ललितपुर । जावलाखेल फुटबल मैदानमा दशैँ महोत्सव हुने भएको छ । विगत ११ वर्षदेखि नेपालका विभिन्न स्थानहरूमा मेला महोत्सव गर्दै औद्योगिक शान्ति नेपाल संस्थाले महोत्सव आयोजना गर्ने भएको हो । नेपालमै उत्पादित घरेलु तथा औद्योगिक सामग्री, लत्ताकपडा, जुत्ता तथा घरेलु सामग्रीलगायतको प्रदर्शनी, बजार प्रवद्र्धन तथा व्यवस्थापन, महिला व्यवसायी तथा उद्यमीलाई प्रोत्साहन दिने, बालबालिकालाई उपयुक्त मनोरञ्जन गराउने तथा नयाँ प्रतिभा खोजी गर्ने उद्देश्यका साथ असोज ११ गतेदेखि सुरु हुने महोत्सव असोजको २२ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।
महोत्सवमा घरेलु सामग्री, औद्योगिक उत्पादन, सूचना तथा विज्ञान प्रविधि, ग्रामीण प्रविधि, अटोमोबाइल, मोबाइल, इलेक्ट्रोनिकलगायतको प्रदर्शनी तथा बिक्री गरिने बताइएको छ । हस्तकला प्रदर्शनी तथा बिक्रीसँगै राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा उत्पादित विभिन्न सामान प्रदर्शनी तथा बिक्री तथा बजार व्यवस्थापनलगायत हुने आयोजक संस्थाका अध्यक्ष सन्दीप महतले जानकारी गराउनुभयो ।
यससँगै मेला अवधिभर निःशुल्क स्वास्थ्य शिविर तथा मेला महोत्सवमा घुम्न आउने बालबालिका तथा अन्य व्यक्तिका लागि बाल उद्यान, रोटेपिङ, ब्रेक डान्स, मारुती सर्कसलगायत विभिन्न मनोरञ्जनात्मक खेल पनि व्यवस्था रहेको आयोजकले जनाएको छ । महोत्सवका आकर्षणका रूपमा रहेको सांस्कृतिक कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा ख्यातिप्राप्त गायक, गायिका, हास्यकलाकार, जादुगरको प्रस्तुति रहने बताइएको छ । महोत्सवमा दुई सयभन्दा बढी स्टल रहने बताइएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts