काठमाडौं । काठमाडौंको असनमा कपडा पसल सञ्चालन गर्दै आउनुभएकी लोचन रावल दशैँको मुखमा पनि फुर्सदिलो हुनुहुन्छ । एक दशकदेखि असनमा कपडा बेचिरहनु भएकी रावललाई दशैँको मुखमा पनि अहिलेजस्तो फुर्सदिलो भएको अनुभव छैन । कोरोना कालमा व्यापार केही सुस्ताए पनि त्यसअघि र पछि चाडबाडमा उहाँलाई जहिल्यै भ्याइ-नभ्याई हुन्थ्यो । तर, यसपालि घटस्थापना आउन एकसाता मात्रै बाँकी रहँदासम्म पनि कुनै उत्साह छैन । ‘विगतमा दशैँ आउन एक महिना अघिदेखि नै असनमा भिडभाड हुन्थ्यो । भिडभाड त अलिअलि अहिले पनि छ तर, व्यापार छैन । मान्छेहरू आउँछन्, हेरेर जान्छन् । किन्ने त एकाध मात्रै हुन्छन्,’ उहाँले भन्नुभयो, ‘कोरोना कालबाहेक अघिपछि चाडबाडको बेला खाना/खाजा खाने फुर्सद हुँदैनथ्यो । अहिले फुर्सदै फुर्सद छ ।’ धेरै जना विदेशिएकाले पनि बजारमा चहलपहल नदेखिएको उहाँको ठम्याई छ । केही भएकाहरूसँग किनमेल गर्न आर्थिक अभाव रहेको उहाँ बताउनुहुन्छ । ‘अलिअलि हुने खानेहरू धेरै विदेशिए, यहाँ भएकाहरूसँग किनमेल गर्न धेरै पैसा छैन,’ उहाँले भन्नुभयो, ‘विगतको तुलनामा व्यापार त आधा पनि छैन ।’
लोचन मात्रै होइन न्युरोडमा जुत्ता पसल सञ्चालन गर्ने सुमिन भण्डारीको अवस्था पनि खासै फरक छैन । दशैँको मुखमा पनि मोबाइल चलाएरै उहाँको दिन बित्छ । चाडबाडमा पनि व्यापार नफस्टाएको उहाँको भनाइ छ । ‘पहिले पहिले चाडबाड आउनुभन्दा एक महिना अघिदेखि नै उत्साह हुन्थ्यो । चाडबाडलाई लक्षित गरी सामान थपिन्थ्यो । थप्न त यसपालि पनि थपियो, तर बिक्रीमा कुनै उत्साह छैन,’ उहाँले भन्नुभयो, ‘दिनमा आठ/दश जोर जुत्ता बेचेर न्युरोडमा भाडा तिर्न पनि पुग्दैन । पसल खोल्ने र बन्द गर्ने काम मात्रै भएको छ । दिन त मोबाइल चलाएरै बित्छ ।’
कोरोना कालपछि नै व्यापारमा मन्दी आएको उहाँले बताउनुभयो । बजारको मन्दी बर्सेनि बढ्दै गएको उहाँको भनाइ छ । ‘गत वर्ष पनि व्यापार खासै थिएन । यसपालि त झन् कम होलाजस्तो छ,’ उहाँले भन्नुभयो, ‘कोरोनापछि व्यापार सुस्ताएको हो । त्यसपछि बर्सेनि घट्दो क्रममा छ ।’ असन र न्युरोडका दुई व्यापारी प्रतिनिधि पात्र मात्रै हुन् । अघिपछि समेत बाक्लै चहलपहल हुने काठमाडौं उपत्यकाका बजारहरू दशैँको मुखमा पनि सुस्तै छन् । अधिकांश व्यापारीहरू पहिलेजस्तो व्यापार नभएको गुनासो गर्छन् । चाडबाडमा समेत व्यापार नहुँदा धेरै व्यापारी पलायन हुने अवस्था आएको उनीहरूको भनाइ छ । उनीहरूका अनुसार अर्थतन्त्रमा देखिएको संकुचन अझै सकिएको छैन । कोरोना कालपछि सुस्ताएको अर्थतन्त्र माथि उठ्नै नसकेको उनीहरूको भनाइ छ ।
तर, सरकारी तथ्यांकले भने अर्थतन्त्र सुधार हुँदै गएको देखाउँछ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको साउन महिनाको तथ्यांकमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’मा अर्थतन्त्रका सूचकहरू सकारात्मक रहेको देखाउँछ । केन्द्रीय बैंकले सार्वजिनक गरेको तथ्यांकअनुसार मुद्रास्फीति ४.१० प्रतिशतमा सीमित भएको छ । जुन अघिल्लो वर्ष यही अवधिमा ७.५२ प्रतिशत रहेको थियो ।
यस्तै, विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १८.० प्रतिशतले बढेको छ । यसैगरी, शोधनान्तर स्थिति ४० अर्ब ९० करोडले बचतमा छ । कुल विदेशी विनिमय सञ्चिति २०९२ अर्ब २२ करोड र अमेरिकी डलरमा १५ अर्ब ५८ करोड रहेको छ ।
राष्ट्र बैंक भन्छ- मूल्यवृद्धि घट्यो
साउन महिनामा समग्र बजारमा मूल्यवृद्धि दर हृवात्तै घटेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो एक महिनामा उपभोक्ता मुद्रास्फीति दर ४.१० प्रतिशतमा सीमित भएको हो । अघिल्लो वर्षको साउनसम्म यस्तो दर ७.५२ प्रतिशत रहेको थियो । यसरी मूल्यवृद्धिको स्तर घट्नुमा खाद्य र गैरखाद्य दुवै वस्तुको योगदान देखिएको राष्ट्र बैंकले जनाएको छ । खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.१७ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति २.९४ प्रतिशत छ । अघिल्लो वर्ष सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति दर क्रमशः ८.९० प्रतिशत र ६.६२ प्रतिशत रहेको थियो । समग्र मूल्यवृद्धि घटे पनि यो अवधिमा खाद्यान्न, गेडागुडी र तरकारीको मूल्य भने हृवात्तै बढेको छ । खाद्यान्नको मूलय ९.१५ प्रतिशत, गेडागुडी १२.०९ प्रतिशत र तरकारीको मूल्य १९.०७ प्रतिशतले बढेको छ । मसलाजन्य वस्तुको मूल्य भने अघिल्लो वर्षको तुलनामा घटेको छ ।
त्यस्तै, गैरखाद्य क्षेत्रतर्फ अल्कोहलबाहेक अरू सबै वस्तुको मूल्यवृद्धि संयमित देखिएको छ । राष्ट्र बैंकले देशभरका बजार केन्द्रबाट कुल ५२५ वस्तु तथा सेवाको मूल्य सर्भेक्षणका आधारमा यो रिपोर्ट निकाल्ने गर्छ । यसलाई खाद्य र गैरखाद्य समेतमा गरी २२ वटा समूहमा विभाजन गरेर मूल्यस्तर मापन गर्ने गरेको छ ।
विदेशी मुद्रा सञ्चिति २१ खर्बनजिक
नेपालमा विदेशी विनिमय सञ्चिति २१ खर्ब रुपैयाँनजिक पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०८१ साउनसम्म २० खर्ब ९२ अर्ब २२ करोड रुपैयाँ बराबर विदेशी विनियम सञ्चिति पुगेको हो । असार मसान्तसम्म विदेशी मुद्रा सञ्चिति २० खर्ब ४१ अर्ब रुपैयाँ थियो । राष्ट्र बैंकको तथ्यांकअनुसार एक महिनामा २.५ प्रतिशतले विदेशी मुद्रा सञ्चिति बढेको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति अब १५ अर्ब ५८ करोड पुगेको छ । असार मसान्तसम्म १५ अर्ब २७ करोड डलर थियो । आव २०८१÷८२ को पहिलो महिनाको आयात आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १६.७ महिनाको वस्तु आयात र १३.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ । साउनसम्म रहेको विदेशी विनिमय सञ्चिति नेपालको कुल गार्हस्थ उत्पादन (जिडिपी)को अनुपातमा ३६.७ प्रतिशत हो ।
शोधनान्तर स्थिति करिब ४१ अर्ब बचतमा
चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना (साउन) मै शोधनान्तर स्थिति ४० अर्ब ९० करोड रुपैयाँले बचतमा रहेको छ । आयात केही घट्नु, रेमिट्यान्स आप्रवाह उच्च वृद्धिलगायत कारण साउनमा शोधनान्तर स्थिति र चालु खाता बचतमा रहेको देखिएको हो । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्ष साउनमा शोधनान्तर स्थिति ३६ अर्ब ४३ करोडले बचतमा थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति ३० करोड ५१ लाखले बचतमा छ । अघिल्लो वर्ष साउनमा २७ करोड ६३ लाखले बचतमा थियो । साउनमा चालु खाता ३० अर्ब ८९ करोड बचतमा छ । अघिल्लो वर्ष सोही महिना चालु खाता १३ अर्ब ३७ करोड मात्र बचतमा थियो । अमेरिकी डलरमा २३ करोड चार लाखले सेवा खाता बचतमा रहेको छ ।
एक महिनामै भित्रियो एक खर्ब ३७ अर्ब रेमिट्यान्स
चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना साउनमा एक खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । रेमिट्यान्सको आप्रवाह अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८ प्रतिशतले बढी भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकको रिपोर्टअनुसार अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह एक अर्ब दुई करोड पुगेको छ । अघिल्लो वर्ष ८७ करोड ९८ लाख रहेको थियो । साउनमा वैदेशिक रोजगारीका लागि संस्थागत तथा व्यक्तिगत–नयाँ श्रम स्वीकृति लिनेको ३६ हजार ९२८ छ । यो महिनामा पुनः श्रम स्वीकृति लिनेको संख्या २२ हजार ६४७ रहेको छ । अघिल्लो वर्षको साउनमा यस्तो संख्या क्रमशः ३९ हजार १५२ र १६ हजार ४२३ रहेको थियो ।
विदेश पढ्न जानेले लगे १४ अर्ब रुपैयाँ
चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो महिना (साउन)मा विदेश पढ्न जानेले १४ अर्ब ९२ करोड रुपैयाँ लगेका छन् । राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकअनुसार यो अवधिमा नेपाल पढ्न आउनेले १६ करोड रुपैयाँ भित्र्याएका छन् । त्यस्तै, उपचारको लागि एक करोड ६६ लाख रुपैयाँ बाहिरिएको छ भने अन्य काममा सात अर्ब २६ करोड रुपैयाँ बाहिरिएको छ । व्यावसायिक उद्देश्यले हुने भ्रमण लगायतमा भने २९ करोड रुपैयाँ बाहिरिएको छ ।
घट्यो विदेशी लगानी प्रतिबद्धता
चालु आर्थिक वर्ष २०८१/०८२ को दुई महिनामा अघिल्लो वर्षको तुलनामा विदेशी लगानी प्रतिबद्धता घटेको छ । उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको साउन र भदौमा १२ अर्ब ९८ करोड रुपैयाँको विदेशी लगानी प्रतिबद्धता आएको छ । अघिल्लो वर्षको यसै अवधिमा करिब १४ अर्ब ६२ करोड रुपैयाँ प्रत्यक्ष विदेशी लगानी (एफडिआई) प्रतिबद्धता आएको थियो । त्यसको तुलनामा यस वर्षको दुई महिनामा एफडिआई प्रतिबद्धता करिब ११.२१ प्रतिशतले घटेको हो । प्रतिबद्धतामध्ये ५२ उद्योगका लागि ८६ करोड २५ लाख ६० हजार २०० रुपैयाँ बराबरको लगानी विभागको अटोमेटिक रुटबाट स्वीकृत भएको छ । बाँकी ९७ उद्योगका लागि १२ अर्ब १२ करोड रुपैयाँ विभागले स्वीकृत गरेको छ । विभागका अनुसार सुरुआतदेखि भदौ मसान्तसम्म विभिन्न देशबाट पाँच खर्ब ३३ अर्ब रुपैयाँ एफडिआई स्वीकृत भएको छ । यस अवधिमा विभिन्न क्षेत्रका ६ हजार ५५५ उद्योग तथा परियोजनामा विदेशी लगानीको स्वीकृत गरिएको हो । साउन महिनामा करिब नौ अर्ब १५ करोड रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता आएकोमा भदौमा घटेर करिब तीन अर्ब ८३ करोडमा झरेको हो ।
अर्थतन्त्र चलायमान बनाउन नीतिगत सुधार आवश्यक : उपाध्यक्ष ढकाल
तथ्यांकमा अर्थतन्त्र सुधार भएजस्तो देखिए पनि अवस्था सुधार्न अझै धेरै गर्नुपर्ने व्यवसायीहरू बताउँछन् । बजारमा औपचारिकभन्दा अनौपचारिक अर्थतन्त्र बाहुल्यता रहेको भन्दै अवस्था सुधार्न अझै नीतिगत सुधार गर्नुपर्ने नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले बताउनुभयो । दशैँ तिरहारपछि अर्थतन्त्रको अवस्था झन् जटिल हुनसक्ने उहाँको भनाइ छ । ‘दुई ठूला दलको स्थिर सरकार बनेसँगै अर्थतन्त्रमा केही पोजेटिभ भाइब्रेसन आएको छ । विगतको तुलनामा लगानी वातावरणका लागि केही पहल प्रयास भइरहेका छन् ।
तर, त्यत्तिले मात्रै पुग्दैन,’ हिमालय टाइम्ससँग उहाँले भन्नुभयो, ‘अर्थतन्त्रको अवस्था सुधार्न अझै धेरै गर्नुपर्छ । सरकारले लगानी सम्मेलन गर्यो तर, लगानी प्रवद्र्धनका लागि खासै नीतिगत सुधार गरेको छैन । बजारमा औपचारिक अर्थतन्त्रभन्दा अनौपचारिक अर्थतन्त्र बाहुल्यता छ । चोरी पैठारीका सामानको बाहुल्यता छ । आयातित तयारी वस्तुभन्दा कच्चा पदार्थमा बढी भन्सारका कारण स्वदेशी उत्पादनले मूल्यमा प्रतिस्पर्धा गर्न नसकेको अवस्था छ, बजारमा माग छैन । यस्तो अवस्था रहेसम्म अर्थतन्त्र चलायमान बन्न सक्दैन, दशैँ तिहारपछि झनै जटिल अवस्था आउन सक्छ ।’ उहाँ अगाडि भन्नुहुन्छ, ‘विगत लामो समयदेखि हामीले आयातित तयारी वस्तुभन्दा कच्चा पदार्थको भन्सारदर कम हुनुपर्ने, स्वदेशमै आत्मनिर्भर वस्तुको आयात निरुत्साहित गरिनुपर्ने, उधारो असुलीसम्बन्धी कानुन ल्याउनुपर्ने, भारतको जिएसटी जस्तै नेपालमा पनि तहगत कर प्रणालीको व्यवस्था गरिनुपर्नेलगायत माग गर्दै आएका छौँ ।’ स्वदेशी तथा विदेशी लगानी प्रवद्र्धनका लागि सरकारले नीतिगत रूपमा गर्नुपर्ने सुधारका लागि नेपाल उद्योग वाणिज्य महासंघले सरकार तथा सम्बन्धित सरोकारवाला निकायहरूलाई लिखित रूपमै सुझाव दिएको उहाँको भनाइ छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts