काठमाडौं । सिटिजन्स बैंकले लाभांश घोषणा गरेको छ । सोमबार बसेको बैंक सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ४.२१ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पुँजी १४ अर्ब २० करोड नौ लाख रुपैयाँको चार प्रतिशतका दरले ५६ करोड ८० लाख ३८ हजार नौ सय ६० रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशतका दरले दुर्ई करोड ९८ लाख ९६ हजार सात सय ८७ रुपैयाँ नगद गरी कुल ४.२१ प्रतिशत अर्थात् ५९ करोड ७९ लाख ३५ हजार सात सय ४७ रुपैयाँ लाभांश प्रस्ताव गरेको छ । आर्थिक वर्ष २०६५/६६ देखि आर्थिक वर्ष २०८०/८१ सम्मको औसत लाभांशदर ११.५६ प्रतिशत रहेको बैंकले जनाएको छ । प्रस्तावित लाभांशसहित पछिल्लो १० वर्षको औसत लाभांशदर १२.१० प्रतिशत हुन आउने बताइएको छ ।
यसअघि बैंकले आर्थिक वर्ष २०७९÷८० मा ५.७९ र आर्थिक वर्ष २०७८/७९ मा नौ प्रतिशत नगद लाभांश वितरण गरेको थियो भने आर्थिक वर्ष २०७७/७८ मा सेयरधनीलाई १२.९१३ बोनस सेयर र ३.०८७ प्रतिशत नगद गरी कुल १६ प्रतिशत लाभांश वितरण गरेको थियो ।
आर्थिक वर्ष २०७६/७७ मा सेयरधनीलाई आठ प्रतिशत बोनस र तीन प्रतिशत नगद गरी कुल ११ प्रतिशत लाभांश वितरण गरेको थियो भने आर्थिक वर्ष २०७५/७६ मा तीन प्रतिशत बोनस र १२ प्रतिशत नगद गरी कुल १५ प्रतिशत, आर्थिक वर्ष २०७४/७५ मा ३.६२८ प्रतिशत बोनस सेयर र १.६३५ प्रतिशत नगद गरी कुल ५.२६३ प्रतिशत, आर्थिक वर्ष २०७३/७४ मा १६ प्रतिशत बोनस र एक प्रतिशत नगद गरी कुल १७ प्रतिशत लाभांश वितरण गरेको थियो ।






