काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता तथा राष्ट्रियसभा सदस्य डा बेदुराम भुसालले आगामी वर्षलाई संविधानमाथि बहसको वर्ष बनाइनुपर्ने बताउनुभएको छ ।
बुधबार महिला नेतृत्व विकास राष्ट्रिय प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको ‘संविधानप्रदत्त महिला अधिकार कार्यान्वयनको अवस्था’ विषयक अन्तरक्रियामा बोल्दै उहाँले संविधानका विषयमा विभिन्न क्षेत्रबाट बहस भइरहेको र संविधान बनेको नौ वर्ष पूरा भएर दश वर्ष लागेकाले दशौँं वर्षलाई संविधानमाथि बहसको वर्ष बनाइनुपर्ने बताउनुभएको हो ।
कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्यायले संविधानले प्रष्ट पारेको प्रतिनिधित्वको विषयलाई सुनिश्चित गर्न निर्वाचन कानुन संशोधन गर्नुपर्नेमा जोड दिनुभयो । “संविधानमा प्रतिनिधित्वको कुरा छ, तर निर्वाचन कानुनलाई संशोधन नगर्दा कार्यान्वयन देखिएन, निर्वाचन कानुन संशोधन गरेर महिलाको प्रतिनिधित्व बढाइनुपर्छ,” उहाँले भन्नुभयो ।
एमालेले समानता समावेशीता घट्ने गरेर कुनै कदम नचाल्ने र चाल्न नदिने एमाले नेतृ पद्मा अर्यालले बताउनुभयो । उहाँले भन्नुभयो, “समावेशी प्रतिनिधित्व घटाउने होइन प्रतिनिधित्व गह्रुङ्गो बनाउने बहस हुनुपर्छ, आरक्षणबाट सुरक्षित हुने होइन, प्रतिनिधित्व गह्रुङ्गो बनाउने गरेर एमाले अघि बढ्छ ।”
कांग्रेस नेतृ पुष्पा भुसालले संविधानमा लेखिएको समानताको परिभाषालाई व्याख्या गर्नुपर्ने बताउनुभयो । “महिला भनेको जनसङ्ख्या होइन, मानव पुँजी हो, अब महिलाको सङ्ख्यालाई पुँजीमा परिणत गर्नुपर्छ । संविधानमा लेखिएको समानताको परिभाषालाई व्याख्या गर्नुपर्छ, कार्यान्वयन गरिनुपर्छ,” भुसालले भन्नुभयो । संसद्को राष्ट्रिय सरोकार समितिकी पूर्वसभापति दिलकुमारी रावलले राज्यका तीनै तहले बनाएका कानुन संविधान सङ्गत भए नभएको अध्ययन गर्नुपर्ने बताउनुभयो । सङ्घ, प्रदेश र स्थानीय तहले बनाएका कानुनबीचमा एकरुपता नहुँदा कार्यान्वयनमा समस्या हुने गरेको उहाँको भनाइ थियो ।
नेकपा (माओवादी केन्द्र)की नेतृ नारायणी शर्माले संविधान बनेको नौ वर्ष पूरा हुँदा पनि संविधानले दिएको अधिकार महिलाले पूर्णरुपमा उपभोग गर्न नपाएको गुनासो गर्नुभयो । उहाँले कुनै पदमा एकजना महिला अनिवार्य भनिएको स्थानमा दलहरुबीच गठबन्धन हुँदासमेत महिला अनिवार्य भन्ने शब्द राख्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा विज्ञका रुपमा संविधानसभा सदस्य कृष्णभक्त पोखलेलले संविधान कार्यान्वयनको अवस्था र महिलाको प्रतिनिधित्वका विषयमा विगत र वर्तमानका सन्दर्भमा आफ्नो प्रस्तुति राख्नुभएको थियो ।
कार्यक्रमकी सभापति कांग्रेस नेतृ नानु बाँस्तोलाले संविधानको पालना र कार्यान्वयन दरिलो बनाउन तथा राजनीतिक तहबाट महिलाका सामाजिक, आर्थिक मुद्दालाई उठाउन कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो । रासस







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts