यो गोठाले भाषाको शीर्षक लेखकको कल्पना किमार्थ होइन । लेखक यस्तो शीर्षकको प्रयोग भविष्यमा गर्न नपरोस् भन्ने कामना पनि गर्दछ । प्रस्तुत शीर्षक प्रधानमन्त्रीबाट सापटी लिएकोमा क्षमा चहान्छु । देश प्राकृतिक संकटमा भएको बेला यस्तो शब्द प्रयोग गर्न उचित थियो वा थिएन यसबारे छलफल र बहसबाट निस्केको निष्कर्षलाई प्रधानमन्त्रीले पक्कै शिरोधार्य गर्नुहुन्छ । यस्ता विषयमा सार्वजनिक पदमा रहदासम्म मेरो गोरुको बाह्रै टक्का भन्ने छुट प्रधानमन्त्रीलाई छैन । यस्तो भाषाको प्रयोगले प्रधानमन्त्रीको दम्भ, घमण्ड र उत्ताउलोपनको प्रतिनिधित्व गर्छ भन्ने हेक्का आगामी दिनका बहालवाला प्रधानमन्त्रीहरूलाई हुनसक्यो र सक्किने भन्दा सच्चिने दिशातर्फ प्रधानमन्त्रीहरू व्यवहारमा उन्मुख हुने परिस्थिति बन्यो भने लेख सान्दर्भिक ठहरिएला ।
अझै पनि नेपाली राजनीति सक्किनेहरूको होइन सच्चिनेहरूको खोजीमा छ । प्रधानमन्त्रीहरू आलोचित र बदनाम हुनबाट आगामी दिनहरूमा जोगिनका लागि होसियार हुन दिशानिर्देश गर्यो आलेख सार्थक हुनेछ । प्रधानमन्त्रीको पद र व्यक्ति देशवासीहरूको गौरव हो । उसको आलोचना र बदनामले देशवासीहरू स्वतःबदनाम हुने विषयमा अन्यथा दृष्टिकोण कसैको नहुनुपर्छ । आगामी दिनमा यदि सार्वजनिक पदमा हुनेहरूले शब्दमा हेक्का राख्नुपर्छ भन्ने सचेतना प्रवाह गर्न र खबरदारी गर्न सक्यो भने यो शीर्षक सान्दर्भिक ठहर्ला ।
यदि दुईतिहाइको दम्भ प्रधानमन्त्रीमा पलाएको हो भने नेपाली जनताको सुशासनको खेतीमा पक्कै पनि फल लाग्दैन । यसअघिका जस्तै यो सरकार पनि नेपाली जनताको लागि थारो गाई प्रमाणित हुनेछ । सत्तामा हुँदा दम्भको खेतीमा रमाउने र सत्ताबाहिर बस्नै नसक्ने नेपाली राजनीतिको दीर्घ रोगले हाम्रो राजनीति बदनाम छ ।
वर्तमान प्रधानमन्त्रीले अमेरिका भ्रमणपछि रातो कार्पेटमा सेनाको सलामी ग्रहणपछिको पत्रकार सम्मेलनमा विशिष्ट पत्रकारहरूलाई पस्केको भाषा हो । प्रकारान्तरले उहाँले र उहाँको बढी ल्याङ्वेजले नेपाली जनतालाई दिएको हेपुवा शब्दोपहार पनि हो । यो शब्द प्रधानमन्त्रीको कार्यशैली, कार्यक्षमता, शालीनता, भद्रता आदिको एकमुष्ट परिचय पनि हो । आँ गर्दा अलंकार बुझ्ने प्रधानमन्त्रीले यी शब्दहरू नबुझेर प्रयोग गर्नुभएको पक्कै होइन । अहिलेको सरकारको बनौटको दम्भदेखि अब सम्भावित अनियमितताका शृंखलाको कतै पूर्वजानकारी त होइन भनेर जनताले बुझे भने अन्यथा भन्न मिल्दैन ? दम्भले अनियमितता र कुशासनको जबरजस्त प्रतिनिधित्व गर्छ भन्ने हेक्का प्रधानमन्त्रीले नबुझेको विषय पक्कै होइन । प्रजातान्त्रिक शासनको कमजोरी नै बहुमत हुँदा मात्तिने र अल्पमतमा आत्तिने चरित्र र प्रवृत्तिले नेपाली शासकहरू बदनाम छन् ।
यो अप्रासंगिक, असान्दर्भिक र अशिष्ट उत्तर किन र कसरी आयो ? यो कतै बहुमतको दम्भ त होइन भन्ने व्याख्या गर्नेहरू पनि गलत ठहरिने छैनन् । आवश्यकभन्दा बढी मल भयो भने नलमात्रै बढ्छ तर फल्दैन । यदि दुईतिहाइको दम्भ प्रधानमन्त्रीमा पलाएको हो भने नेपाली जनताको सुशासनको खेतीमा पक्कै पनि फल लाग्दैन । यसअघिका जस्तै यो सरकार पनि नेपाली जनताका लागि थारो गाई प्रमाणित हुनेछ । सत्तामा हुँदा दम्भको खेतीमा रमाउने र सत्ताबाहिर बस्नै नसक्ने नेपाली राजनीतिको दीर्घ रोगले हाम्रो राजनीति बदनाम छ । बदनामलाई नै उपलब्धि ठान्ने चरित्रको प्रतिनिधित्व कतै प्रधानमन्त्रीज्यूबाट भएको होइन ? भाषणले, दम्भले र दुईतिहाइले मात्रै विकास हुन्न भन्नेमा प्रधानमन्त्रीलाई पूर्वज्ञान छ ।
हिजो पनि दुईतिहाइ प्रधानमन्त्रीजीलाई नपचेकै हो । उहाँले एयरपोर्टमा प्रयोग गरेको असान्दर्भिक शब्द अहिले चौतर्फी प्रश्नको घेराबन्दीमा छ । यस्तो अप्रासंगिक शब्दको प्रयोगले विश्वका प्रजातान्त्रिक शासकहरूले पद त्याग गर्नुपरेका उदाहरण पनि छन् । यसबारे हाम्रो प्रधानमन्त्री अनभिज्ञ पक्कै हुनुहुन्न । बाढीपहिरोका कारण सिर्जित राष्ट्रिय संकटमा सम्माननीय प्रधानमन्त्रीज्यू अमेरिकाको भ्रमण छोट्याएर तुरुन्तै फर्कनु पर्दथ्यो भन्ने पत्रकारको प्रश्न अत्यन्तै सान्दर्भिक थियो । त्यो सालीन र सान्दर्भिक प्रश्नको असान्दर्भिक उत्तरको अपेक्षा न पत्रकारले गरेका थिए न त जनताले ।
प्रधानमन्त्रीबाट यस्तो असान्दर्भिक, अप्रासंगिक र उरन्ठेउलो उत्तरको अपेक्षा गरेर सम्भवतः यो प्रश्न पत्रकारबाट गरिएको पक्कै थिएन । आफ्नो कमजोरीलाई प्रधानमन्त्रीले स्वीकार गरेको भए के बिग्रन्थ्यो ? प्रधानमन्त्रीमा म कहिल्यै गल्ती गर्दिन भन्ने घमण्ड, दम्भ र उत्ताउलोपन यस्तो सम्वेदनशील घडीमा पस्कनु प्रधानमन्त्रीको अक्षम्य भूल हो । बारम्बार सत्तामा जाने भ्रष्टाचारका आरोप थप्ने रोगले तपाईंप्रति नेपाली जनताको विश्वास छैन भन्ने हेक्का प्रधानमन्त्रीमा हुनुपर्छ । प्रधानमन्त्री पनि मानिस हुन् । मानिसले गल्ती गर्छ । त्यसलाई सधैं नकार्ने प्रवृत्तिलाई परित्याग गर्दा हुने लाभलाई उहाँले किन लिनुहुन्न ? फलेको वृक्षको हाँगो सधैं झुक्छ भन्ने सत्य र तथ्यभन्दा पर प्रधानमन्त्रीको अभिव्यक्ति किन आयो ?
विगतमा यस्तै प्रकोपलाई अलच्छिना भन्ने ओलीलाई अहिले उनको शब्द फिर्ता गरे कस्तो लाग्ला ? बोली र गोली एकपटक फुत्केपछि फर्कँदैनन् भन्ने ज्ञान प्रधानमन्त्रीलाई छैन कसरी भन्ने ? प्रधानमन्त्रीको भैंसी दुहुन म अमेरिका गएको हुँ भन्ने अभिव्यक्तिले तित्राको मुखै बैरी भन्ने उखान चरितार्थ भएको छ । त्यो सकारात्मक प्रश्नलाई ओठे जबाफ देशको जिम्मेवार पदमा बस्ने व्यक्तिको गैरजिम्मेवार र असान्दर्भिक उत्तर हो । अर्को अर्थमा प्रधानमन्त्रीको नेपाली जनतालाई हेपेको र मपाईंवादको चरमोत्कर्षभन्दा पनि अत्युक्ति हँुदैन । यस सन्दर्भमा पद अनुकूलको आचरण प्रधानमन्त्रीबाट भएन भन्नेहरू किमार्थ गलत ठहरिँदैनन् । यस्तो हेपाहा उत्तर दिन राणा प्रधानमन्त्रीलाई सुहाउने विषय होला तर जननिर्वाचित प्रधानमन्त्रीलाई सुहाउँदैन ।
यो उत्तर पत्रकारलाई मात्रै हेपेर दिइएको होइन । यो नेपाली जनतालाई समेत हेपेको उत्तर हो । यस्तो शब्दको प्रयोगले नेपाली राजनीति अझै विकृतिउन्मुख छ भन्ने संकेत पनि हो । यो उत्तर अनिष्टको संकेत हो भनेर बुझ्नेहरू पनि पक्कै गलत हुने छैनन् । मैले जे गरेँ त्यो ठीक । मैले जे बोलेँ त्यो ठीक भन्ने जंगबहादुर शैली र आचरण जननिर्वाचित प्रधानमन्त्रीका लागि शोभनीय विषय होइन । प्रधानमन्त्रीको शब्द आतंगवाद आपत्तिजनक छ । यस शब्दका लागि प्रधानमन्त्रीले नेपाली जनतासँग माफी माग्नुपर्छ । सांसदहरूबाट यो शब्द ब्रहृमको विरोधमा आवाज नसुनिनु अर्को दुर्भाग्य हो । प्रधानमन्त्री व्यक्ति नभएर देशको आदरणीय संस्था हो । सर्वोच्च पदमा आसीन व्यक्तिले अन्टसन्ट अभिव्यक्ति दिनु शिष्टाचारविरुद्धको आचरण हो ।
तिमीहरूको शासन शैली, व्यवहार, आचरण ठीक छैन । तिमीहरूले हामीप्रति अन्याय गरेका छौ । युवाहरूलाई निर्यात गर्ने नीति लिएर देशमा शासन गर्न पाइँदैन भन्ने टुँडिखेलका युवाहरूको आवाजलाई संस्कारहीन भन्ने प्रधानमन्त्रीबाट यो कुनै सन्दर्भ नभएको असान्दर्भिक र अशोभनीय प्रसंग कसरी र किन आयो ? उहाँको संस्कारले किन धोका खायो ? नेपाली जनताले यसबारे प्रश्न गर्न पाउने कि नपाउने ? यो श्री ३ को शासनको अवस्था होइन भन्ने ख्याल प्रधानमन्त्रीले गर्नुपर्ने कि नपर्ने ? यस्ता ठट्टा र उखाने शब्दहरूको प्रयोगमा प्रधानमन्त्रीजी बारम्बार किन चुक्छन् ?
सार्वजनिक पदमा रहँदाका बखत कसैलाई पनि चुक्ने छुट किमार्थ छैन । राजनीतिमा सच्चिने कि सक्किनेको तेस्रो विकल्प नभएको कुरा प्रधानमन्त्रीको पदमा रहने व्यक्तिलाई जानकारी र ख्याल भएकै हुनुपर्छ । त्यो हेक्का नहुनेहरूलाई सर्वोच्च पदमा बस्ने नैतिक हक हुँदैन । अहिले नेपाली राजनीतिमा नैतिकता पोइल गएको अवस्था छ । त्यसैले यो स्वीकार्य हुन्छ भन्ने दृष्टिकोणले सायद प्रधानमन्त्रीले भैंसी दुहुन अमेरिका गएको होइन भन्ने शब्द प्रयोग गर्नुभयो । हामीलाई थाह छ प्रधानमन्त्रीजी भैंसी दुहुन जान्नु हुन्छ तर अहिले देशको जिम्मेवारी सम्हालेको व्यक्ति अमेरिका भैंसी दुहन गयो भन्ने कल्पनासम्म नगरेको उत्तर आउने विषय नेपाली जनताको लागि दुर्भाग्य हो ।
प्रधानमन्त्रीजी भन्दा धेरै पढेका, हिजो ओलीको आर्थिक अवस्थाभन्दा धेरै राम्रो अवस्था हुनेहरू अमेरिकामा, अष्ट्रेलियामा भैंसी दुहुन गएका र उतै भास्सिएका व्यथाको जानकारी भएको अवस्थामा प्रधानमन्त्री नै कतै भैंसी दुहने भावी योजना बुन्नका लागि अमेरिका गएको सत्य वचन उहाँबाट फुस्केको होइन भन्नेहरू के गलत हुन सक्छन् ? प्रधानमन्त्रीसँग अहिले यस पदमा रहदासम्म ठट्टा, उखान र अनर्थ लाग्ने शब्दहरू प्रयोग गर्ने छुट उहाँलाई छैन । मर्यादाविपरीतका शब्द भण्डार प्रधानमन्त्रीजीसँग थुप्रै छन् भन्ने कुरा नेपालीलाई अवगतै छ । तर, ती उहाँसँग भएका शब्दहरू प्रधानमन्त्रीको पदमा रहँदासम्म जताभावी प्रयोग गर्ने छुट छैन । शोभनीय पनि हुँदैन ।
प्रधानमन्त्रीले प्रयोग गरेका शब्दको अर्थ सकारात्मक लाग्नुपर्छ भन्ने विषयको हेक्का प्रधानमन्त्रीलाई हुनुपर्छ । त्यतिमात्र होइन यो आपत्तिजनक उत्तर पनि हो । सरकारको उच्च पदमा रहँदाका बखत पदीय हैसियत अनुसार हिँड्ने, बोल्ने, व्यवहार गर्ने उच्च दर्जाको संस्कार अनिवार्य निर्वाह गर्नुपर्छ । सुशासन प्रधानमन्त्रीको बोली शालीनता, व्यवहार, विनयशीलतामा पनि जनताले अनुभूति गर्न पाउनुपर्छ । रुखो र असान्दर्भिक उत्तरको अपेक्षा नै नगरेको अवस्थामा यस्तो उत्तरले प्रधानमन्त्री आफैंले आफ्नो कद घटाउनु भयो । टुँडिखेलमा युवाहरूसँग संस्कारका कुरा गर्ने ओलीले अमेरिकाबाट फर्केपछि दिएको संस्कारहीन अभिव्यक्तिले नेपालीहरूको शिर निहुरिने र नागरिक लज्जित हुने अवस्था दुर्भाग्यपूर्ण हो ।
दण्ड र पुरस्कार साथै ठीक मानिस ठीक पदमा पुग्ने व्यवस्थाका लागि नेपाली राजनीति सधैं किन चुक्छ ? जति प्रधानमन्त्री बने पनि उनीहरूको क्रियाकलापले सबैको हैसियत र कार्यशैलीमा सधैं किन प्रश्नचिहृन लाग्छ ? नेपालीहरूका लागि प्रजातान्त्रिक शासन व्यवस्था के गरिष्ठ भोजन ठहरिएको हो ?
सार्वजनिक पदमा बहाल हुँदा सम्बन्धित व्यक्तिले म पदमा छु भन्ने हेक्का राखेर बोल्नुपर्छ । देशको उच्च पदमा पुग्दासमेत मर्यादाको ख्याल नगर्ने शैली ढिलै भए पनि परिवर्तन गर्न र सच्चिन जरुरी छ । देशको प्रधानमन्त्री राष्ट्र संकटमा रहेको बेला किन ढिलो फर्कनुभयो भन्ने प्रश्नको उत्तर यस्तो लज्जास्पद र ठोसे भाषामा दिनु देशले योग्य व्यक्ति प्रधानमन्त्रीको रूपमा नपाएको प्रमाणित हुन्छ । हाम्रो राजनीतिको दुर्भाग्य नै योग्य व्यक्तिहरू उच्च पदमा छनौट हुन नसक्नाले देश अहिलेसम्म अयोग्यहरूबाटै सञ्चालन हुँदै आएको छ भन्ने कुरा प्रधानमन्त्रीको उत्तरले फेरि एकपटक प्रमाणित गरेको छ ।
काठको किराले पूरै कुर्सी खान्छ भने कुर्सीका कीराले पूरै देश खान्छ भन्ने उखानलाई नेपाली राजनीतिमा कुर्सी मोहमा रमाउनेहरूले अब प्रमाणित नै गरिसकेको विषय हो । संघीयतालाई टिकाउनका लागि वैदेशिक ऋण लिने काम भनेको उत्पादन शून्य उद्योगमा लगानी गर्नु हो । यस्तो लगानी विवेकहीनबाट मात्र हुन्छ । सचेत लगानीकर्ताले आम्दानीको सम्भावना शून्य उद्योगहरूमा लगानी किमार्थ गर्दैनन् तर हाम्रो राजनीतिक नेतृत्व राजनीतिक कार्यकर्तालाई तलबी कर्मचारी बनाएर देशलाई लुट्न वैदेशिक ऋण प्रयोग गरेका छन् । यो राज्यलाई टाट पल्टाउने अस्त्र हो । यो लुटलाई बुझ्दाबुझ्दै बुझ पचाएर साथ दिने पार्टीका विवेकलाई कसैको जिम्मा लगाएका कार्यकर्ताको चरित्र र विवेकप्रति भने टिठ लाग्छ ।
राजनीतिक कार्यकर्ताको संख्या बढाउने र तिनीहरूलाई तलबी बनाउने तजबिजी अधिकार भएको संविधानले देश खोक्रो भयो । खोक्रो देश बनाउन जिम्मेवारहरू अब होसियार भन्ने जनताको आवाज एकमुष्ट उर्लियो भने तिम्रो बोलीमा सरस्वतीले बास गरेको भए यदि तिम्रा अनियमितताहरूको छानबिन सुरु भयो भने भैंसी दुहुन अमेरिका जानेसम्मको छुट पनि नमिल्न सक्छ । मरिचमान जस्तो कतै अनियमिततामा नमुछिएको व्यक्तिले कुखुरा पालन गरेर जीवनयापन गरेको हेक्का वर्तमान प्रधानमन्त्रीलाई पक्कै हुनुपर्छ । यो गठबन्धनको औचित्य र उपयोगितालाई बकम्फुसे तर्कले पुष्टि गर्ने र काम फुट्टी नगर्ने परिस्थिति जनताको अर्को दुर्भाग्य हो ।
तपाईं प्रधानमन्त्रीका रूपमा कति पटक असफल हुने ? सबै असफलहरूको बीच हुने गठबन्धन अझ प्रधानमन्त्रीकै भाषा सापटी लिने हो भने ठगबन्धनहरू सधैं असफल हुने तर त्यसक्रममा राष्ट्र निर्माणको जिम्मेवारीमा हुनेहरू प्रायः सबै अवैधानिक आर्थिक संकलनमा सफल हुने तर देश र जनता सधैं असफल हुने कारणहरूको छानबिन र कारबाही सत्ताबाट बहिर्गमनपछि गर्ने प्रक्रियाविना जिम्मेवारहरू अनुशासित किमार्थ हँुदैनन् । सिंहदरबारमा झुड्याइएका तिम्रा लस्करै फोटाहरूलाई पछि जनताले चर्पीमा फाल्नुपर्ने अवस्था सिर्जना नहोस् ।
दण्ड र पुरस्कार साथै ठीक मानिस ठीक पदमा पुग्ने व्यवस्थाका लागि नेपाली राजनीति सधैं किन चुक्छ ? जति प्रधानमन्त्री बने पनि उनीहरूको क्रियाकलापले सबैको हैसियत र कार्यशैलीमा सधैं किन प्रश्नचिहृन लाग्छ ? नेपालीहरूका लागि प्रजातान्त्रिक शासन व्यवस्था के गरिष्ठ भोजन ठहरिएको हो ? प्रजातान्त्रिक शासकमा हुन पर्ने न्यूनतम् नैतिकता, सदाचार, इमानदारी, अनुशासन, विनयशीलता र इन्टग्रिटीको खडेरीबाट मुक्ति खोज्न बंगलादेश र श्रीलंकामा युवाहरू जुर्मुराए सफल पनि भए । अब नेपाली युवायुवतीहरू यिनीहरूका अपशब्द, ज्यादती, नातावाद र भ्रष्टाचारका विरुद्ध कहिले मैदानमा उत्रने ? जनताको धैर्यको बाँध फुट्यो भने बंगलादेशमा जस्तै प्रधानमन्त्रीलाई आधा घण्टाको समय सेनाले तोक्नेछ । समय छँदै ख्याल गर । समयमा होस नपुगे पछुताउने समय बाँकी रहनेछैन ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता