
नमागिएको सल्लाह :
ओखल्ढुंगाको छहरे कोइराला गाउँबाट पढ्नका लागि जनकपुर झर्ने चलन थियो हाम्रा पालामा । पढ्नका लागि मधेस झर्ने काममा प्रेरित गर्नेमा स्वर्गीय लक्ष्मीप्रसाद कोइरालाको नाम धेरैजसोले लिएको पाइन्छ । स्कुल सीमित संख्यामा थिए भने कलेज खोज्न त मधेस नझरी उपाय थिएन । वर्षायाममा खेतीपातिमा परिवारलाई सघाउँन आएका विद्यार्थीहरू विदा सकिएपछि भर्ती हुन चाहने नवविद्यार्थी समेतलाई लिएर मधेस झर्ने चलनकै रूपमा स्थापित भइसकेको थियो । त्यसै मेसोमा म आठ वर्षको फुच्चे पनि काका स्थिरप्रसादलगायतका अग्रज आफन्तको पछि लागियो । सबै आफन्तजन साथमा भएकाले शोक न सुर्ता भोक न भकारीको अवस्था थियो ।
अहिलेको जस्तो कालोपत्रेबाटो त आफ्नो जीवनकालमा देख्न पाइएला भन्ने कल्पनै थिएन । भीरबाट नखस्ने गोरेटोबाटो भए मन खुशी हुने अवस्था थियो । भीरपानीको तेर्छोबाटो, बहादुरा खोला, कमला खोला र तावा खोला यमराजका दाजुभाइ जस्तै थिए । कतै पनि पुल पुलेसा थिएनन् । भगवान् भरोसे भेलमा होमिनुको विकल्प थिएन । भगवानका रूपमा खोला तर्ने ढंग र सीप भएका वलिष्ठ बाहु भएका कुमार काकालगायतका आफन्त थिए । काका कुमारले त खोलाले बगाइसकेको अवस्थामा टुपीमा समातेर निकालेकाले आजका दिनमा यी हरफहरू लेख्न पाइएको छ ।
हामी कस्तो लापरबाह भएछौँ भने एक दशकअगाडि नै चिकित्सकले उमेर अनुसार घुँडामा समस्या देखिन थालेको छ भनेर अपनाउँनुपर्ने सावधानी अपनाउँन सुझाव दिएका थिए । तर, आपत् आइनपरी नचेत्ने हाम्रो स्वभाव आत्मघाती सावित भएको छ ।
अनगिन्ती उकाली-ओराली पार गर्नुपथ्र्याे । पाँच दिन हिँडेपछि जनकपुर पुगिन्थ्यो । त्यो पनि लरतरो हिँडाइ होइन । बाटो हिँड्नेक्रममा काका स्थिरप्रसाद, गंगाप्रसादले ‘केटा हो ओरालो त बाटै होइन चाँडो-चाँडो हिँड’ भनेको, स्मृतिमा अझै पनि ताजा छ । नसे तर दूध दही खाएको जिउ हामी पनि ओरालोमा बाख्रा दगुरे जस्तो दगुथ्र्यौं । ओरालोमा जिउ छोडे र खुट्टाको सन्तुलन मिलाएपछि ओरालो हिँड्न कठिन लाग्दैनथ्यो । तर, आजभोलि चिकित्सकहरू उकालो-ओरालो नहिँड्नुहोला भनेर सल्लाह दिन थालेका छन् । ओरालोलाई बाटै नमानेर हिँडेका कारण हो कि जागिरे जीवनमा निर्दयतापूर्वक ब्याटमिन्टन खेलेर हो घुँडा दुख्ने समस्या आइपरेको छ । घुँडा किन दुख्न थाल्यो भनेको त खिएको कारण घुँडामा समस्या देखिन थालेको रहेछ ।
हामी कस्तो लापरबाह भएछौँ भने एक दशकअगाडि नै चिकित्सकले उमेर अनुसार घुँडामा समस्या देखिन थालेको छ भनेर अपनाउँनुपर्ने सावधानी अपनाउँन सुझाब दिएका थिए । तर, आपत् आइनपरी नचेत्ने हाम्रो स्वभाव आत्मघाती सावित भएको छ । यस्तै स्वभावका कारण घुँडाका विभिन्न पार्टपुर्जा क्षयीकरण भएर समस्याग्रस्त भइसकेका रहेछन् । यो घुँडा ओरालोलाई बाटो नगनेर खरायो दगुरे झैँ दगुथ्र्यो । छरितो ज्यान भएका कारण मटिहानीमा फुटबल खेल्दा सेन्टर (दगुरेर जता पनि पुग्न पाउँने) मेरै भागमा आइलाग्थ्यो । कबड्डी, डण्डिबियो, ब्याडमिन्टन के मात्र भोगेन र घुँडाले । यसले कहिल्यै माया र स्याहार सम्भार पाएन । पायो भने केवल ब्यस्तता र धपेडीमात्र ।
अहिले आएर घुँडाले भन्न थालेको छ-अब म थाकेँ साथी, जे गर्छौ गर । फसाद आइलागेको अवस्था छ । मेरोमात्र कहाँ हो र पत्नी रन्जुको त घुँडाले लत्तो छोडेको कारण लड्ने अवस्था बन्यो । हिँड्यो कि चसक्क गर्ने, थाहा नपाईकन लड्ने । महाफसाद आइलाग्यो । चिकित्सकको शरणमा नगई नहुने अवस्था बन्यो । घुँडाको मेरो खियाइ स्टेज-२ को थियो भने पत्नी रञ्जुको स्टेज-३+को । उनी पनि कहाँ कम हुनु । नेपालमा दिनैपिच्छे जस्तो नेपाल बन्द हुने समयमा हाई हिल लगाएर मैतिदेवी-रातोपुलबीच कुलेश्वरको अफिस आवागमन गर्न आनन्द महसुस गर्ने । त्यो पनि अपत्यारिलो गतिमा ।
एकपटक भएछ के भने नेपाल बन्दमा नागरिकको हस्याङ्फस्याङको समाचार बनाउने क्रममा नेपाल टेलिभिजनले पत्नी रञ्जुकै पछि लागेर लामै छायांकन गरेछ । यो दृश्य देखेका रञ्जुका दाइ पूर्णचन्द्रले भनेपछि थाहा भयो । हिँड्दाहिँड्दै थाहा नै नपाई पुर्लुक्क लड्ने अवस्था बन्यो रञ्जुको । चिकित्सकले एक्सरे, यमआरआई गरेर घुँडाभित्र लुजबडी भएको निदान गरे । त्यो यताउता गरिरहेर दुःख दिने भएकाले त्यसलाई निकाल्न अप्रेसन गर्नुपर्ने सल्लाह दिए । सातो गइनहाले पनि कठिन अवश्य भयो । लुजबडी भनेको सर्वसाधारणले बुझ्ने भाषामा टुक्रिएर अलग भएको हड्डी रहेछ । यसलाई चिकित्सकहरू ज्वाइन्ट माउस पनि भन्दा रहेछन् । जोर्नीमा बसेको मुसाले दुःख दिने नै भयो । सबै परीक्षण सकेपछि चिकित्सकको सुझाव रहृयो अप्रेसन गर्नै पर्छ । अर्थ्रेस्कोपी गर्नुपर्छ । यसमा सहमति जनाउँनुको विकल्प थिएन ।
के हो घुँडाको अर्थ्रेस्कोपी ?
घुँडामा प्वाल पारेर गरिने यो सर्जरीमा घुँडाको एउटा प्वालबाट दूरबिन र अर्को प्वालबाट उपकरण पठाएर घुँडाको समस्या हेरेर उपचार गरिएको थियो । यो सर्जरी गर्दा भित्रको अवस्था हेरेर कस्तो उपचार गर्ने भन्ने सम्बन्धमा बिरामीका आफन्तको समेत सल्लाहमा निर्णय लिनुपर्ने भएकाले यो अप्रेसनको निर्णय लिनुपर्ने समयमा मैले समेत हेर्ने मौका पाएको थिएँ । लुजबडी सानो भए तापनि दुरबिनबाट हेर्दा अण्डाको आकार जत्रो देखिएको थियो । यसलाई डाक्टर रूपेश वैद्य नेतृत्वको टोलीले सहजै निकाल्न सफल भयो । चिकित्सकका अनुसार टुक्रिएको हड्डी हलचल भएर घुँडाको पछिल्लो भागमा पुगेको अवस्थामा पछाडिपट्टि प्वाल पारेर निकाल्नुपर्ने अवस्था आउँने जोखिम थियो । त्यो असहज परिस्थिति आएन ।
अब च्यातिएको कार्टिलेज (मेनिस्कस), लिगामेन्टमा भएको क्षति र अर्थराइटिस हो कि भनेर हेर्नुपर्ने थियो । मिनिस्कस, सर्वसाधारणको आँखाबाट हेर्दा पनि धुनियाले रुवा फट्कारेर बाँकी रहेको रुवाका रेसा जस्तो देखिएकाले सिलाएर पनि कुनै फाइदा हुने परिस्थिति देखिएन । सिलाउँनुपर्ने अवस्थाको लागि सिलाउँने सियो, धागो र अड्काउने औजार लिएर सशरीर उपस्थित भएका करिब डेढ लाख पर्ने सामग्रीका आपूर्तिकर्ता जिल्लाराम परेर फर्किने अवस्था बन्यो । यो अपरेसनका दुई पक्ष सकारात्मक रहेका थिए । एक, चिकित्सकीय आचार संहितामा मिल्छ मिल्दैन थाहा भएन, निर्णायक क्षणको अप्रेसन बिरामीका आफन्तलाई देखाएर उचित सल्लाह दिइएको थियो । अप्रेसन गर्दा सिलाउँने काम भएको छ भनिएको भए पनि हामीलाई के नै थाहा हुने अवस्था रहन्थ्यो र ?
दोस्रो एनेस्थिसिया दिने चिकित्सक र मुख्य सर्जनलगायतको व्यवहार अत्यन्तै पारदर्शी र सहयोगी रहेको थियो । अप्रेसन सफल भएको कारण दुई सातामा बिरामी सामान्य हिँडडुल गर्न सक्ने अवस्था बनेको थियो । चिकित्सकको भनाइ अनुसार एमआरआईबाट पनि शतप्रतिशत निश्चित बन्न नसकिने कारण यो नि होल सर्जरीबाट तत्काल समस्याको पहिचान गरी तत्काल उपचार गर्न सकिने अवस्था बन्ने रहेछ । सर्जरीपछि धेरै दुखाइ नहुने, चाँडै निको हुने, खत लगायत घाउको कुनै निसानी नदेखिने अर्थ्रेस्कोपीको सकारात्मक पक्ष रहेछ ।
अर्थ्रेस्कोपी नगर्ने हो भने पीडा निवारक औषधि खान सकिने, फिजियोथेरापी गर्ने विकल्प भए तापनि रञ्जुको हकमा हिँड्दा-हिँड्दै लड्ने अवस्था भएबाट यस्ता विकल्पमा जाने परिस्थिति थिएन । बिरामीको कम्मरमुनिको भागलाई लठ्ठ्याएर गरिने अप्रेसनको तयारीका लागि बिरामीलाई तयारीका लागि दुई घण्टा अगाडि नै भित्र लगे तापनि सर्जनले हात हालेपछि भने ३० देखि ४५ मिनेट लाग्ने रहेछ । यसरी ठूलो घाउ नपारी सानो प्वालबाट क्यामेरा पठाएर समस्याको पहिचान गरी उपचार गर्ने यो राम्रो प्रविधि विकसित भएको महसुस भयो ।
अर्थ्रेस्कोपी र अर्थ्रेप्लास्टीमा फरक
अर्थ्रेप्लास्टी भनेको एउटा चिकित्सकीय चिरफार प्रक्रिया हो जस अन्तर्गत केही जोर्नी र सबै जोर्नीका बिग्रिएका भागलाई हटाएर धातु, प्लास्टिक र सेरामिकबाट बनेका नक्कली जोर्नी राखेर प्रतिस्थापन गरिन्छ । जबकि अर्थ्रेस्कोपीमा जोर्नीमा प्वाल पारेर जोर्नीको समस्या पहिचान गरेर उपचार गरिन्छ ।
घुँडाको अर्थ्रेस्कोपी र घुँडाको अर्थोप्लास्टीलाई पनि यसै परिवेशमा बुझ्नुपर्ने हुन्छ । घुँडा प्रत्यारोपणलाई नि अर्थोप्लास्टीको रूपमा बुझ्न सकिन्छ । यसले घुँडाको पूर्णप्रत्यारोपणलाई पनि जनाउँछ । यो मेजर ओपन सर्जरी हो । यस्तो प्रत्यारोपण बच्चादेखि लिएर बुढासम्मको गर्न सकिने रहेछ । सबै जोर्नीहरूको अर्थोप्लास्टी गरिए तापनि घुँडा र हिपको अर्थोप्लास्टी ज्यादा हुने गरेको भन्ने बुझियो ।
घुँडा र यसको हेरचाह
मेरा आमाबुबा ८४ वर्षको हारहारीमा हुनुहुन्छ । उहाँहरूले उमेरमा कृषिकर्म गर्दा हाम्रोभन्दा धेरै वजन उहाँहरूका घुँडाले बोक्यो होला । थिचियो होला मिचियो होला । पार गरेका उकाली ओरालीको त कुरै नगरौँ तैपनि उहाँहरू दुबैजनाका घुँडा सही सलामत छन् तर हाम्रो पुस्तामा समस्या देखियो । यसबाट के थाहा हुन्छ भने घुँडाले बढी तनाव, तौल खपेकै कारणलमात्र खिइने त होइन रहेछ । यसो भनेर यसलाई धेरै सामान्यीकरण पनि नगरौँ तर समयदेखि नै घुँडाको स्वास्थ्यबारे चासो राख्नु चाहिँ अनिवार्य देखियो । किनभने खुट्टा घरको पिलर हो भने घुँडा पिलरको बीचमा दिइएको बलियो सपोर्ट जस्तो हो ।
चिकित्सा विज्ञानमा समयमा नै पहिचान गर्न सकियो भने अर्बुद (क्यान्सर) रोगको उपचार छ । यसलाई पूर्णतया निको पार्न सकिन्छ तर अहिलेसम्म बिग्रेको घुँडालाई पूर्णतया निको पार्ने प्रविधि तयार भइसकेको रहेनछ । जहाँका चिकित्सकलाई सोधे पनि भन्ने एउटै कुरा रहेछ ।
लाग्दछ हिँड्न नसक्नु पनि जीवन हो र ? वैशाखी टेकेर हिँड्नु पनि जीवन हो र ? यस्तो प्रश्न गर्न त पाइयो तर बाध्यता आइलागेपछि के नै उपाय छ र ? सामान्य हिँडडुल गर्न त घुँडा प्रत्यारोपण जस्ता उपाय नभएका होइनन् नि । पटेला भनिने घुँडाको टोपी (नी क्याप), हड्डीहरूलाई जोड्ने र जोर्नीलाई स्थिरता प्रदान गर्ने स्नायु बन्धन (लिगामेन्ट) (जुन एसिएल, पिसिएल, यमसिएल र एलसिएल गरी चार प्रकारका हुने रहेछन्) कार्टिलेज चाहिँ कोलाजिन र इलास्टिनबाट बनेको नरम हड्डी नेपालीमा कुरकुरे हड्डी हो । मिनिस्कस भनिने अंग्रेजी सि आकारको अर्धचन्द्राकार घुँडाको जोर्नीमा रहेको अंग, जसले हड्डीको घर्षणलाई रोक्ने काम गर्दछ । यसलाई सक अब्जर्भरभन्दा पनि हुन्छ । यति हुन् घुँडाका अवयव । यिनीहरूमा देखिने क्षयीकरणबाट घुँडाको समस्या आउने रहेछ ।
चिकित्सा विज्ञानमा समयमा नै पहिचान गर्न सकियो भने अर्बुद (क्यान्सर) रोगको उपचार छ । यसलाई पूर्णतया निको पार्न सकिन्छ तर अहिलेसम्म बिग्रेको घुँडालाई पूर्णतया निको पार्ने प्रविधि तयार भइसकेको रहेनछ । जहाँका चिकित्सकलाई सोधे पनि भन्ने एउटै कुरा रहेछ । त्यो के भने-आराम गर्ने, एक्सरसाइज र थेरापी गर्ने, शरीरको तौल घटाउने, उकाली, ओरीली र सिँढीमा धेरै नहिँड्ने, पलेटी कसेर नबस्ने, चुरोटलगायत सुर्तीजन्य पदार्थ नखाने, मदिरा सेवन नगर्ने, नियमित चिकित्सकीय परीक्षण गर्ने, पौष्टिक आहार खाने आदि । घुँडाको उपचारका लागि अपनाउँनै पर्ने सावधानीलाई अंग्रेजी भाषाको आर.आइ.सी.इ (राइस) भनेर सूत्र बनाइएको छ ।
‘आर’ को अर्थ रेस्ट अर्थात् आराम । रोग लागेको घुँडालाई आराम अनिवार्य हुन्छ । केही काम गरेपछि र व्यायाम गरेपछि आराम अनिवार्य मानिन्छ । ‘आइ’को मतलब हो-आइस । चिसो आइसले सेकेमा घुँडाको दुखाइ कम हुने भनाइ हो । यद्यपि, हामी परम्परागत रूपमा घुँडालाई तातो न्यानो बनाइराख्नेमा विश्वास गर्छौं । सामान्यतया चिकित्सकहरू आलो घाउलाई सेक्न र पुरानो पीडालाई तातो, न्यानो राख्ने सल्लाह दिँदा रहेछन् ।
‘सि’ को अर्थ हो-कम्प्रेसन, नी क्याप अथवा ब्यान्डेज लगाएर कसेर राख्दा पनि घुँडालाई फाइदा हुने भन्ने हो । सबै समयमा कसेर राख्दा रक्तप्रवाहमा समस्या हुने, डाम बस्नेलगायत समस्या हुने भएकाले हिँड्दा डुल्दा लगाउँदा बेस हुने भन्ने चिकित्सकीय सल्लाह हुनेरहेछ । ‘इ’ को अर्थ इलाभेसन हो । तकिया लगाएर खुट्टालाई उठाएर राख्यो भने दुखेको घुँडाको जोर्नीलाई फाइदा हुने भनेर राइस सूत्र कनाइएको रहेछ । जीवन भनेको गतिशीलता हो । घुँडाविना गतिशीलता सीमित बनिदिन्छ जसको कारण अन्य नसर्ने रोगले पनि सताउँने सम्भावना बढी रहन्छ । जीवनलाई जीवन जस्तो बनाउँन घुँडालगायत जोर्नीको स्याहारका लागि समय र उमेर हुँदै ध्यान दिन सके हठात् ठूला समस्या नआउने रहेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच