संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघले शुक्रबार लेबनानमा हेजबुल्लाहले प्रयोग गर्ने सञ्चार उपकरणको विष्फोट युद्ध अपराध हुनसक्ने बताएको छ । इरान समर्थित हेजबुल्लाह समूहले प्रयोग गरेको सञ्चार उपकरणलाई लक्षित गरी मंगलबार र बुधबार भएको विष्फोटमा कम्तीमा ३७ जनाको मृत्यु भएको थियो भने करिब तीन हजार जना घाइते भएका थिए ।
‘पेजर’ र ‘वाकी-टकी’ विष्फोट हुँदा केही प्रयोगकर्ता सुपरमार्केटमा किनमेल गरिरहेका थिए भने कोही सडकमा हिँडिरहेका थिए । लगातारको विष्फोटको लहरले देशमा आतंक निम्त्याएको थियो । ‘अन्तर्राष्ट्रिय मानवीय कानुनले स्पष्ट रूपमा बुबी-ट्यार्प उपकरणको प्रयोगलाई निषेध गर्दछ’, मानव अधिकारका लागि संयुक्त राष्ट्रसंघका उच्चायुक्त भोल्कर टर्कले अल्जेरियाले अनुरोध गरेको लेबनानमा आपत्कालीन सत्रमा सुरक्षा परिषद्मा भन्नुभयो ।
‘नागरिकहरूमा आतंक फैलाउने उद्देश्यले हिंसा गर्नु युद्ध अपराध हो’, उहाँले ‘स्वतन्त्र र पारदर्शी’ अनुसन्धानका लागि आफ्नो आहृवान दोहो¥याउँदै भन्नुभयो । लेबनानी अधिकारीले आक्रमणका लागि इजरायललाई दोष दिएका छन् र लक्षित सञ्चार उपकरणहरूमा देशमा प्रवेश गर्नुअघि बुबी-ट्यार्प जडान गरिएको बताएका छन् ।
हेजबुल्लाहले इजरायलसँग प्रतिशोध लिने वाचा गरेको छ र विष्फोटको आफ्नै आन्तरिक अनुसन्धान सुरु गरेको छ । सुरक्षा परिषद्मा बोल्दै लेबनानका शीर्ष कूटनीतिज्ञ अब्दल्लाह बोउ हबीबले आक्रमणलाई युद्धको अभूतपूर्व तरिकाको रूपमा व्याख्या गर्नुभएको छ । ‘इजरायलले यस आतंकवादी आक्रमणको माध्यमबाट अन्तर्राष्ट्रिय मानवीय कानुनको आधारभूत सिद्धान्तको उल्लंघन गरेको छ’, उहाँले बताउनुभयो । इजरायलले उपकरण विष्फोटबारे कुनै टिप्पणी गरेको छैन ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफन डुजारिकले शुक्रबार बेरुतमा इजरायली आक्रमणपछि लेबनान-इजरायल सीमामा बढेको तनावबारे राष्ट्रसंघ चिन्तित रहेको बताउनुभयो । उहाँले सबै पक्षलाई अधिकतम संयतता अपनाउन आहृवान गर्नुभएको छ । रासस/एएफपी ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा