काठमाडौं । जनता एग्रो एण्ड फरेष्ट्री लिमिटेड र थाइल्याण्डको बैंककस्थित बिजम्याच सोलुसनबीच सम्झौता भएको छ । नेपाली उत्पादन थाइल्याण्डमा प्रवद्र्धन गर्ने उद्देश्यका साथ उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो । बिजम्याच सोलुसनतर्फबाट अध्यक्ष तथा सह-संस्थाका संस्थापक चित्रा मङ्गमा र कार्यकारी अधिकृत डेनफोङ सुवान्ना चाइरोप तथा जनता एग्रो एण्ड फरेष्ट्रीतर्फबाट मार्केटिङ म्यानेजर आशिष सिलवाल र निशा देवकोटाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
थाई कम्पनीसँग सहकार्य गरी बैंककको बजारमा नेपाली उत्पादन निर्यात गरी ‘मेड इन नेपाल’ नामले बजारीकरण गर्ने योजना रहेको जनता एग्रोले जनाएको छ । व्यावसायिक कृषि, वनपैदावर, जडीबुटी तथा अन्य सम्बन्धित व्यवसायको विकास गर्दै नेपाली उत्पादन विश्व बजारमा निर्यात गरी राष्ट्रिय अर्थतन्त्रलाई सबल तथा दिगो बनाउने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।
जनता एग्रोकी मार्केटिङ म्यानेजर देवकोटाका अनुसार कृषि क्षेत्रमा प्रचुर सम्भावना रहेको नेपालमा सानो लगानीबाटै प्रशस्त परिणाम प्राप्त गर्न सकिने तथा नेपाली उत्पादन विदेश निर्यात गरी अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्न सकिने विश्वाससाथ सम्झौता गरिएको हो ।
संस्थाले कुनै पनि विदेशी संस्थासँग सहकार्य गर्दा नेपालको उद्यमशीलता विकास तथा विस्तारका लागि उपयुक्त वातावरण सिर्जना गर्नमा सहयोग गर्ने, नेपालको उत्पादन विश्व बजारमा विकास एवं विस्तारमा सहजीकरण गर्ने जस्ता कार्यमा सहकार्य गर्ने गरेको कम्पनीले जनाएको छ ।







Breaking news with related posts