काठमाडौं । विगत केही दिनदेखि निरन्तर घट्दोक्रममा रहेको सेयर बजार आइतबार भने सामान्य अंकले बढेको छ । यस दिन नेप्से परिसूचक ११ अंकले बढेर २५८८.३५ अंकमा पुगेको हो ।
तीन सय २५ कम्पनीका एक करोड २४ लाख ८५ हजार सात सय ३१ कित्ता सेयर पाँच अर्ब नौ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा कारोबार रकम भने अघिल्लो कारोबार दिनको तुलनामा घटेको छ । अघिल्लो कारोबार दिन बिहीबार भने पाँच अर्ब ६६ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो भने बुधबार भने सात अर्ब ३६ करोडको कारोबार भएको थियो ।
आइतबार एक सय ३८ कम्पनीको सेयर मूल्य बढेको छ भने ९४ कम्पनीको घटेको छ । १२ कम्पनीको स्थिर रहेको छ । तीन कम्पनी अर्थात् इष्टर्न हाइड्रोपावर, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र अपर स्यांगे हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको यस दिन सयपत्री हाइड्रोपावरको सेयरमूल्य ७.०४ प्रतिशतले बढेको छ । तर, रावा इनर्जी हाइड्रोपावरको सेयरमूल्य ८.६५ र स्वरोजगार लघुवित्तको ७.४२ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको २७ करोड ८० लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ भने एनएलजी इन्स्योरेन्स १४ करोड ६९ लाखभन्दा बढी र नेपाल फाइनान्सको १२ करोड ९७ करोडभन्दा बढीको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।
१३ समूहगत सूचकमध्ये बैंकिङ समूहको सेयरमूल्य सबैभन्दा बढी १.०१ प्रतिशतले बढेको छ भने विकास बैंक ०.६६, लगानी, अन्य, निर्जीवन बिमा समूह ०.४१ प्रतिशतदेखि ०.६२ प्रतिशतसम्म बढेको छ । होटल्स एण्ड टुरिजम समूह ०.६१ प्रतिशतभन्दा बढीले घटेको नेप्सेले जनाएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts