नेपाली सनातन धर्मावलम्बीको महान् चाड बडादसैँ सुरू भइसकेको छ । तिहार र छठपर्व आउने प्रतिक्षामा छन् । यातायात सहज हुन्थ्यो भने यतिबेला कामको शिलशिलामा शहर पसेकाहरू गाउँ फर्किने लहर हुन्थ्यो । असोज १०–१२ गतेसम्मको अविरल वर्षाले राजधानी काठमाडौं लगायतका गाउँवस्ती र सडक तहसनहस पारेको छ । करिव अढाइ सय व्यक्तिको ज्यानैसमेत गएको छ भने अर्बौंको भौतिक संरचना नष्ट भएको छ ।
गत हप्ताको अविरल वर्षा पछिको बाढी र डुबानमा परेकाहरु राजधानीमै वर्षा र नदीको बाढीमा थुनिएका नागरिकले उद्धारको पर्खाइमा घण्टौं बिताउन विवस भए । राजधानीमै बाढी र पहिरोमा परी झण्डै तीन दर्जन नागरिकको ज्यान गयो । राजधानीको नाकैमा झाप्लेखोला पहिरोमा गाडी पुरिएर त्यत्रा व्यक्तिले मृत्युवरण गर्न बाध्य हुनु पर्यो ।
झोलाझाम्टा र लालाबाला लिएर हिँडेका यात्री बीचबाटोमै सडक अवरुद्धको मारमा परेर कन्तबिजोगको अवस्थामा छन् । माटो पुरेर र डोजरले कोतेर बनाइएका विकल्पका साघुँरा बाटामा गाडी दुर्घटना भएका समाचार आइरहेका छन् ।
दसैँकाे आगमनसँगै चाडपर्व मनाउन सहरबाट गाउँ जाने अनि विदेशबाट घर आउने क्रम चलिरहेको छ । अहिले देशका सबै मुख्य अनि सहायक राजमार्गहरू बन्द अवस्थामा छन् । रोजगारीका लागि विदेश गएर दसैँ मनाउन घर फर्किएकाहरु काँधमा सुडकेश बोकेर गाउँ जाने सवारीको खोजिमा भौतारिएका छन् । बर्सौँपछि आफ्ना लालाबाला भेट्न र सँगै दसैँ मनाउन उनीहरु छोटो विदामा घर फर्किएको अवस्था छ । ज्यानै जोखिममा राखेर भएपनि छोटो विदाको सदुपयोग गर्न उनीहरु बाध्य छन् ।
काठमाडौंसँग जोडिएका अधिकांश नाका लगभग बन्द अवस्थामा छन् । खुलेका भनिएका सडक पनि बेलाबेला अवरुद्ध हुँदा दशैँका लागि थातथलो हिँडेका हजारौं यात्रुले कष्ट भोगिरहेका छन् । सडकको अवस्था नाजुक हुँदाहुँदै सडक विभागले यातायात सञ्चालनको अनुमति दिएको अवस्था छ । झोलाझाम्टा र लालाबाला लिएर हिँडेका यात्री बीचबाटोमै सडक अवरुद्धको मारमा परेर कन्तबिजोगको अवस्थामा रहन बाध्य छन् । माटो पुरेर र डोजरले कोतेर बनाइएका विकल्पका साघुँरा बाटामा गाडी दुर्घटना भएका समाचार आइरहेका छन् ।
वर्षासँगैको बाढीले काठमाडौँ उपत्यका र यसको आसपासमा व्यापक क्षति गरेपछि दसैँको मुखमा धेरै नागरिक निराश बनेका छन् । बाढीपहिरो प्रभावितको दर्दनाक पीडा एकातिर छँदै छ, अर्कातिर घर जान पाइने-नपाइने अनिश्चितताले धेरैलाई दसैँले छोएकै छैन । विभिन्न उद्देश्यले काठमाडौँ उपत्यकामा रहेका देशैभरका लाखौँ नागरिक यसपालि घर जान पाउँछन् कि पाउँदैनन् कुनै टुङ्गो छैन । वर्षाका कारण देशभरका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । कतिपय अवरुद्ध सडक खुले पनि पानी नरोकिएका कारण पटक–पटक खुल्ने/बन्द हुने अवस्था रहेको सडक विभागले जानकारी दिएको छ ।
सरकारले देशभरि एकै पटक सुरु गरेको सडक स्तरोन्नतिको काम, वर्षायामका कारण पहिरोले सडकमा पु-याएको क्षति र निर्माण तथा मर्मतमा भइरहेको ढिलाइले राजमार्गहरू यात्रायोग्य अवस्थामा छैनन् । हरेक वर्ष दसैँ तिहारमा १५ देखि २० लाख मानिस काठमाडौँ उपत्यकाबाट बाहिरिने गरेका छन् । पेसा–व्यवसायका व्रmममा उपत्यकामा रहेकाहरू दसैँ तिहार जस्ता चाडबाड मान्न भने थातथलोमै फर्किने गर्छन् । यसपालि पनि १८ लाख हाराहारी मानिस उपत्यकाबाट बाहिरिने आकलन थियो तर बाढीपहिरोले बाटो अवरुद्ध हुँदा घटनास्थापनासम्म पनि एक लाख बाहिरिन सकेका छैनन् ।
जसोतसो गएकाहरू तीन/चार दिनसम्म बाटोमै छन् । बाटोमा तीन/चार दिन रोकिएका यात्रुका पीडा सुनेरै धेरैले बस पाइहाले पनि जाने आँट गरेका छैनन् । अझै बागमतीसहित पूर्वी नेपालमा वर्षा भइरहेकाले उनीहरूको यात्रा झन् अनिश्चित बन्दै गएको छ । यसअघिकै वर्षाले गलेको जमिन थोरै पानी पर्दा पनि पहिरो जाने अवस्था छ । अझै दुई/तीन दिन वर्षा जारी रहे धेरैले दसैँमा आआफ्नो घर जान कठिन पर्नेे निश्चित जस्तै छ । यही अवस्थामा यात्रुलाई गन्तव्यमा पु¥याउन नसकिने यातायात व्यवसायीले यसअघि नै स्पष्ट पारिसकेका छन् । फितलो यातायात व्यवस्थापन, असुरक्षित सडक र अधिक यात्रु चापबिच यसपालि दसैँमा यात्रा गर्नुपर्ने बाध्यता देखिएको छ । धेरैले यसपालिको दसैँमा यात्रा नगर्नेसमेत भन्न थालेका छन् ।
असोज १० गतेदेखिको अति भारी वर्षाले धेरै स्थानको जमिन गलेको हुँदा सानो वर्षा थपिँदासमेत ठुलो पहिरो जानसक्ने र कुनै पनि खोलामा एक्कासि बाढी आउने जोखिम रहेको प्राधिकरणले जनाएको छ ।
प्रधानमन्त्रीको कायममुकायमको जिम्मेवारी पाएकाले पनि आफ्नो कर्तव्य र जिम्मेवारी पूरा गर्न नसकेको आम गुनासो छ । आमनागरिकको सुरक्षाको जिम्मेवारी सम्हालेको गृहमन्त्रालयले पनि तत्काल आफ्नो उपस्थिति नदेखाउँदा जनता निरासमात्र होइन आक्रोशित छन् । ढिलागरी अमेरिकाबाट फर्किएका प्रधानमन्त्रीको अभिव्यक्तिले पीडितकाे घाउमा नुनचुक छर्ने काम भयाे ।
यो वर्षको दसैँको टीकाको दिनसम्म पनि मुलुकभरका विभिन्न स्थानमा पानी पर्ने जल तथा मौसम विज्ञान विभागले प्रक्षेपण गरिसकेको छ, जसले गर्दा दसैँमा जाने यात्रुको यात्रा सास्तीपूर्ण हुने देखिएको छ । विभिन्न सहरमा बसेकाहरू गाउँघर फर्किने भएकाले दसैँमा ठुलो सङ्ख्यामा यात्रुको आवागमन हुन्छ । दसैँमा टीका थाप्न पनि त्यत्तिकै सङ्ख्यामा यात्रुहरू एक ठाउँबाट अर्को ठाउँ पुग्छन् । हुन त सडक विभागले दसैँअघि नै मुख्य तथा सहायक राजमार्गका खाल्टाखुल्टी पुरेर यात्र सहज बनाउने दाबी गरेको छ तर गत हप्ताको अकल्पनीय क्षतिका कारण सडक मर्मत गर्ने समय निकै कम भएकाले दसैँअघि नै काम सम्पन्न गर्न कठिन छ ।
भाडामा मनपरी
अविरल वर्षापछिको बाढीपहिरोका कारण सडक यातायात प्रभावित भएको मौका छोपी हवाई सेवा प्रदायकहरूले यात्रुहरूसँग मनपरी भाडा लिन थालेका छन् । बाढीपहिरोले देशभर यातायात सेवा प्रभावित भएको छ । पहिरोले सडक अवरुद्ध हुँदा काठमाडौँ उपत्यका जोड्ने सबै नाका बन्द भएका छन् । यातायात सेवा प्रभावित हुँदा अत्यावश्यक कामका लागि यात्रा गर्नुपर्नेहरूले हवाई सेवा प्रयोग गर्नुपर्ने बाध्यता छ । यात्रुहरूको बाध्यताको फाइदा उठाउँदै एयरलाइन्सहरूले पहिलेको भन्दा दोब्बर भाडा असुल्न थालेका हुन् ।
चाडपर्वको मौका छोपेर मनपरी भाडा असुल्ने प्रवृत्ति यस पटक पनि दोहोरिएको छ । गाडी भाडा मनलाग्दी लिने परम्परा नै छ । अझ हवाई भाडा पनि वृद्धि गरिएको छ । त्यसमाथि महँगो भाडा लिएर पनि समयमा उडान नभर्दा यात्रु मारमा परेका छन् । विमानस्थलमा घण्टौँ कुर्नु पर्दा यात्रुले आन्दोलनसमेत गरेका समाचार बाहिरिएका छन् ।
यात्रुले सास्ती खेप्नुपर्ने र ठगिनुपर्ने पुरानै प्रवृत्ति कायम छ । पछिल्ला दिनमा निजी–सार्वजनिक सवारीसाधनको सङ्ख्या बढ्दो छ । यद्यपि अझै यात्रु झुन्डिएर, कोचिएर यात्रा गर्न बाध्य देखिन्छन् । पर्वका बेलामा झन् सवारीसाधन पाउनै नसकिने अवस्था छ । चाडपर्व आउनु हप्तौँअघि लाइनमा बसेर टिकट काट्नुपर्ने विडम्बनापूर्ण अवस्था कायमै छ । अनलाइनको सिस्टम ल्याइएको भए पनि त्यसरी टिकट लिनेको सङ्ख्या सीमित छ ।
एकातिर सार्वजनिक यातायातको अवस्था दयनीय छ भने अर्कातर्फ मनपरी भाडा तय गर्ने प्रवृत्ति छ । मनलागी भाडा असुल्ने व्यावसायीमाथि सवारी ऐनमा टेकेर मात्र ट्राफिक प्रहरीले कारबाही गर्दा थोरै जरिबाना तिरेर सवारी धनी सहजै उम्कने प्रवृत्ति बढ्दो छ । यातायात व्यवसायीसँगको समन्वयमा सरकारले देशका सबै गन्तव्यमा सवारी भाडा तोक्दातोक्दै पनि कार्यान्वयन हुन नसक्नु अर्को विडम्बना छ ।
पीडितलाई राहत अनि विपतको क्षतिपूर्तिको तत्काल व्यवस्था हुनुपर्छ र तत्काल अत्यावश्यक बन्दोबस्तका लागि तीनै तहका सरकार तथा जनप्रतिनिधिहरूले एकजुट भएर कदम अघि सार्नु पर्दछ । प्राकृतिक विपतलाई रोक्न नै नसकिए पनि त्यसबाट हुने क्षतिलाई न्यूनीकरण गर्न सक्नुपर्दछ ।
सरकारको निरीहता
आपत विपत हरेक वर्ष दोहोरिइरहने नियति हुन् । कुनै पनि आपतविपत बाजागाजा बजाएर आउँदैनन् । अचानक आइपर्ने परिघटना भएपनि आम नागरिको अभिभावकका रुपमा देशको सरकार रहेको हुन्छ । जनताले आपतविपतमा उद्धार र राहतका लागि सरकारसँग अपेक्षा राखेका हुन्छन् । यस्तो बेलामा जनताको अभिभावक भएर सरकार र सरकार सञ्चालकहरुले विपत्तिमा परेकाहरुलाई सहयोग गर्न सक्नु पर्दछ । तर यस्ता मौसमी प्राकृतिक प्रकोपहरूबाट हुने क्षतिलाई न्यूनिकरण गर्नका लागि पहिला नै सचेत र सावधानका लागि वर्तमान सरकार चुकेको कतैबाट छिप्दैन । सरकारको नेतृत्वको गरेका प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाको भ्रमण गएका थिए । उनले प्रधानमन्त्रीको कायममुकायमको जिम्मेवारी प्रकाशमान सिंहलाई दिएकाले पनि आफ्नो कर्तव्य र जिम्मेवारी पूरा गर्न नसकेको गुनासो छ । आमनागरिकको सुरक्षाको जिम्मेवारी सम्हालेको गृहमन्त्रालयले पनि तत्काल आफ्नो उपस्थिति नदेखाउँदा जनता निरासमात्र होइन आक्रोशित छन् । यता ढिलागरी अमेरिकाबाट फर्किएका प्रधानमन्त्रीको अभिव्यक्तिका कारण जनतामा घाउमा नुनचुक छर्ने काम गर्यो भन्ने चर्चा छ ।
दुईतिहाइको तागत देखाउने बेलामा सरकार किन यति विघ्न निरीह बन्न पुग्यो ? विपत्तिको एक हप्ता बितिसक्दासमेत राज्यले पीडितहरूलाई न आश्वस्त पार्ने गरी कार्यक्रम ल्याउन सक्छ न अवरुद्ध सडक खुलेको कुनै खवर दिनसक्छ । बैठकका बैठक गरेपनि सरकारले उपस्थिति देखिने कुनै कार्यक्रम ल्याउन सकेको देखिँदैन ।
यस पटकको प्राकृतिक विपतको पूर्वसूचना नभएको होइन । विपत आउँदै छ है भन्ने पूर्वानुमान गरिदाँ गरिँदै पनि यो प्रकारको व्यापक क्षति हुनुमा राज्य सम्यत्र दोषी छ । चाडपर्वको मुखैमा आम नागरिकको जीवनमा आइपरेका यी प्राकृतिक चोटहरूमा राज्यले अभिभावक बनेर मल्हम लगाउन किन सकेन त्यसको खोजी हुनु जरुरी छ । पीडितलाई राहत अनि विपतको क्षतिपूर्तिको तत्काल व्यवस्था हुनुपर्छ र तत्काल अत्यावश्यक बन्दोबस्तका लागि तीनै तहका सरकार तथा जनप्रतिनिधिहरूले एकजुट भएर कदम अघि सार्नु पर्दछ । प्राकृतिक विपतलाई रोक्न नै नसकिए पनि त्यसबाट हुने क्षतिलाई न्यूनीकरण गर्न सक्नुपर्दछ ।






