अन्तिम सत्य सत्तामात्रै ठान्ने अवसरवादी चिन्तनमाथि निर्मम समीक्षा सुरु हुन लागेको छ । माओवादी पार्टीले सत्ताविस्थापन पश्चात् यस्तो समीक्षा गर्न लागेको संकेत देखाएको छ । माओवादी केन्द्रले आफ्नो केन्द्रीय बैठकको तयारी स्वरूप आयोजना गरेको प्रदेश परामर्श बैठकबाट आफ्नो पार्टी बिग्रिएको कारण सत्ता लिप्सा हो भनेर ठहर गरेको छ । यसबाट माओवादीले आफ्नो पार्टी बिग्रिएको स्वीकार गरेको छ । ढिलै भए पनि माओवादी केन्द्रको यस्तो स्वीकारोक्ति आएको छ । यसले पार्टीहरू आफू सरकारमा छउन्जेल पार्टीका यस्ता कमजोरीहरू नदेख्ने र सरकारबाट हटेर प्रतिपक्षमा बस्नुपरेपछि यस्ता कमजोरीहरू देख्ने गर्दारहेछ भन्ने देखिन आएको छ ।
सरकारमा छउन्जेल प्रधानमन्त्री तथा मन्त्रीहरूका वरिपरि गिर्दा लाग्ने, ठेक्कापट्टा र कमिसनको कुरामात्र गर्ने, राजनीतिक नियुक्तिहरूको पछि भएको कारण पार्टीका कमजोरी पहिल्याउने र तिनको सुधारका लागि प्रयास गर्नेतर्फ ध्यान नदिने जस्ता कमजोरी पार्टीहरूमा हुनुका साथै हुनुका साथै त्यसका कारण खोज्ने र त्यसमा सुधारका प्रयास गर्नेतर्फ ध्यान पुग्दोरहेनछ भन्ने माओवादीको हालको स्वीकारोक्तिबाट प्रष्ट भएको छ ।
सत्तामा रहुन्जेल न त त्यस्ता कमजोरी हटाउने सोच नेताहरूमा आउँछ न त्यसको प्रयास नै नेतृत्वबाट भएको हुन्छ । माओवादी केन्द्र गत आमनिर्वाचनमा संघीय संसद्मा तेस्रो स्थानमा आएको थियो । त्यसपछि आफूभन्दा झण्डै तेब्बर बढी स्थान प्राप्त गरेका नेपाली कांग्रेस र एमालेलाई खेलाई खेलाई माओवादी केन्द्र सधैं सरकारमा रहँदै आएको थियो र यस पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बन्दै आउनुभएको थियो । पछिल्लो समीकरण अनुसार नेपाली कांग्रेस र एमालेको सरकार बनेपछि माओवादी केन्द्र प्रमुख प्रतिपक्षमा रहन बाध्य भएको छ । यसपछि भने आफ्नो पार्टीका कमजोरी र पार्टी बिग्रिनुका कारण खोतल्ने फुर्सद माओवादी पार्टीलाई मिलेको छ ।
यही फुर्सदको उपयोग गर्दै माओवादीले आफ्नो पार्टी बिग्रिनुको कारण सत्ता लिप्सा भएको निष्कर्ष निकालेको छ । यो यथार्थ निष्कर्ष हो र अरू पार्टीको पनि अवस्था र कारण खोजी गर्ने हो भने यस्तै पाइन्छ । यो माओवादीको मात्र अवस्था होइन सबैको अवस्था हो । यो यथार्थ हो । राजनीतिको अन्तिम उद्देश्य सत्ता नै हो त्यो भनिरहनुपर्ने विषय होइन । अन्तिम सत्य भने सत्ता होइन । सबैले सत्तालाई नै अर्जुनदृष्टिमा राखेर राजनीति गर्ने गरेका छन् । हुन त राजनीति भनेकै सत्तामा पुग्ने लक्ष राखेरै गरिने कार्य हो तर सत्ताका लागि जायज नाजायज सबै प्रकारका काम गर्न पछि नपर्ने पार्टीहरू एकातिर देख्न पाइन्छ भने अर्कातिर सरकारमा जानु हुने र नहुने अवस्थाको विचार गरेरमात्र सरकारमा जाने वा नजाने निर्णयमा पुग्ने केही सीमित पर्टीहरू पनि छन् । यथार्थमा सरकारमा जान पाउने भइयो भनेपछि नपर्ने पार्टीहरूकै बाहुल्य हाम्रो देशमा देखिएको छ ।
माओवादी हालको बैठकबाट यथार्थ निर्णयमा पुगेको छ भन्न सकिन्छ । किनभने वर्तमान संविधान लागू भएपछि २०७४ सालमा पहिलो आमनिर्वाचन भएको थियो जुन बेला वामपन्थी शक्तिहरू एक ठाउँमा उभिन पुगेका थिए । उनीहरूबीचको एकताका कारण नेपाली कांग्रेस लगायतका प्रजातान्त्रिक शक्तिहरूको अवस्था कमजोर बन्नपुगेको थियो । वामपन्थी एकता लामो समयसम्म टिक्न सकेन । यसको कारण पनि सत्ता लिप्सा नै थियो । त्यसपछि सत्ताकै कारण नेकपा चिरा पर्यो र २०७९ सालको आमनिर्वाचन २०७४ सालको भन्दा ठीक विपरीत परिणामका साथ सम्पन्न भयो । २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी तेस्रो पार्टी बन्न पुगे तर सधैं सत्तामा रहिरहने खेल खेल्दै आएकोमा नेपाली कांग्रेस र एमालेको पछिल्लो समीकरणले माओवादीको उक्त नीति असफल बन्न पुगेको छ ।
सत्तामा रहेर पार्टी संगठन र यसलाई मजबुत बनाउनेतर्फ नलाग्नाले पार्टी कमजोर बनेको मात्र होइन बिग्रिएको निष्कर्ष माओवादीले हालैको बैठकबाट निकालेको छ । यस्तो आत्मसमीक्षाले मात्र पनि माओवादीतर्फ कार्यकर्ताको सहानुभूति बढ्न सक्छ । प्रश्न के पनि अगाडि सार्न सकिन्छ भने यस्तो अवस्था माओवादीको मात्र हो कि नेपालका अरू राजनीतिक पार्टीहरूमा पनि यस्तै आवस्था छ त ? यसको उत्तर खोज्ने हो भने हाल माओवादीले निकालेको निष्कर्ष जस्तै निष्कर्ष अरू पार्टीहरूमा पनि ननिस्कने होइन ।
सबैभन्दा पहिले नेपाल सद्भावना पार्टी स्थापना गरेर सञ्चालन गरेका गजेन्द्रनारायण सिंहको निधनपछि उहाँकी पत्नी आनन्दीदेवी सिंहको नाममा चलेको पार्टीबाट टुक्रिँदै गएर हाल तराईवादी पार्टीहरू यति धेरै संख्यामा पुग्नुमा पनि सत्ता लिप्सा नै कारण बनेको होइन भन्न सकिँदैन । यसलाई पार्टीबाट फाइदा लिनेहरूको दृष्टिकोणमा बिग्रिएको नभनिएला तर अरूले हेर्दा यसलाई पनि राजनीति वा राजनीतिक पार्टीहरू बिग्रिएको अवस्थाका रूपमा हेर्न सकिन्छ । नेपाली कांग्रेस र एमाले हाल सत्तामा छन् । यो सत्तासमीकरण पनि आपसमा सिद्धान्त नमिल्ने पार्टीहहरूका बीचमा भएको छ । त्यसकारण यस समीकरणले कति लामो यात्रा सँगसँगै गर्न सक्ने हो त्यो भोलिको कुरा हो तर यी पार्टीहरूले पनि सत्तालाई लक्ष बनाएर राजनीति गरेका कारण पार्टीलाई धेरै घाटा लागेकोमा यिनले माओवादीले जसरी समीक्षा गरेका छैनन् ।
कांग्रेसको भन्दा एमालेको संगठन अलिक मजबुत देखिएपनि यो पार्टी सबल छ भन्ने होइन । बेला बेलाको टुटफुट र अन्य पार्टीसँग गरिने गठबन्धन अनि सत्तास्वार्थका कारण त्यसलाई भंग गर्दै अगाडि बढ्दै गर्नाले यो पार्टी पनि जति सबल हुनुपर्ने हो त्यति हुन सकिरहेको छैन । नेपाली कांग्रेसको अवस्था पनि यस्तै हो । मास पार्टी भएकाले मात्र संसद्मा सबैभन्दा ठूलो पार्टी बन्न सकिरहेको हो नत्र यसको संगठनलाई हेर्ने हो भने यसको अवस्था धेरै कमजोर छ । सधैं सत्तालाई लक्ष बनाएरमात्र अगाडि बढ्ने गरेका कारण यसको संगठन दिनप्रतिदिन झन्-झन् कमजोर बन्दै गइरहेको छ । त्यसकारण माओवादी केन्द्रले हालै गरेको जस्तो आत्मसमीक्षा सबै पार्टीले गर्ने हो भने ती पार्टीहरूलाई आ-आफ्नो पार्टी सुदृढ गर्न सजिलो हुने निश्चित भन्न सकिन्छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts