पुरन साह/हिटा
जनकपुरधाम । ‘मलाई कुनै पनि काम गर्न दिइएको छैन, आठ महिनापछि अस्ती आफ्नो कार्यकक्षमा आउँदा कर्मचारीको खाल ओढेको एकआध गुण्डा प्रवृतिले खुकुरी, भाला प्रहार गरी मार्ने धम्की दिन्छ’ मलाई थाहा छ मेरो कार्यकाल बिनाकाम नै व्यतीत हुँदैछ तर म प्रण गर्छु बृृहत्तर जनकपुरधाम क्षेत्र विकास परिषद्को शुद्धीकरण गरेरै छाड्छु ।’
माथिको वाक्यांश सोही परिषद्का अध्यक्ष शीतल साहको हो । पूर्वपत्रकार र पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्षसमेत रहिसक्नुभएका साहले पत्रकार सम्मेलन गरी आफ्नै कार्यकक्षमा सो कुरा सुनाइरहनुभएको थियो । उहाँले अगाडि भन्नुभयो, ‘म पूर्वपत्रकार हो, म काम गर्न सकिन भने समाजले पत्रकारले पनि केही गर्न सकेन भन्छ मलाई थाहा छ, तर म अरू केही गर्न नसके पनि ज्यान जान्छ जाओस् म बृहत्तरलाई शुद्ध पारेरै जान्छु ।’
परिषद्को दफा ८ ‘च’मा भएको व्यवस्था अनुसार कर्मचारीको दरबन्दी स्वीकृत गर्ने अधिकार परिषद्को हो तर हालसम्म कुनै पनि कर्मचारीको दरबन्दी परिषद्बाट स्वीकृत भएको प्रमाण नरहेको उहाँले बताउनुभयो । चालु आर्थिक वर्षमा परिषद्लाई नेपाल सरकारले मात्र दुई करोड २३ लाख बजेट (अनुदान) त्यो पनि विकास निर्माणका लागि दिइएकोमा कर्मचारीको तलबमै दुई करोड जान्छ ।
बिना परिषद्को निर्णय एक रुपैयाँ पनि खर्च गर्न नहुने व्यवस्था रहे पनि तलब र भत्ताकै लागि कर्मचारीहरू मनपरी आफूखुसी एलएमआइएसमा इन्ट्री गरी तलब खाइरहेकोमा सर्वोच्च निकाय परिषद् तथा परिषद्का अध्यक्ष नै बेखवर छन् । पाँच वर्षदेखि परिषद् नै बस्न नदिई भ्रष्टाचार भइरहेको उहाँको तर्क छ ।
उहाँका अनुसार गलत शैक्षिक प्रमाणपत्र पेश गरी बृृहत्तरका कर्मचारी बनेका जितेन्द्र यादव कर्मचारीको भेषमा बृृहत्तरमा राजनीति र बृृहत्तरलाई कब्जा गर्न हालसम्म सफल भइरहेको छ । यादवले जागीरका लागि पेश गरेको भारतीय शैक्षिक प्रमाणपत्र नक्कली रहेको तथ्य नेपाल र भारतीय पक्षले पनि प्रमाणित गरिसकेको बताउँदै उहाँले किर्ते छाप र कर्तुतमा धेरै कर्मचारीको संलग्नता पुष्टि भइसकेको बताउनुभयो ।
उहाँले आफू अध्यक्ष भएर आउने बित्तिकै यादवले तत्कालीन हाकिमविरुद्व अनेकन प्रमाण आफूलाई दिइएको, पछि ती हाकिमले यादवमाथि नै छानविन गर्न थालेपछि सो आधारमा प्रक्रिया अगाडि बढाउँदा अब त आफू नै फस्ने भएकाले अहिले सबै कर्मचारीलाई मिलाएर कार्यालय बर्बाद गर्ने काम गरिरहेको उहाँको तर्क छ ।
निजी निवासमा आक्रमण भएको र हालसम्म चारपटक प्रहरी प्रशासनमा सुरक्षाको मागसहित निवेदन दर्ता गराइसकेको बताउँदै उहाँले असुरक्षित रहेको बताउनुभयो । उहाँले हालसम्म आफू आफ्नो निजी खर्चमा बृहत्तरका लागि सबै काम र अभियान गरिरहेको बताउँदै गाडी कार्यालयको रहे पनि इन्धन निजी प्रयोग गरेर चढिरहेको बताउनुभयो ।
परिषद्ले गरेका निर्णयका कागजात कर्मचारीकै कब्जामा रहने, अन्य कर्मचारीलाई पनि धाकधम्की र विभिन्न प्रलोभन देखाई आफू अनुसार प्रयोग गर्ने, आफ्नो निहित स्वार्थ पूरा गर्ने प्रवृतिले बृहत्तरलाई डुबाएको दाबी गर्दै उहाँले सबै सुधार गर्ने आफ्नो एकमात्र लक्ष्य रहेको बताउनुभयो । उहाँले अब बृृहत्तर नयाँ नियमावली अनुसारमात्र चल्न सक्ने बताउनुभयो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा