पर्वतका अवरुद्ध ग्रामीण सडक मर्मत सुरु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

पर्वत । बडादशैँ लगायतका चाडपर्व नजिकिँदै गएपछि यहाँका स्थानीय तहहरुले अवरुद्ध सडक मर्मत गर्न थालेका छन् । जिल्लाका सातै स्थानीय तहले ग्रामीण सडक सुचारु गर्न उपभोक्ता समिति गठन गरी काम थालेका हुन् ।

यहाँको जलजला गाउँपालिकाले कार्यतालिका बनाएर सबै वडामा अवरुद्ध ग्रामीण सडक मर्मत गर्न थालेको गाउँपालिका उपाध्यक्ष दिपक आचार्यले जानकारी दिनुभयो । पालिकाले आफ्नै डोजर परिचालन गरेको उपाध्यक्ष आचार्यले बताउनुभयो । तीन/चार दिनमा सबै सडक सफा गरिसक्ने उहाँको भनाई छ ।

पैँयु गाउँकार्यपालिकाको बैठकले पनि वर्षायाममा अवरुद्ध सबै सडक मर्मत गरेर सुचारु गर्ने निर्णय गरेको छ । उपभोक्ता समिति र ठेकेदार मार्फत सञ्चालित आयोजनाहरु तत्काल मर्मत गर्न लगाइएको गाउँपालिका अध्यक्ष तोरण मल्ल ठकुरीले जानकारी दिनुभयो । उहाँका अनुसार घटस्थापना अघिनै सबै सडक सुचारु गर्ने तयारी छ ।

विहादी गाउँपालिकाले अवरुद्ध ग्रामीण सडक खुलाउन सोमबार सूचना जारी गर्दै सडक सरसफाई अघि बढाउन उपभोक्ता समितिहरुलाई आग्रह गरेको छ । उपभोक्ता समिति मार्फत सडक सफाइ गरिने भएकाले मातहतका सबै वडा र टोलहरुमा उपभोक्ता समिति गठन तथा नवीकरण गरी सम्झौता गर्न आउन वडा कार्यालयहरुलाई पत्राचार गरेको हो । दशैँ अघि सडक सञ्चालनमा ल्याइने अध्यक्ष परवीन गुरुङले बताउनुभयो ।

ADVERTISEMENT

महाशिला गाउँपलिकाले सडक खुलाउन डोजर लगाउन थालेको छ । लुङ्खु-बालाकोट-होश्राङदी, लुंखु-चिसापानी-भोक्सिङ, पाखापानी-भोर्लेलगायतका सडक केही दिनमै सुचारु हुने महाशिला गाउँपालिका अध्यक्ष इश्वरी भुसालले बताउनुभयो ।

मोदी गाउँपालिका, फलेवास नगरपालिका र कुश्मा नगरपालिकाले पनि ग्रामीण सडक खुलाउन काम सुरु गरेका छन् । फलेवासले नगरपालिकाकै दुईवटा डोजर परिचालन गरेको नगरप्रमुख गंगाधर तिवारीले जानकारी दिनुभयो ।

पर्वत यातायात प्रालिका संचालक हेमशर्मा पौडेलले वर्षायाममा अवरुद्ध सडक खुलाउन स्थानीय तहहरुलाई अनुरोध गरिएको बताउनुभयो । अब मनसुन सकिएकाले मर्मत गरेपछि सडकमा सवारी गुडाउन सहज हुने उहाँको भनाई छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख सिताराम ओझाले जिल्लाका मुख्य राजमार्गमा अवरोध नरहेपनि केही ग्रामीण सडकहरुमा यातायात सुचारु गर्न समस्या रहेको बताउनुभयो । उहाँका अनुसार मध्यपहाडी लोकमार्ग, मालढुङ्गा-बेनी, कालीगण्डकी करिडोर र दोबिल्ला-फलेवास, दोबिल्ला-कार्कीनेटा, कुश्मा-दुर्लुङ जस्ता सडकमा सवारी सञ्चालन भइरहेको छ । अन्य शाखा सडकहरु एकपटक डोजर लगाएर सफा गर्न सकेमा दशैँको बेला सवारीका लागि सहज हुने उहाँको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?