
काठमाडौं । दशैँ तिहारलगायत चाडपर्व नजिकिँदै गए पनि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ भने अझै कहिले खुल्ने टुंगो छैन । अग्रिम टिकट खुलाउने विषयमा सरकारी निकाय र व्यवसायीबीच एकपटक छलफल भए पनि कुनै सहमति भने हुन सकेन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसहित सरकारी निकाय र व्यवसायीबीच पहिलो चरणमा भएको छलफल बिना निष्कर्ष टुंगिएको हो । अग्रिम टिकट बुकिङ खोल्ने सन्दर्भमा सरोकारवाला निकाय, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी तथा यातायात व्यवसायीबीच बुधबार पहिलो चरणको वार्ता भएको थियो । मन्त्रालयको आहृवानमा भएको छलफलमा सडक सुरक्षा तथा सडक स्तरोन्नति, भाडा समायोजनलगायत विषयमा कुरा नमिल्दा अग्रिम टिकटबारे सहमति नभएको हो ।
यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार व्यवसायीहरूले सडक स्तरोन्नति र सुरक्षाका विषयमा कुरा उठाएका थिए । सडक सुरक्षा र स्तरोन्नति नभई यातायात चलाउनै नसकिने अवस्था रहेको उहाँले बताउनुभयो । ‘गृह मन्त्रालयले जारी गरेको १२ बुँदे सडक सुरक्षासम्बन्धी व्यवस्था पहिला कार्यान्वयन गर्नुपर्यो । सडक दुर्घटना न्यूनीकरण गर्नेगरी सरकारले पहिला योजना पेस गर्नुपर्यो । हामी त अग्रिम टिकट बुकिङ खुल्ला गर्न तयार नै छौँ,’ उहाँले भन्नुभयो ।
दशैँतिहार तथा छठ जस्ता महत्वपूर्ण चाडपर्वमा गाउँ जाने यात्रुहरूको सहजता र सुरक्षाका लागि यातायात व्यवसायीहरू पूर्ण रूपमा जिम्मेवार रहेको बताउँदै पहिला सरकारले सडक सञ्जाललाई सुरक्षित बनाउन लाग्नुपर्ने सिटौलाले बताउनुभयो । अनलाइन टिकटिङको सुविधाका लागि गृहकार्य भइरहेको उहाँको भनाइ थियो । ‘अग्रिम टिकट बुकिङ खुला गर्नु मात्रै ठूलो कुरा होइन । महत्वपूर्ण कुरा सडक सुरक्षा हो,’ उहाँले भन्नुभयो, ‘हामीले सरकारलाई यही भनेका छौँ । देशैभरका सडक सञ्जाललाई सुरक्षित र भरपर्दो बनाउनुपर्छ । अग्रिम टिकट बुकिङ खोल्ने सन्दर्भमा पुनः अर्को बैठकबाट टुंग्याउँछौँ ।’
यस्तै, बैठकमा सरकारी निकाय र यातायात व्यवसायीले आ-आफ्ना भनाइ राखे पनि मिति तय भने नभएको यातायात व्यवस्था विभागले जनाएको छ । ‘सबै पक्षले आफ्नो विषय राख्नुभयो । तर, यही नै मितिबाट अग्रिम बुकिङ खोल्ने भन्ने मिति चाहिँ तय भएन,’ उहाँले भन्नुभयो, ‘पुनः अर्को बैठक राखेर यसबारे निर्णय लिइने कुरा भएको छ ।’
बैठकमा यातायातमन्त्री देवेन्द्र दाहालले प्रत्येक यात्रुलाई सुरक्षित घर पुर्याउने व्यवस्था मिलाउन निर्देशन दिनुभयो । सुरक्षित यात्राका लागि सडक सुरक्षा तथा यात्रु सुविधामा ध्यान दिनुपर्ने उहाँको भनाइ थियो । चाडपर्वलाई दुर्घटनारहित बनाउन सडक मर्मतलाई मुख्य प्राथमिकतामा राखिएको उहाँको दाबी थियो । पानी पर्न कम भएकाले चाडबाडलाई लक्ष्य गरेर सडक मर्मतको काम थालिसकिएको सडक विभागले जनाएको छ । निर्माणाधीन सडकमा सम्बन्धित निर्माण व्यवसायी र अन्यमा योजना र सडक डिभिजन कार्याललाई खाल्डाखुल्डीरहित सडक बनाउने गरी मर्मतको काम गर्न परिपत्र भइसकेको विभागको भनाइ छ । पहिरोको जोखिम रहेका सडकमा पहिरो पन्छाउन उपकरण र प्राविधिक तैनाथ राखिएको विभागको दाबी छ ।
१० गतेदेखि बुकिङ खुलाउन प्रस्ताव
सरकारले असोज १० गतेदेखि अग्रिम टिकट खुलाउन प्रस्ताव गरेको छ । सरकारले १० गतेदेखि अग्रिम बुकिङ खुलाउन व्यवसायीहरूलाई प्रस्ताव गरेको हो । तर, व्यवसायीहरूले भने सडक सुरक्षालगायत विषयमा स्पष्ट नभई मिति मात्रै टुंग्याएर नहुने अडान राखेका थिए । व्यवसायीले भाडादर समायोजन गर्नुपर्ने, सडक मर्मत गर्नुपर्नेलगायत माग राखेपछि ठोस सहमति हुन नसकेको हो । केही यातायात व्यवसायीले भने अग्रिम बुकिङ खुलाइसकेका छन् । अरनिको यातायातले अग्रिम टिकट खुलाएको हो । तर, अहिले अनलाइन सुविधा भने छैन । काउण्टरमै पुगेर यात्रुले अग्रिम बुकिङ गरिरहेका छन् ।
हरेक वर्ष सरकारले सहमति गर्छ, कार्यान्वयन गर्दैन : अध्यक्ष स्वाँर
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरले बर्खाले बिग्रिएका सबै सडक पहिला मर्मत गरेर सहज बनाउनुपर्ने बताउनुभयो । सडक मर्मत भएर सवारीको सुरक्षा सुनिश्चित भए टिकट खोल्न कुनै समस्या नभएको उहाँले बताउनुभयो । पहिरो र खाल्डाखुल्डीले गर्दा सडक बिग्रिएको स्वाँरको भनाइ छ । ‘सडक बिग्रिएर चाडबाडमा समयमै यात्रुलाई गन्तव्यमा पुर्याउन नसके समस्या हुन्छ । सरकारले चाडबाड आउनुअघि नै सबै सडक सहज बनाउनुपर्छ ,’ उहाँले भन्नुभयो, ‘गत वर्ष एक साताअघि अग्रिम बुकिङ खुलाइएको थियो । यसपालि पनि एक साताअघि खोल्न कुनै समस्या छैन । तर, सडक सुरक्षालगायत विषयमा प्रष्ट हुनुपर्यो । भाडा समायोजनको कुरा पनि उठेको उहाँको भनाइ छ । तर, आफूहरूले भाडाका विषयमा सरकारसँग कुनै बार्गेनिङ नगरेको उहाँले बताउनुभयो । ‘भाडा समायोजनको कुरा पनि छ । यो हाम्रो विषय होइन सरकारकै हो,’ उहाँले भन्नुभयो, ‘बढ्ने/नबढ्ने सरकारले नै प्रष्ट पार्नुपर्छ ।’ सरकारले प्रत्येक वर्ष चाडबाडमा विभिन्न सहमति गरे पनि कार्यान्वयनमा भने चासो नदिएको उहाँले बताउनुभयो । ‘हरेक चाडबाडमा कुरा उठ्छ । सरकारले प्रतिबद्धता पनि जनाउँछ तर, कार्यान्वयन हु्ँदैन,’ उहाँले भन्नुभयो, ‘हामीले कराउने कुरा होइन । सरकार आफैंले गर्नुपर्यो नि । सहमति गर्ने, निर्णय गर्ने तर, कार्यान्वयन नगर्ने गरेर हुँदैन ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच