
काठमाडौं । नेपालीहरूको महान् चाड बडादशैँ आउन एक साता पनि बाँकी छैन । देश दशैँमय हुनैलाग्दा प्राकृतिक विपत्तिले बबण्डर मच्चाएको छ । बिहीबारदेखि नै पर्न थालेको पानीले झरीको रूप लिँदा शनिबार साँझसम्म काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागमा बाढी, पहिरोे र डुबानबाट ठूलो क्षति भएको छ । सार्वजनिक र निजी सम्पत्तिको क्षतिको त अनुमान पनि गर्न सकिँदैन । राजधानी आउने-जाने राजमार्गहरू सबैजसो अवरुद्ध भएका छन् भने उपत्यकाको आधा भागमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । खासगरी नदी वा खोलाका किनारमा बसाइएका बस्तीहरू र पहाड खोतलेर बनाइएका सडकहरू बाढी र पहिरोको विशेष चपेटामा परेका छन् ।
दशैँको मुखमा देशभर परेको घनघोर वर्षाले संघीय राजधानी काठमाडौंसहित मुलुकै अस्तव्यस्त हुनेगरी ठूलो मात्रामा मानवीय र भौतिक क्षति गरेको छ । वर्षासँगैको बाढीपहिरो र डुबानले राजधानीदेखि दूरदराजका गाउँसम्म क्षति गरेको छ । कैयौँ मानिसहरूले अकालमै ज्यान गुमाएका छन् भने चाडबाडको मुखमा घरबारविहीन हुनेहरूको संख्या हजारौँ छ । देशका धेरै ठाउँमा पहिरोले घरहरू बगाएको/भत्काएको छ । देशभरका मुख्य सडक बाढी-पहिरोले तहसनहस बनेका छन् । ठाउँ ठाउँमा सडक भत्किँदा यातायात अवरुद्ध भएको छ । कति ठाउँमा पुल बगाएको छ भने दशैँका लागि लामो/छोटो दूरीको यात्रा गर्न तम्तयार पारिएका सडक चिराचिरा परेका छन् ।
बाढी-पहिरोका कारण शनिबार अबेरसम्म देशभर कम्तीमा पाँच दर्जन व्यक्तिको मृत्यु भएको छ भने दर्जनौँ बेपत्ता छन् । बाढीमा फसेका सयौँ मानिसहरूको उद्धार भएको छ । काठमाडौं उपत्यकामा मात्रै बाढीले चारवटा पक्की घर भत्काएको छ भने एक हजार २४४ घर डुबानमा परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार देशभर ४४ जिल्लामा बाढी, पहिरो, डुबान र कटानले क्षति पुर्याएको छ । त्यसमध्ये ३९ जिल्लाका विभिन्न सडक खण्ड पूर्णरूपमा अवरुद्ध भएका छन् । वर्षा जारी रहेकाले क्षतिको यकिन विवरण अझै आउन बाँकी छ ।
काठमाडौं उपत्यकामा ३४ जनाको मृत्यु, दुई हजार घर डुबानमा
बिहीबार रातिदेखिको अविरल वर्षापछिको बाढी-पहिरोमा परी काठमाडौं उपत्यकामा ३४ जनाको मृत्यु भएको छ । शनिबार साँझसम्म ललितपुरमा १८, काठमाडौंमा ११ र भक्तपुरमा पाँच जनाको मृत्यु भएको हो । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेका अनुसार विपद्का घटनामा परी १७ जना बेपत्ता भएका छन् भने १७ जना घाइते भएका छन् । बाढीपहिरो तथा डुबानमा परेका एक हजार तीन सय १५ जनाको उद्धार गरिएको उहाँले बताउनुभयो । बाढी–पहिरोबाट काठमाडौंमा चार घर भत्केका छन् भने भक्तपुरमा एउटा घरमा क्षति पुगेको छ । काठमाडौंमा एक हजार ३२४, ललितपुरमा पाँच सय र भक्तपुरमा ४१७ गरी उपत्यकामा दुई हजार २४१ घर डुबानमा परेका छन् ।
पर्खिँदा पर्खिँदै बगे चारजना, तीनको उद्धार
ललितपुरको नखिपोटस्थित नक्खु खोलामा उद्धार पर्खिंदा पर्खिंदै चारजना बगेका छन् । करिब एक घण्टा उद्धारकर्ताको प्रतीक्षा गर्दागर्दै कान्तिपुर कोलोनीनजिकै रहेको टहरोमा बसेका चारजना नक्खु खोलामा बगेका हुन् । प्रत्यक्षदर्शीका अनुसार शनिबार बिहान करिब ८ बजेदेखि उनीहरू टहरामाथि उद्धारको प्रतीक्षामा बसेका थिए । तर, सबैतिर हारगुहार गर्दा पनि उद्धार गर्न कोही नआएपछि करिब एक घण्टापछि राजधानीको मन्त्री निवासनजिकै रहेका उनीहरूलाई खोलाको बाढीले बगाएको हो । उनीहरू थुनिएको करिब ४५ मिनेटपछि प्रहरी घटनास्थलमा पुगेका थिए । तर, उद्धार उपकरण नहुँदा प्रहरीले पनि केही गर्न सकेन । गृहमन्त्री रमेश लेखकले भने भिजिबिलिटीका कारण नक्खु खोलामा फसेकाहरूको उद्धार हुन नसकेको बताउनुभयो । तर, बाढीमा बगेका दुई जनालाई भने स्थानीय ३३ वर्षीय चणिकलाल तामाङले उद्धार गर्नुभएको छ । टहराको छानाबाट बगेका चारजना करिब तीन सय मिटर बगिसकेका थिए । चणिकलाल एक्लैले दुई जनालाई सकुशल उद्धार गर्न सफल हुनुभयो । अर्का एकजना आफैँ पौडिएर निस्केको पाइएको छ । एकजना बच्चा भने बेपत्ता छन् ।
एन्फा एकेडेमीका ६ विद्यार्थीको मृत्यु
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयमा अध्ययनरत एन्फा एकेडेमीका ६ जना विद्यार्थीको मृत्यु भएको छ । सिस्नेरी नजिकको बत्सलादेवी माविमा फुटबल प्रशिक्षण गरिरहेका ४० जना बालकमध्ये शनिबार बिहान पहिरोमा पुरिएर ६ जनाको मृत्यु भएको हो । उनीहरूको सनाखत हुन बाँकी रहेको एकेडेमीले जनाएको छ । कुलेखानी जलविद्युत् आयोजनाको जलाशयका ढोका खोलिएपछि सिस्नेरी खोलामा जलसतह बढेसँगै सुरक्षित स्थानतर्फ जाने क्रममा उनीहरू बेपत्ता भएका थिए । बत्सलादेवी माविमा एन्फाले गत वर्षदेखि फुटबल प्रशिक्षण सञ्चालन गरेको थियो । जहाँ ४० बालकहरूले प्रशिक्षण लिइरहेका थिए । यसैबीच, इन्द्रसरोवर गाउँपालिका-३ सिस्नेरी बजारका ३० घर बाढीमा बगेका छन् । इन्द्रसरोवर-२ खानीखेतस्थित २८ घर डुबानमा छन् ।
देशभरका दर्जनौँ सडक अवरुद्ध, राजधानी-मोफसलको सम्पर्क टुट्यो
बाढीपहिरो र डुबानका कारण देशभर दुई दर्जन सडक अवरुद्ध बनेका छन् । सडक विभाग कार्यालयले शनिबार साँझ उपलब्ध गराएको विवरणअनुसार दुई दर्जन सडकका ६३ स्थानमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको हो । बाढी-पहिरोका कारण हिमाली तथा पहाडी क्षेत्रका अधिकांश सडकखण्डमा यातायात आवागमन प्रभावित भएका छन् । काठमाडौं उपत्यका प्रवेश गर्ने सबै नाका बन्द भएका विभागले जनाएको छ । विभागका अनुसार पाँचथरबाट ताप्लेजुङ जाने बाटोतर्फ हेवाखोलामा गत वर्ष राखिएको बेलिब्रिज बगाएको छ । बिपी राजमार्गमा नेपालथोकभन्दा केही अगाडि रोशी खोलामा आएको बाढीले एक सय मिटर जति बाटो बगाएको छ । सडक विभागका अनुसार त्रिभुवन राजपथ पूर्ण अवरुद्ध छ । सिर्सिया-पथलैया-हेटौँडा-भैँसे-पालुङ-नौबिसे-काठमाडौं खण्डमा पनि पहिरोका कारण राजमार्ग बन्द भएको हो । त्यस्तै, पृथ्वी राजमार्ग अन्तर्गतको नौबिसे-मुग्लिन-पोखरा राजमार्ग अवरुद्ध छ । धादिङको कमेरे भन्ने स्थानमा पहिरो गएपछि उक्त सडक अवरुद्ध भएको हो ।
अरनिको राजमार्गअन्तर्गत काठमाडौं-धुलीखेल-दोलालघाट-खाडीचौर-कोदारी राजमार्ग पनि अवरुद्ध भएको छ । त्यसैगरी, कालीगण्डकी करिडोरअन्तर्गत तानसेन-रिडी-कोरला सडकमा पर्वतको केराबारी भन्ने स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । राप्ती राजमार्गअन्तर्गत अमेलिया-शीतलपाटी-थारमारे मुसिकोट खण्डअन्तर्गत सल्यानको राम्री भन्ने स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गतको बेलहिया-भैरहवा-बुटवल-वर्तुङ-राम्दी-स्याङ्जा-पोखरा सडक अवरुद्ध छ ।
पुष्पलाल (मध्यपहाडि राजमार्ग) अन्तर्गत ओखलढुंगाको भडारे क्षेत्रमा पहिरो जाँदा सवारीसाधन सञ्चालनमा अवरोध सिर्जना भएको छ । ठोरी-भण्डारा-मलेखु-गल्छी-त्रिशूली-वेत्रावती-मैलुङ-स्याफ्रुबेसी खण्डअन्तर्गत धादिङको भुट्टार क्षेत्रमा तथा बालाजु-त्रिशूली-धुन्चे-स्याफ्रुबेसी खण्डअन्तर्गत नुवाकोटको ३५ किलो र ताँदी पुलमा आएको बाढीका कारण सडक अवरुद्ध भएको विभागले जनाएको छ ।
मेची राजमार्गअन्तर्गत केचना-चन्द्रगढी-चारआली-इलाम-फिदिम-गणेशचोक-ताप्लेजुङ-ओलाङचुङ्गोला खण्डमा पाँचथरको फिदिमनजिकै पहिरोका कारण सडक अवरुद्ध भएको छ । मिर्चैया-कटारी-घुर्मी-हिलेपानी-ओखलढुंगा-सल्लेरी सडकमा पनि सवारीसाधन सञ्चालन हुने सकेका छैनन् । शहीद मार्गअन्तर्गत कोइलाबास-लमही-अर्जुनखोला-घोराही-घर्तिगाउँ-थवाङ-लुकुम खण्ड, रोल्पाको घर्तीगाउँ र दुई खोली खण्डको गरगरे भन्ने ठाउँमा पहिरो गएको छ । अर्घाखाँचीको गोरुसिंगे-सन्धिखर्क सडकअन्तर्गत नरपानी-खुम्ती-सन्धिखर्कमा पहिरो गएको सडक विभागले जनाएको छ । तमोर करिडोरअन्तर्गत चतरा-मुलघाट-माझीटार-अमरापुरडाँडा-गणेशचोक सडकको चतरा पुलदेखि बराह क्षेत्रसम्म जाने बाटोमा तथा रिडी-बालकोट-हंसपुर–प्युठान-सुर्खेत खण्डअन्तर्गत दाङको मुर्कुटी भन्ने स्थानमा सडक पूर्णरूपमा अवरुद्ध छन् । डुम्रे-बेँसीसहर-चामे सडकअन्तर्गत मनाङको ताल डाँडा क्षेत्रमा पनि यातायात सञ्चालनमा समस्या भएको छ ।
तातोपानी जाने पुल भत्कियो, नाकामै अड्किए कन्टेनर
नेपाल-चीन नाका जोड्ने अरनिकोको राजमार्गका पुलमा बाढीले क्षति पुर्याएको छ । बाढीले क्षति पुर्याउँदा चीनको तातोपानी नाका जाने बाटो नेपालतर्फबाट अवरुद्ध भएको छ । प्रहरीका अनुसार लार्चाको बेली ब्रिज बगाएको छ । यस्तै, १० किलोबाट पाङसिर्पु जाने बेली ब्रिज पनि बगाएको छ । तातोपानी नाका जाने लिपिङको पुल पनि बगाएको छ । पुल बगाएसँगै पुल भत्किँदा दशैँलक्षित गरेर चीनबाट आयात गर्न सामान बोकेका कन्टेनरहरू नाकामै अड्किएका छन् ।
सप्तकोशीको जलसतह ३७ वर्षयताकै उच्च, पुलमाथिबाट बग्यो पानी
सप्तकोशीमा पानीको बहाव ३७ वर्षयताकै उच्च तहमा पुगेको छ । शनिबार दिउँसो १२ बजे सप्तकोशीमा पानीको बहाव पाँच लाख सात हजार ६९० क्युसेक पुगेको थियो । ४ बजेपछि बढेर पाँच लाख ४९ हजार पाँच सय क्युसेक पुगेको कोशी ब्यारेज प्रशासनले जनाएको छ । पानीको बहाव उच्च भएपछि कोशी ब्यारेजमा पुलमाथिबाट पानी बगेको थियो । यसअघि सन् १९८७ मा पाँच लाख ४९ हजार ७७१ जलसहत क्युसेक रेकर्ड भएको थियो । अघिल्लो वर्ष सप्तकोशीमा सबैभन्दा बढी चार लाख ४० हजार क्युसेक बहाव पुगेको थियो । यसअघि १९८९ मा सप्तकोशीको चार लाख ७२ हजार क्युसेक पुगेको थियो । त्यसभन्दा अगाडि १९६८ मा सात लाख ३० हजार क्युसेक पुगेको तथ्यांकमा उल्लेख छ । सप्तकोशी नदीमा जलसतहले सतर्कता तह नाघेपछि कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ । सप्तकोशी नदीमा पानीको बहाव अत्यधिक भएपछि ब्यारेज पुलमा सवारीसाधन आवतजावतमा रोक लगाइएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, सप्तरी र सुनसरीका प्रशासन र कोसी योजनाका भारतीय प्राविधिकहरूको छलफलपछि ब्यारेज पुलमा जोखिम बढेको भन्दै सवारीसाधन आवतजावतमा रोक लगाउने निर्णय भएको हो । प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले कोशी ब्यारेज पुलमा सवारी आवतजावतमा रोक लगाइएको जानकारी दिनुभयो ।
गुरुकुलमा थुनिएका ३३ जनाको २४ घण्टापछि उद्धार
बाढीका कारण थुनिएका सुनकोशी गाउँपालिका-१ स्थित आदिलिंग कुशेश्वर महादेव मन्दिर परिसरमा रहेको गुरुकुलका ३३ जनाको २४ घण्टापछि उद्धार गरिएको छ । उनीहरूको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो । सुनकोशी नदीको बीच भागमा अलपत्र परेका गुरुकुलका २६ बटुक (विद्यार्थी), तीन शिक्षक, दुई कर्मचारी र मन्दिरका दुई पूजारीको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिनुभयो । शुक्रबार रातिदेखि सुनकोशीको बाढीमा फसेका उनीहरूको शनिबार साँझ मात्र उद्धार भएको हो । सुनकोशी नदीको बाढी र रोशी खोलाको बाढी मन्दिर रहेको क्षेत्रमा पसेपछि उनीहरू बीच भागमा थुनिएका थिए । रोशी र सुनकोशी नदीको बाढीले सुनकोशी-५ मुल्कोट र गोलञ्जोर गाउँपालिका-७ खुर्कोट बजारसमेत डुबानमा परेका छन् । दुम्जाका पाँच घर बाढीले बगाएको छ । दुम्जा र नेपालथोक बीचको बिपी राजमार्गको केही भाग बाढीले बगाएको छ । अहिले सो क्षेत्रमा यातायात सेवा बन्द छ ।
वर्षाले विद्युत् प्रसारण तथा वितरणमा क्षति पुर्याउँदा आपूर्ति प्रभावित
काठमाडौंलाई विद्युत् सप्लाई गर्ने मुख्य प्रसारण लाइन अवरुद्ध भएको छ । तामाकोशी नदीले खिम्ती-लामासाँघु प्रसारण लाइनको ७ नं टावर बगाएको हो । यो १३२ केभीको प्रसारण लाइन हो । यसबाट विद्युत् आपूर्ति बन्द भएपछि काठमाडौं उपत्यका प्रभावित बनेको छ । त्यस्तै, ढल्केबर-पथलैया प्रसारण लाइन पनि अवरुद्ध भएको छ । निरन्तरको अविरल वर्षाका कारण धेरै ठाउँको विद्युत् आपूर्ति प्रभावित भएको छ । वर्षाले विद्युत् प्रसारण तथा वितरण प्रणालीको पूर्वाधारमा क्षति पु¥याउँदा आपूर्ति प्रभावित भएको हो । प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषका अनुसार, काठमाडौं उपत्यकाको आधा क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित भएको छ । प्रवक्ता घोषले काठमाडौं उपत्यकाको विद्युत् माग सामान्य अवस्थामा करिब ४०० मेगावाट हुने गरेकोमा शनिबार करिब २०० मेगावाट मात्र रहेको बताउनुभयो ।
बानेश्वर सबस्टेसनबाट ललितपुरको गोदावरी, इमाडोल, लुभु च्यासल क्षेत्रमा विद्युत् आपूर्ति भएका फिडरहरू प्रभावित भएका छन् । भक्तपुर सबस्टेसनबाट खोपासी, नलिञ्चोक र बोडे खानेपानीलाई विद्युत् आपूर्ति दिइएका फिडर बन्द छन् । त्यस्तै, पाटन सबस्टेसनबाट विद्युत् आपूर्ति दिइएका खुमलटार, इमाडोल, सातदोबाटो, गोदावरी, हात्तीवन, चापागाउँ, खोकना, चक्रपथ, हरिसिद्धी, रेडियो नेपाल र लुभु फिडर बन्द छन् । लैनचौर सबस्टेसनबाट विद्युत् आपूर्ति दिइएको गैह्रेधारा फिडर बन्द छ । टेकु सबस्टेसनबाट विद्युत् आपूर्ति दिइएका कीर्तिपुर, बागमती, ताहाचल, सुन्धारा, कालिमाटी, चक्रपथ र चमती फिडर प्रभावित भएका छन् । नयाँ चाबहिल सबस्टेसनबाट विद्युत् आपूर्ति भइरहेका हाँडीगाउँ तथा कालोपुल र स्युचाटार सबस्टेसनबाट विद्युत् आपूर्ति भइरहेका कलंकी, बलम्बु रोपवे फिडर प्रभावित भएका छन् ।
उद्धारमा २० हजार सुरक्षाकर्मी परिचालन
अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानलगायत प्राकृतिक विपद् जोखिममा परेका नागरिकहरूको खोज तथा उद्धारका लागि मुलुकभर २० हजारभन्दा बढी प्रहरी परिचालन गरिएको छ । विपदबाट हुने क्षति न्यूनीकरण, नागरिकको जिउधनको रक्षा र विपद्मा परेकाहरूको खोज तथा उद्धार, स्वास्थ्य उपचारमा सुरक्षाकर्मी सक्रिय रूपमा परिचालन भएको छ । पछिल्लो पटकको बाढी, पहिरो र डुबानबाट एक हजारभन्दा बढी नागरिकको सकुशल उद्धार भइरहँदा नेपाल प्रहरीबाट दश हजार ४१ जना र सशस्त्र प्रहरी बल नेपालबाट दश हजार ५४० जना प्रहरी परिचालन भएका छन् । जसमध्ये काठमाडौं उपत्यकामा मात्रै नेपाल प्रहरीको चार हजार सात सय ६० र सशस्त्र प्रहरी बलबाट तीन हजार पाँच सय सुरक्षाकर्मी उद्धारमा खटिएका छन् । त्यसैगरी, नेपाली सेनाले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट चार जनाको हेलिकप्टरबाट उद्धार गरेको छ । सेनाको टोली देशभरको प्रभावित क्षेत्रमा परिचालन भएको छ ।
उद्धार र राहतमा सरकार गम्भीर छ : गृहमन्त्री
गृहमन्त्री रमेश लेखकले प्राकृतिक विपद्जन्य घटनाबाट जोखिममा परेकाहरूको उद्धार र राहतमा सरकार गम्भीर रहेको बताउनुभएको छ । केन्द्रीय सुरक्षा समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै उहाँले जोखिममा रहेका मानिसहरूको उद्धारमा सरकार गम्भीर भएर काम गरिरहेको बताउनुभएको हो । देशभर धेरै सडक, पुल पुलेसाहरू बगेका कारण नागरिकको जनजीवन अस्तव्यस्त रहको भन्दै सहज बनाउने काम भइरहेको उहाँले बताउनुभयो । उहाँले उद्धार, राहत र घाइतेको उपचारमा सरकार गम्भीर रहेको बताउनुभयो । गृहमन्त्री लेखकले पुनः स्थापित र पुनर्निर्माण गर्ने काममा सरकार लागेको र सबै नागरिकलाई सुरक्षित स्थानमा बस्न आग्रह गर्नुभयो । ‘देशभर मानिसहरूले ज्यान गुमाएको स्थिति छ । सडकहरू अवरुद्ध भएको, पुलहरू बगेको स्थिति छ । पहिरो, बाढी र डुबान भएको छ,’ उहाँले भन्नुभयो, ‘सरकारले आफ्नो तर्फबाट उद्धार, राहत, घाइतेको उपचार, सडकहरू खुलाउने र मानिसहरूलाई पुनः स्थापित र पुनर्निर्माण गर्ने काममा हामी अत्यन्त गम्भीरतापूर्वक काम गर्नेछौँ ।’
पहिरोले पुरिएका दुइटा बसबाट १४ जनाको शव निकालियो
पृथ्वी राजमार्गअन्र्तगत धादिङको झ्याप्लेखोलामा पहिरोले पुरिएका दुईवटा बसबाट १४ शव निकालिएको छ । काठमाडौं र धादिङबाट खटिएका प्रहरी टोलीले शनिबार साँझ दुवै बसबाट १४ जनाको शव निकालिएको प्रहरील जनाएको छ । नेपाल प्रहरकिा केन्द्रीय प्रवक्ता दानबहादुर कार्कीका अनुसार काठमाडौंको नागढुंगादेखि मुनि झ्याप्लेखोलामा पहिरोमा पुरिएको दुईवटा बसबाट १४ जनाको शव निकालिएको हो । शनिबार बिहान पहिरो जाँदा धादिङ जिल्लाको झ्याप्ले खोलामा माइक्रोबसहरू पुरिएका थिए । त्यसमध्ये लु १ ज ४५७८ नम्बरको माइक्रोबसबाट ५ वटा शव निकालिएको हो । त्यस्तै नम्बर नखुलेको अर्को बसबाट ९ जनाको शव निकालिएको कार्कीले बताउनुभयो । पहिरोमा अरु बसहरू पनि पुरिएको आशंकामा प्रहरीले खोजी गरिरहेको छ ।
तीन प्रदेशमा ७६ जनाको मृत्यु, ७२ जना बेपत्ता
तीन दिनदेखिको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर तीन प्रदेशमा ७६ जनाको मृत्यु भएको छ । बाढीपहिरोमा परेर अझै ७२ जना हराइरहेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो । उहाँका अनुसार बाढीपहिरोमा परेर ६० जना घाइते भएका छन् । यो शनिबार राति ९ बजेसम्मको अपडेट हो ।
बाढी र पहिरोको प्रकोपबाट कोशी, बागमती र मधेश प्रदेशमा बढी मानवीय क्षति गरेको गृह मन्त्रालयले जनाएको छ । यसमध्ये पनि सबैभन्दा धेरै क्षति बागमती प्रदेशमा भएको छ । बाढी पहिरोबाट काठमाडौं उपत्यकामा ३४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । उपत्यकाभित्र काठमाडौंमा नौजना, ललितपुरमा १८ जना र भक्तपुरमा पाँच जनाले ज्यान गुमाएका छन् भने उपत्यकामा कुल ११ जना घाइते भएका छन् । उपत्यकाका तीन जिल्लाबाहेक बागमती प्रदेशमा २३ जनाको मृत्यु भएको छ, जहाँ ३५ जना घाइते र ४० जना बेपत्ता भएका छन् । कोशी प्रदेशमा आठ जनाको मृत्यु भएको छ भने चारजना घाइते र आठ जना बेपत्ता भएका छन् । मधेश प्रदेशमा पनि एक जनाको मृत्यु, दुईजना घाइते र चारजना बेपत्ता भएको गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव ऋषिराम तिवारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
तीन दिन विद्यालय बन्द गर्न सरकारको आग्रह
सरकारले आइतबारदेखि तीन दिनसम्म विद्यालयमा बिदा दिन स्थानीय तहलाई आग्रह गरेको छ । अविरल वर्षाका कारण विद्यालय भवनहरूमा क्षति भएको, विद्यार्थी तथा अभिभावकहरू बाढी पहिरोको चपेटामा परेको र यातायात पनि अवरुद्ध भएका कारण विद्यालय बिदा दिन स्थानीय तहहरूलाई आग्रह गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । विद्यालय भवनमा आकस्मिक व्यवस्थापन गर्नुपर्ने भएकाले विद्यालय तीन दिन बन्द गर्न स्थानीय तहलाई अनुरोध गरिएको मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद भट्टराईले बताउनुभयो । यसअघि कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको विपदसम्बन्धी आकस्मिक बैठकले हाललाई विश्वविद्यालयलगायत सबै शैक्षिक संस्थाको परीक्षा स्थागितगरी परिवेश आकलन गरेर उपयुक्त समयमा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको थियो ।
आजदेखि मौसममा सुधार आउने
बिहीबार बेलुकादेखि देशभर लगातार परिहेको झरी आज (आइतबार) देखि कम हुने भएको छ । मनसुन अवधि सकिने बेलातिर परेको लगातारको झरी आजदेखि कम हुने मौसम विज्ञान विभागले जनाएको छ । मौसमविद् विभूति पोखरेलले आइतबारदेखि मौसम क्रमिक रूपमा सुधार हुने सम्भावना रहेको बताउनुभयो । ‘आइतबारबाट मौसम क्रमिक रूपमा सुधार हुँदै जाने सम्भावना छ’, उहाँले भन्नुभयो । मौसममा केही सुधार भए पनि आइतबार साँझसम्म देशका केही ठाउँमा हल्का वर्षा हुने उहाँले बताउनुभयो । नेपालको पश्चिमी भेगदेखि मौसमी प्रणाली सुधार हुँदै आइरहेको उहाँको भनाइ थियो । अहिलेको मौसमी प्रणाली अन्त्यसँगै नेपालबाट यसवर्षको मनसुन बाहिरिने मौसमविद्को भनाइ छ । विभागले बंगालको खाडीको न्यून चापीय प्रणालीको आंशिक प्रभाव र मनसुन न्यून चापीय रेखा नेपाल र भारतको सीमामा अवस्थित रहनु नै अहिलेको मनसुनी वर्षाको मुख्य कारण भएको जनाएको छ । नेपालको सीमा जोडिएको भारतका धेरै भूभागमा समेत वर्षा भएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच