काठमाडौं । सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थाले सकार गरेको गैरबैंकिङ सम्पत्तिलाई बैंकिङ सम्पत्तिमा रूपान्तरण गरेपछि धितो धनीले हकदाबी गर्न नपाउने व्याख्या गरेको छ । निवेदक सुरेश शुक्लाविरुद्ध नेपाल राष्ट्र बैंक, नेपाल बैंक लिमिटेडसमेत विपक्षी भएको मुद्दामा सर्वोच्चले बैंकिङ सम्पत्तिका रूपमा उपभोग गरिसकेको सम्पत्तिलाई फिर्ता माग गर्ने अधिकार धितो धनीलाई नहुने व्याख्या गरेको हो ।
न्यायाधीशद्वय हरिप्रसाद फुँयाल र बालकृष्ण ढकालको संयुक्त इजलासले २०८१ असार २० गते गरेको फैसलाको हालसालै जारी भएको पूर्णपाठमा बैंकिङ सम्पत्तिमा लेखांकन भएपछि त्यस्तो सम्पत्ति सम्बन्धित धनीलाई फिर्ता दिनु न्यायोचितसमेत नहुने व्याख्या अदालतले गरेको हो । गैरबैंकिङ सम्पत्तिमा समेत बैंकले सकार गरेको वा तेस्रो व्यक्तिमा हक हस्तान्तरण भए पनि धितो धनीले माग गर्दै फिर्ता प्रक्रियाका लागि बैंक तथा वित्तीय संस्था बाध्य नहुने अदालतको व्याख्या छ । गैरबैंकिङ सम्पत्ति दुवै पक्ष सहमत भएमा तोकिएको लेखांकन पूरा गरेर धितो धनीले पाउनसक्ने भने अदालतको फैसला छ तर यसका लागि पनि दुवै पक्ष सहमत हुनुपर्ने व्याख्या अदालतको छ ।
‘बैंकिङ सम्पत्तिमा सम्बन्धित बैंकले आफ्नो उपयोगका लागि गरेको थप लगानी आफूलाई अवश्यक पर्ने संरचनाको निर्माण वा सोमा भएको लागत तथा खर्च, बैंकको आवश्यकता र त्यहाँको उपभोगको अवस्था आदि जस्ता जटिल कुरालाई बेवास्ता गर्न सकिन्न,’ सर्वोच्चको व्याख्यामा भनिएको छ, ‘त्यसरी नेपाल बैंकले बैंकिङ सम्पत्तिका रूपमा उपयोग गरेको सम्पत्तिलाई फिर्ता माग गर्ने अधिकार निवेदकलाई रहे भएको देखिन आएन ।’ बैंक तथा वित्तीय संस्थाले ऋणीले तोकिएको समयमा कर्जाको साँवा तथा ब्याज नतिरेमा सुरक्षणबापतको धितो लिलाम गर्न पाउने, गैरबैंकिङ तथा बैंकिङ सम्पत्तिमा लेखांकन गर्न पाउने कानुनी अधिकार नै भएको फैसलामा उल्लेख गरेको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा