काठमाडौं । सामाजिक सेवा दिवसको अवसर पारेर परोपकारी संस्था हेड्स नेपालले ३१औँ वार्षिक साधारणसभा, अन्तरक्रिया कार्यक्रम र स्वास्थ्य प्रवद्र्धन कार्यक्रम आयोजना गरेको छ । काठमाडौंको ढुंगेधारामा आयोजित साधारणसभा उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले स्वास्थ्य, शिक्षा, कृषि र विपद्जस्ता क्षेत्रमा संस्थाले पुर्याएको योगदानको सराहना गर्दै सरकारले गर्नुपर्ने काम कुनै एक संस्था एक्लैले गर्न नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘राज्य संयन्त्रले नै सामाजिक आवश्यकता परिपूर्ति गर्नुपर्छ, संस्थाहरूले त सहयोग गर्नेमात्रै हो ।’ सो अवसरमा भट्टराईले हेड्स विशेष स्मारिका लोकार्पणसमेत गर्नुभएको थियो । कार्यक्रममा पूर्वगर्भनर दीपेन्द्रबहादुर क्षेत्रीले राजनीतिक दल र नेताहरूले सुशासनको प्रत्याभूति दिनुपर्ने बताउनुभयो ।
सो अवसरमा काठमाडौं विश्वविद्यालयका युवाहरूले जलवायु परिवर्तनसँगै बढ्ने तापमानको अवस्थामा अभिभावकले गर्नुपर्ने सावधानीका लागि भूमिका प्रदर्शन गरेका थिए । मानव सेवा आश्रम, मानवता महाअभियानका रामजी अधिकारी, त्रिभुवन विश्वविद्यालय, आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका निर्देशक डा. राम आधार यादव, निवर्तमान अध्यक्ष ईश्वर चन्द बानियाँ, नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेश ढकाललगायतले स्वास्थ्य, शिक्षा तथा समाजसेवाका विविध आयाममा चर्चा गर्नुभएको थियो ।
समाजसेवामा संस्थामार्फत् योगदान दिनुहुने इन्द्रप्रसाद पोखरेल, कृष्णकुमार श्रेष्ठ, राजकुमार श्रेष्ठ र विष्णु गौतमलाई सम्मान गरिएको थियो । शिक्षा, स्वास्थ्य, कृषि र विपद्को क्षेत्रमा सक्रिय हेड्स नेपालले सामूहिक संकल्प र स्रोत व्यवस्थापनले परोपकारिताको अभिलाषालाई परिपूर्ति गर्न सकिन्छ भन्ने विश्वास राखेको महासचिव दिव्यराज पौडेलले बताउनुभयो । संस्थाले प्रथम पञ्चवर्षीय योजना पनि सार्वजनिक गरेको छ । योजनाअनुसार संस्थाले परोपकारिताको क्षेत्रमा स्थानीय निकायसँग सहकार्य गर्ने भएको छ ।







Breaking news with related posts