा नजिक्याउने चाड दशैँ नै हो । आफन्तको नदेखेका घरहरू देख्ने समय दशैँले नै दिन्छ । आफन्तमात्रै नभई समाजका ज्येष्ठ नागरिकसँग समेत टीका थाप्ने र आशीर्वाद लिने चलन भएकाले मानिसलाई सामाजिक प्राणी बनाउने चाड दशैँ नै हो । समग्रमा भन्नुपर्दा सकारात्मक असरमात्रै भएको र कुनै खाले नकारात्मक नतिजा नदिने पर्व दशैँ हो ।
विगतमा दशैँमा बाटोघाटो निर्माणमा समाज जुट्ने गर्दथ्यो । आजभोलि बाटो निर्माण सरकारको जिम्मामा पुगेपछि यो क्रम टुटेको छ । टोलटोलमा पिङ हालेर दशैँमा रमाइलो गरिन्थ्यो, जसले गाउँभरिका मान्छे एकैठाउँमा भेला भएर निकटता बढाउने काम हुन्थ्यो । पँधेरा, कुवाहरू सफा गर्न समाज जुट्थ्यो । सरकारले घरघरमा धारा अभियान ल्याएपछि अधिकांश गाउँमा यो कार्य पनि हराएको छ ।
सामाजिकतामा केही कमी आए पनि टोलटोलका पार्टी प्यालेसहरूमा थरिथरिका संघ संगठनले दशैँको शुभकामना आदानप्रदान र चियापान कार्यक्रम आयोजना गर्ने क्रम बढ्दै गएको छ । यसले गर्दा दशैँलाई समाप्त पार्न तम्सिएकाहरूको अहिल्यै कुनै तागत पुग्दैन जस्तो लाग्दछ ।
विकासले मानिसका हातहातमा मोबाइल र घरघरमा ल्यापटप दिएको छ । आजभोलिका युवाहरू समाजमा घुलमिल हुनभन्दा मोबाइलमै वा कम्प्युटरमै झुम्मिन उत्साहित हुने गरेका छन् । समाजका मान्छेहरूसँग चिनजान गर्नभन्दा इलेक्ट्रोनिक माध्यमहरूमा भेटिने मनोरञ्जनका साधनहरूमा रमाउन थालेका छन् । जसले युवाहरूमा डिप्रेसन बढाएको छ । घरका अभिभावकले समान्य गाली गरे सिनेमामा देखाए झैँ आत्महत्या गर्न किशोर किशोरीहरू पछि नपर्ने गरेको तथ्य हाम्रा सामु छ । यस्तो अवस्थालाई चिर्न दशैँ मनाउने हाम्रै पुरानै तरिका अवलम्बन गर्न जरुरी देखिन्छ ।
दशैँमा नयाँ लुगा लगाउने, मीठा खानेकुरा खाने जस्ता परम्पराले देशमा आर्थिक क्रियाकलापलाई समेत वृद्धि गराउँदछ । व्यापारीहरूको व्यापार बढाउँछ । मान्छेहरूका काममा वृद्धि ल्याउँछ । व्यापारिक क्रियाकलापमा संलग्न मजदुरहरूको समेत आयस्ता बढाउने गर्दथ्यो । आजभोलि अलिअलि कमाइ भएकाहरूले दशैँमा मात्र नभई हरेक महिना नयाँ लुगा किन्ने, हप्तैपिच्छे मासु खाने जस्ता प्रचलनहरू बढ्दै गएकाले दशैँमा केही व्यापार घटेको पनि पाइन्छ । यद्यपि बजारका भिडभाड हेर्दा दशैँको रौनक घटेको छैन भन्न सकिन्छ ।
आफ्नो चंगाले अरूकोलाई काट्दाको मजा नै बेग्लै हुन्थ्यो । जसले शरीरलाई चलायमान बनाउँथ्यो, तन्दुरुस्ती प्रदान गर्दथ्यो । आजभोलिका किशोरहरू पनि चंगाचेट प्रतियोगिता खेल्छन् तर आकाशमा उडाएर होइन । मोबाइलमा गेम खेल्छन्, जसले उनीहरूको आँखा बिगारेको छ, मष्तिष्कमा आघात पारिरहेको छ र घरमा एकलकाँटे बनाउँदै लगेको छ ।
दशैँमा दिइने बलिप्रथाको विरोधमा स्वर उराल्नेहरू पनि भेटिन्छन् । बिहान मासुभात र बेलुकी मासु मदिराबिना छाक नटर्नेहरू मिडियामा चर्केको पनि पाइएको छ । मनैदेखि सात्विकहरूले उठाएका कुरा बेग्लै हो । बलि दिने हिन्दुहरूमात्रै होइनन् । अन्य धर्मावलम्बीहरूका विशेष दिनहरूमा समेत बलि दिइन्छ तर उनीहरूका पर्वका विरुद्धमा आवाज कसैले उठाउँदैन । विश्वबाट हिन्दुत्व नाश गर्ने अभियानमा लागेकाहरूका लहैलहैमा लागेर दशैँको विरोध गर्नेहरू नभएका पनि होइनन् । यद्यपि नेपालीहरूले आजका मितिसम्म दशैँ पर्वलाई जोगाएका छन् र यसलाई निरन्तरता दिन आजका किशोरहरूले पनि सिक्नैपर्दछ ।
हामी केटाकेटी हुँदा चंगा उडाइन्थ्यो । चंगा उडाउनका लागि बजारबाट धागो किनेर ल्याई त्यसमा माझा लगाइन्थ्यो । अरूको चंगाले आफ्नो चंगालाई नकाटोस् भनेर धागो धारिलो बनाउन पुराना सिसीहरू फुटाई धुलो बनाएर पिठोमा पकाई धागोमा दलिन्थ्यो । आफ्नो चंगाले अरूकोलाई काट्दाको मजा नै बेग्लै हुन्थ्यो । जसले शरीरलाई चलायमान बनाउँथ्यो, तन्दुरुस्ती प्रदान गर्दथ्यो । आजभोलिका किशोरहरू पनि चंगाचेट प्रतियोगिता खेल्छन् तर आकाशमा उडाएर होइन । मोबाइलमा गेम खेल्छन्, जसले उनीहरूको आँखा बिगारेको छ, मष्तिष्कमा आघात पारिरहेको छ र घरमा एकलकाँटे बनाउँदै लगेको छ । समाजमा प्रस्तुत हुने र समूहमा कुरा गर्ने वाक्शिल्पी हराउँदै गएको छ ।
दक्षिणा जोगाउने लोभमा सातपुस्ता पारिको कोही दिवंगत हुँदा यसपालि हाम्रो घरमा दशैँ छैन भन्दै टीका नलगाउनेहरू पनि देखिन थालेका छन् । तिनै मान्छेहरूले नातिनातिनाहरूको बर्थ डे भन्दै मासु पुलाउ खाएको भने देखिन्छ । तीजमा दिदीबहिनी बोलाएर नाचगान गरेको पनि पाइन्छ, अनि जुठो परेको भनेर आफन्त जम्मा हुनेखालका वर्षभरिका पर्वहरूलाई विश्राम दिने गरेका पनि छन् । बिहेभोजमा गएर मासुभात दन्काउनेहरूले यसपालि हाम्रा घरमा टीका छैन भनेको कत्ति सुहाउँदैन र त्यस्तालाई समाजले के भन्छ भन्ने पनि उनीहरू आफंैले सोच्ने हो ।
समाजमा अनेक खालका मान्छे र विविध विचारहरू हुन्छन् नै । गर्न हुने के हो र गर्नुपर्ने के हो भन्ने विचार मानिसले गर्न सक्नुपर्दछ नै । हाम्रा चाडपर्वले हामीलाई विविध किसिमले धनी बनाएका हुन्छन् । पुर्खाले मान्दै आएका पर्व, परम्पराले हामीलाई बेग्लै परिचयका साथ स्थापित गरिरहेका हुन्छन् । जब हामीले आफ्नो धर्म परम्परा त्याग गर्दछौं, तब आफ्नो भन्ने केही बाँकी रहँदैन । दशैँ हाम्रो महान पर्व हो, त्यसै अनुरूप नै मनाऔं । यत्ति हो कि अरूको फुर्मासी खर्च देखेर अनावश्यक ऋण चाहिँ नबोकौँ । विजया दशमी २०८१ का शुभअवसरमा समस्त नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुस्वास्थ्य, दीर्घायू एवं उत्तरोत्तर प्रगतिको कामना !!







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts