काठमाडौं । चाडवाड नजिकिएपनि यस वर्ष उपत्यका छाड्नेहरुको संख्यामा कमी आएको छ । सहज हुन्थ्यो भने यतिबेला गाडी चढ्नेले बसस्टप र बसपार्क खचाखच हुन्थ्यो । तर, सडकको अन्योलका कारण यस वर्ष काठमाडौं छोड्नेकाे संख्या विगत भन्दा कम हुने देखिन्छ ।
झोला बोकेर यात्राका लागि निस्किएका यात्रु पनि बस जाने टुंगो नहुँदा यतिबेला बिलखबन्दमा परेका छन् । विशेषत बैदेशिस रोजगारीमा गएकाहरु दशैं मान्न घर आएको अवस्था छ । उनीहरु घर कसरी पुग्ने भन्ने चिन्तामा गाडीको खोजिमा भौतारिरहेका छन् ।
विहीबारदेखि तीन दिन परेको अविरल वर्षाले धेरै सडक अवरुद्ध बनेका छन् । काठमाडौं भित्रिने र बाहिरिने मुख्य सडक पृथ्वी राजमार्ग पनि पूर्णरुपमा सहज भएको छैन । पूर्व जाने बीपी राजमार्ग बन्द नै छ । काठमाडौं– हेटौंडा जोड्ने सडकमा पनि अवरोध कायमै छ । केही सडक एकतर्फि खुले पनि यात्रा सहज छैन ।
चाँडै सडकको अवरोध हट्ला र सहजै गाउँ फर्किने अपेक्षा लिएकाहरु काउन्टर अगाडि लाइन लागेका छन् ।
लगातार तीन दिन अविरल वर्षा भएको कारण काठमाडौं जोड्ने सडकहरु अवरुद्ध हुँदा पूर्व र पश्चिम जाने यात्रुहरु बढी मर्कामा परेका छन्।
विहीबारदेखि आएको अविरल वर्षाअघि नै दशैंमा गाउँ जानेहरुले टिकट बुकिङ गरेपनि सडक पूर्ण रुपमा संचालनमा नआउँदा यात्रुहरु अन्योलमा परिरहेका छन् ।
सरकारले अनलाइन मार्फत टिकट बुकिङ्ग गर्न पाउने व्यवस्था मिलाए पनि यात्रु भने चर्को घाममा बिहानैदेखि लाइनमा बसेर टिकट काटिरहेका भेटिन्छन् ।















