काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्सले अञ्जु श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृत(सिइओ) नियुक्त गरेको छ । उहाँ नेपालको जनरल बिमा कम्पनीहरूको इतिहासमा दोस्रो महिला सिइओ बन्न सफल हुनुभएको हो ।
नवनियुक्त सिइओ श्रेष्ठको बिमा क्षेत्रमा २९ वर्षको अनुभव रहेको छ । २०५२ साल फागुन १६ गते सहायक अधिकृतका रूपमा बिमा क्षेत्रमा उहाँको यात्रा सुरु भएको थियो । उहाँको समर्पण, अथक परिश्रम र उत्कृष्टताको प्रतिबद्धताले विभिन्न पदमा अघि बढाउँदै अन्ततः कम्पनीको सिइओ पदसम्म पुर्याउन सफल भएको कम्पनीले जनाएको छ ।
सिइओका रूपमा श्रेष्ठले आफ्नो अनुभव र नयाँ योजनासाथ हिमालयन एभरेस्ट इन्स्योरेन्सको नेतृत्व गर्ने कम्पनीले जनाएको छ । सो अवसरमा नवनियुक्त सिइओ श्रेष्ठले भन्नुभयो, ‘हिमालयन एभरेस्ट इन्स्योरेन्सको नेतृत्व गर्ने मौका पाउँदा मैले निकै सम्मानित महसुस गरेकी छु । अबको मेरो भूमिका भनेको नयाँ प्रविधि तथा दिगो वृद्धिलाई प्रोत्साहन गर्दै ग्राहक केन्द्रित समाधानहरू प्रदान गर्ने हुनेछ । मेरो लक्ष्य भनेको कम्पनीका सबै सदस्यमा जिम्मेवारीबोधको भावना सिर्जना गर्ने तथा कम्पनीको समग्र वृद्धिको वातावरण बनाउने हो ।’ कम्पनी अध्यक्ष महेन्द्र के श्रेष्ठले भन्नुभयो, ‘हामी विश्वस्त छौँ कि अञ्जु श्रेष्ठले बिमा क्षेत्रका अवसर र चुनौती राम्रोसँग बुझ्नुभएको छ र हिमालयन एभरेस्ट इन्स्योरेन्सलाई उहाँले अझ उचाइमा लैजान सक्षम हुनुहुनेछ ।’






