काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह भुटानको भ्रमणमा हुनुहुन्छ । पाँच सदस्यीय टोलीसहित पूर्वराजा शाह बिहीबार भुटान जानुभएको हो । उहाँलाई राजधानी थिम्पुको पारो विमानस्थलमा भुटानकी राजकुमारीले स्वागत गर्नुभएको थियो । विमानस्थलमा स्वागतका लागि रातो कार्पेट ओछ्याइएको थियो ।
भुटानी राजा जिग्मे खेशर नामग्याल वाङचुकको निमन्त्रणामा पूर्वराजा शाह छोरी प्रेरणा र भतिजी शिताष्मा तथा पारिवारिक सदस्य राजु सिंह सहभागी हुनुहुन्छ । पूर्वरानी कोमल शाह र पूर्वयुराज्ञी हिमानी शाह भने यो भ्रमणमा सहभागी हुनुहुन्न । स्वकीय सचिव सागर तिमल्सिना भने भ्रमणको तयारीका लागि केही दिनअघि नै भुटान पुग्नुभएको थियो ।
शाह ड्रुक एयरलाइन्सको जहाजबाट भुटान पुग्नुभएको थियो । पूर्वराजा शाहका संवाद सचिव डा. फणिराज पाठकले भ्रमण निजी भएको जानकारी दिनुभयो । भ्रमणमा को-कोसँग भेट हुनेछ भन्ने विषय भने उहाँले खुलाउनुभएन । उहाँले भुटानी राजा जिग्मेकै निमन्त्रणामा भ्रमणमा गएको भने पुष्टि गर्नुभयो । तर, के प्रयोजनका लागि निमन्त्रणा गरिएको हो भन्ने बताइएको छैन ।
कतिपयले यो भ्रमणलाई भारतीय संस्थापनले भुटानी राजामार्फत आफ्नो सन्देश दिन खोजेको भन्ने अर्थमा पनि टिप्पणी गरिरहेका छन् । भुटानी राजा भारतकै निकट भएर शासन चलाइरहेको मानिन्छ । भुटानमा रहँदा शाहले धार्मिक क्षेत्र भ्रमण गर्ने र विभिन्न व्यक्तित्वहरूसँग भेटघाट गर्ने बताइएको छ । उहाँको भुटान भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ । निजी भनिए पनि शाहको भुटान भ्रमण राजनीतिक रहेको स्रोतको दाबी छ । नेपालका राजनीतिक दल र सरकारप्रति जनस्तरबाटै असन्तुष्टि व्यक्त भइरहेका बेला यो भ्रमण अर्थपूर्ण रहेको बताइन्छ । छिमेकीसहित केही शक्ति केन्द्रहरूले पनि नेपालमा स्थायी शक्तिको आवश्यकता महसुस गर्न थालेको जानकारहरूको दाबी छ । पूर्वराजा शाह आगामी आइतबार स्वदेश फर्किने बताइएको छ ।
भुटान र नेपाल दुवै हिमाली मुलुक हुन् र दुवैमा लामो समयसम्म राजतन्त्र रहेको थियो । भुटानमा अझै राजतन्त्र कायम छ भने नेपालमा २०६५ सालमा गणतन्त्र घोषणा भएको थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता