
काठमाडौं । लेबनानमा इजरायलको बमबारी जारी छ । लेबनानमा हिज्बुल्लाह विरुद्धको युद्धलाई इजरायलले तीव्रता दिएयता दक्षिण राजधानी बेरुतमा इजरायली सेनाले सबैभन्दा खराब बम हमला गरेको छ । लेबनानको राजधानीभन्दा दक्षिणी भागमा शनिबार राति ३० वटाभन्दा बढी हवाई हमलाहरू भएका छन् । इजरायलले लेबनानमा आक्रमण सुरु गरेदेखि १४ सय जनाको मृत्यु भइसकेको बताइएको छ ।
गत सोमबार इजरायलले लेबनानको भूमिमा प्रवेश गरी आक्रमण सुरु गरेको थियो । गत मंगलबार इजरायलले १८ वर्षपछि बेरुतमा आक्रमण गरेको हो । शनिबार राति पनि शृंखलाबद्ध हवाई आक्रमण गर्यो । बेरुतको दक्षिणी क्षेत्रमा हिजबुल्लाहको बलियो उपस्थिति रहेको मानिन्छ । यी हवाई हमलाका क्रममा बेरुतका धेरै क्षेत्रमा आगो र धुवाँ देखिएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् । इजरायलले कतिपय इन्धन डिपोमा हमला गरेको छ । उक्त क्षेत्र खाली गर्न सर्वसाधारणलाई उर्दी जारी गरिएको छ । इजरायलले हिज्बुल्लाहका अखडामाथि हमला जारी राखेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
इजरायली डिफेन्स फोर्सले दक्षिणी सीमाबाट ३० वटा जति रकेट इजरायलको उत्तरी शहर किर्यात शमोनातर्फ प्रहार गरिएको उल्लेख गरेको छ । हिज्बुल्लाहले भने आफ्नो लडाकुहरूले लेबनानको गाउँमा घुसपैठ गर्न खोजेका इजरायली सैनिकहरूलाई धपाएको दाबी गरेको छ । लेबनानको स्वास्थ्य मन्त्रालयले शनिबार राति देशका विभिन्न ठाउँमा भएका इजरायली हमलामा कम्तीमा २३ जनाको मृत्यु भएको र थप ९३ जना घाइते भएको जनाएको छ । बेरुतको बाहिरी क्षेत्रमा रातिको समयमा भएको सबैभन्दा खराब हमलाका रूपमा पछिल्लो इजरायली आक्रमणलाई लिइएको छ । आइडिएफले उद्धारका लागि चेतावनी जारी गरेपछि हवाई हमलाहरू गरिएका बताइएको छ ।
भारी हवाई हमलाका क्रममा भएका विस्फोटन र जम्मा भएका भग्नावशेषका कारण उक्त क्षेत्रका सडकहरू भत्किएका छन् भने मानिसहरू खाली खुट्टा भागेका थिए । इजरायली सेनाले आफ्नो स्थल कारबाहीमा दक्षिणी लेबननमा ४४० जना हिज्बुल्लाह लडाकुको ज्यान गएको दाबी गरेको छ । संयुक्त राष्ट्रसंघका अनुसार हालैका हप्तामा झण्डै दुई लाख मानिसहरू लेबनानबाट भागेर सिरिया पुगेका छन् । हालै इजरायली हमलामा हिजबुल्लाहका प्रमुख हसन नसरल्लाह मारिएपछि इरानले पनि इजरायलमा धेरै रकेट प्रहार गरेको थियो । इजरायलले यमनमा पनि हुथी विद्रोहीविरुद्ध बमबारी गरेको छ ।
हमासले गरेको आक्रमणको वार्षिकी
इजरायलले आफ्नो भूमिमा प्यालेष्टिनी इस्लामिक लडाकु समूह हमासले अक्टोबर ७ मा गरेको आक्रमणको वर्ष दिनको पूर्वसन्ध्यामा आइतबार आफ्ना सेनालाई तयारी अवस्थामा राखेको छ । इजरायली सेनाले इरानले गरेको क्षेप्यास्त्र आक्रमणको बदला लिने तयारी गरिरहेको सैन्य अधिकारीहरूको दाबी छ । लेबनानी समूह हिज्बुल्लाहसँग इजरायलको युद्ध चर्किरहेका बेला सैन्य प्रमुख लेफ्टिनेन्ट जनरल हर्जी हालेभीले कुनै छुट वा राहतबिना आक्रमण हुने बताएका छन् । सेनाका प्रवक्ता रियर एडमिरल ड्यानियल हेगारीले अगस्ट ७ को भयानक वर्षगाँठको पूर्वसन्ध्यामा टेलिभिजनमा प्रसारण गरिएको ब्रिफिङमा यस दिनका लागि थप सेनाका साथ तयार रहेको बताएका छन् । अक्टोबर ७ मा प्यालेस्टिनी समूहले इजरायलमाथि एक्कासि गरेको आक्रमणमा परी एक हजार २०५ जनाको मृत्यु भएको थियो ।
आक्रमणमा मारिनेमा अधिकांश सर्वसाधारण थिए । एक वर्षपछि पनि गाजामा युद्ध जारी छ भने इजरायलले आफ्नो ध्यान लेबनान र इरान समर्थित हिजबुल्लाहतर्फ केन्द्रित गरेको छ । इजरायलले आफ्नो देशको उत्तरी क्षेत्रमा हिजबुल्लाहको रकेट आक्रमणका कारण विस्थापित भएका हजारौं नागरिकलाई स्वदेश फर्कन दिने लक्ष्य राखेको जनाएको छ । हालै इरानले इजरायलमा करिब २०० क्षेप्यास्त्र प्रहार गरेको थियो । यसलाई लिएर इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले इरानबाट अझै खतरा रहेको बताएका छन् ।
नेपाली त्रसित
लेबनानको राजधानी बेरुतमा कार्यरत नेपाली श्रमिक एक सातादेखि डरैडरमा बाँचिरहेका छन् । इजरायलले बेरुतमा नै आक्रमण केन्द्रित गर्न थालेपछि नेपाली त्रसित बन्न थालेका हुन् । बेरुतमा पछिल्लो अवस्था थप खतरापूर्ण बन्दै गएको नेपाली श्रमिकहरूले बताएका छन् । उनीहरूले आफूहरूको स्वदेश फिर्ताको लागि पहल गरिदिन नेपाल सरकारसँग आग्रह गरेका छन् । कैयौँ दिनसम्म गरिएको बमबारी तथा हिज्बुल्लाह समूहविरुद्ध गरिएका लक्षित आक्रमणपछि इजरायलले लेबनानमा स्थल अतिक्रमण गरिरहेको छ ।
लेबनान र इजरायलमा रहेका नेपालीलाई सहयोग गर्न परराष्ट्र मन्त्रीको निर्देशन
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायल र लेबनानमा रहेका नेपालीहरूको अवस्थाबारे जानकारी लिएर अपडेट भइरहन त्यहाँस्थित नेपाली दूतावासहरूलाई निर्देशन दिनुभएको छ । ती देशमा अवस्थित नेपाली राजदूतहरूसँग आइतबार मन्त्रालयबाट भर्चुअल बैठक गरी मन्त्री राणाले इजरायल र लेबनानमा विकसित पछिल्लो परिस्थितिका बारेमा जानकारी लिनुभएको हो । बैठकमा मन्त्री राणाले पछिल्लो समयमा विशेषगरी लेबनानमा विकसित परिस्थितिका कारण त्यहाँ रहेका नेपालीको अवस्थाबारे नेपालमा चिन्ता बढिरहेकाले उनीहरूसँग सम्पर्कमा रहेर आवश्यक सहयोग गर्न निर्देशन दिएकी दिनुभएको हो ।
बैठकमा परराष्ट्रमन्त्री राणाले भन्नुभयो, ‘कुनै पनि प्रकारले त्यहाँ रहेका सबै नेपालीहरूको सम्पर्कमा पुग्ने प्रयास गर्नु, कोही तत्कालै स्वदेश फर्कनका लागि सहयोग चाहनुहुन्छ भने त्यसका लागि समन्वय गर्नु र यदि त्यहाँबाट नेपाली नागरिकको उद्धार गरेर स्वदेश ल्याउनुपर्ने अवस्था आउनसक्छ भने त्यसका लागि पनि आवश्यक गृहकार्य गर्नु ।’ मन्त्री राणाले सम्बन्धित देशका दूतावासहरूलाई सूचना जारी गरी सम्पर्क व्यक्ति तोक्न र आवश्यकता अनुसारका ‘हेल्पडेस्क’ स्थापना गरेर समस्यामा परेका नेपालीलाई आवश्यक सहायता र समन्वय प्रदान गर्न पनि निर्देशन दिनुभएको छ । इजिप्टका लागि नेपाली राजदूत सुशील लम्सालले लेबनानको पछिल्लो अवस्थाको जानकारी गराउँदै त्यहाँ रहेका नेपालीहरूलाई अहिले नै त्यस्तो कुनै समस्या नरहेको बताउनुभएको छ । त्यहाँ हाल करिब एक हजार दुई सय नेपाली रहेका अनुमान गरिएको र उनीहरूमध्ये अधिकांश घरायसी काममा रहेका जानकारी दिँदै दूतावासले जारी गरेको सूचनाका आधारमा तीनजना मात्र सम्पर्कमा आएको र उनीहरू पनि बेरुतमा सुरक्षित रहेको जानकारी आएको बताउनुभयो ।
हाल कुनै पनि नेपालीले आफूलाई समस्या परेको भनी जानकारी नगरेको, तर नेपालमा रहेका आफन्तहरू बढी चिन्तित भएको समेत उहाँको भनाइ छ । इजरायलका लागि नेपाली कार्यवाहक राजदूत कुमार श्रेष्ठले इजरायलको अवस्था सामान्य रहेको र त्यहाँ रहेका करिब चार हजार पाँच सय नेपाली सुरक्षित रहेको जानकारी दिनुभयो । बैठकमा पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले इरानको पछिल्लो अवस्थाबारे जानकारी गराउनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच