काठमाडौं । भौतिक पूर्वाधार मन्त्रालयले वीपी राजमार्ग दशैं अगाडि खुलाउन नसकिने बताएको छ ।
मन्त्रालय र सडक विभागको टोली बुधबार नेपाली सेनाको हेलिकप्टरबाट निरीक्षणमा गएको थियो ।
निरीक्षण पश्चात आज भौतिक पूर्वाधार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव केशवकुमार शर्माले भन्नुभयाे, ‘दशैं अगाडि खुल्ने अवस्था छैन भन्ने निष्कर्षमा हामी पुग्यौं ।’
वीपी राजमार्गको चौकीडाँडा–कालढुंगा खण्डमा मात्र १२ किलोमिटर सडक रोशी खोलाको बाढीले बगाएको छ । यो खण्डको लम्बाइ १८ किलोमिटर छ । त्यसमध्ये १२ किलोमिटर सडक रोशीको बाढीले बगाएको छ र त्यहाँ पहाड काटेर सडक बनाउन सक्ने अवस्था पनि छैन ।
मन्त्रालयले पत्रकार सम्मेलनमार्फत बाढी र पहिरोले क्षति पुगेका सडक/पुल खुलाउनेबारे योजना पनि सार्वजनिक गरेको छ ।
पत्रकार सम्मेलनमार्फत भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले क्षतिको विवरण, हालको अवस्था र अबको योजनासमेत पेश गर्नुभएको थियो ।
मन्त्रालयद्वारा सार्वजनिक गरिएको तथ्यांकमा ३४ वटा राजमार्गका ८०५ ठाउँ अवरुद्ध भएको छ । तीमध्ये ७७४ ठाउँको पहिरो हटाएर २९ वटा राजमार्गमा यातायात सुचारु गरिएको छ ।
हालसम्म प्रारम्भिक अनुमानअनुसार सडक तथा पुलतर्फ अस्थायी रूपमा यातायात चालू गर्न साढे २ देखि ३ अर्ब लाग्ने देखिएको साथै क्षतिग्रस्त सम्पूर्ण संरचना स्थायीरूपमा पुनस्स्थापना गर्न २० देखि २५ अर्ब लाग्ने अनुमान छ ।












देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता